भारतसँग अंक बाँड्दै नेपाल ‘सुपर फोर’मा प्रवेश

महिला यु–१९ एसिया कप

काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा नेपाल ‘सुपर फोर’मा प्रवेश गरेको छ । मंगलबार भएको नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएसँगै दुवै देशले १÷१ अंक बाँडेका थिए ।

दुवैको ३/३ अंक भए पनि रनरेटका आधारमा भारत समूह ‘ए’ को विजेता तथा नेपाल उपविजेता बनेको छ । दुवै देश ‘सुपर फोर’मा प्रवेश गरेका छन् । यही समूहमा रहेको पाकिस्तान दुवै खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ । ‘सुपर फोर’मा नेपालले अब बिहीबार श्रीलंका तथा शुक्रबार बंगलादेशसँग खेल्ने छ ।

त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारत ३ दशमलव १ ओभरमा विकेट नगुमाई २८ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रद्द गरिएको थियो ।

यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् । उनले ४० बल खेल्ने क्रममा ३ चौका प्रहार गरिन् । यस्तै, एलिशाकुमारी यादवले अविजित २० रन बनाइन् । साना प्रवीनले ९, सोनी पाख्रिनले ८, ज्योत्स्ना मरासिनीले ६, सावित्री धामी र रचनाकुमारी चौधरीले ३÷३ तथा अनु कडायत र कुसुम गोदारले १/१ रनको योगदान दिए ।

बलिङतर्फ भारतकी पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, आनन्दिता किशोर र मिथिला विनोदले समान १÷१ विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया