काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को विजेताले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपिएलको नेपाल क्रिकेट संघ (क्यान) ले पुरस्कारको घोषणा गरेको हो । प्रवक्ता छुम्बी लामाका अनुसार द्वितीय पुरस्कार ५१ लाख रुपैयाँ घोषणा गरिएको छ । त्यस्तै, तृतीय पुरस्कार २५ लाख र चौथो पुरस्कार १५ लाख घोषणा भएको हो । एनपिएलको बुधबारदेखि प्लेअफ सुरू हुँदै छ । प्लेअफका लागि सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स छनोट भएका छन् ।
साह घाइते
नेपाल प्रिमियर लिग (एनपिएल)को टोली जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह घाइते भएका छन् । खेलका क्रममा ब्याट अनब्यालेन्स हुँदा उनको हातको बुढी औँला क्र्याक भएको जनकपुरका प्रबन्धनिर्देशक निरोज खतिवडाले जानकारी दिए ।
हातमा प्लास्टर गरिएको र बुधबारको खेल खेल्ने नखेल्ने भन्नेबारे डाक्टरको रिपोर्ट आउन बाँकी रहेको खतिवडाले बताए । ‘खेल्ने क्रममा ब्याटमा लाग्दा अनिलको औँला क्र्याक भएको छ । अहिले प्लास्टर गरेर रेस्टमा हुनुहुन्छ । डाक्टर रिपोर्ट आउन बाँकी छ, तर सम्भवतः उहाँ भोलिको खेल खेल्नुहुन्छ’, उनले भने ।
जनकपुरले एनपिएलको पहिलो क्वालिफायरमा बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने तालिका रहेको छ ।
यस प्रतियोगिता प्ले अफमा प्रवेश गरेपछि अझ रोचक बन्ने देखिएको छ । हालसम्म सम्पन्न २८ वटा खेलका नतिजाले आगामी खेलहरूले नेपालमा क्रिकेटको लोकप्रियतालाई झन् उचाइमा लैजाने स्पष्ट छ । नेपालका सबै प्रदेशको प्रतिनिधित्व गरेका ८ टोलीमध्ये ४ टोली शीर्ष स्थानमा पुगेका छन् । यसमध्ये सर्वाधिक १२ अंक पाएको सुदूरपश्चिम रोयल्स तथा १० अंकसहित दोस्रो स्थानमा पुगेको जनकपुर बोल्डसबीच ३ पुस बुधबार दिउँस प्रतिस्पर्धा हँुदै छ । शीर्ष २ स्थानमा पुगेका यी २ टोलीबीच क्वालिफायरमा भिडन्त हुन लागेको हो । यसमा जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम र जनकपुर दुवै टोलीले अत्यधिक म्याच जितेकाले दुवै टोलीका खेलाडीहरूमा उच्च मनोबल रहेको पाइएको छ । दुवै टोलीले प्रतियोगता जित्ने दाबी गर्दै आएका छन् ।
सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सुरुदेखि नै उपाधि जित्ने बताउँदै आएका थिए ।
एनपिएलमा सशक्त उपस्थिति देखाएको सुदूरपश्चिम तथा जनकपुरजस्तो टोलीलाई पराजित गर्न सफल चितवन राइनोज टोली अहिले तेस्रो स्थानमा छ । बुधबार बिहान समान ८ अंक प्राप्त गरेको चितवन राइनो तथा कर्णाली याक्सबीच खेल हुँदै छ ।
प्रतिक्रिया