काठमाडौं । मलेसियामा जारी (१९ वर्ष मुनि) एसिसी यु–१९ महिला एसिया कपमा नेपालले भारतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दैछ ।
मंगलबारको खेलमा भारतले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ ।
नेपालले पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर ४ मा स्थान पक्का गरेको छ । त्यसैगरी भारतले पनि पाकिस्तानलाई नै हराएर सुपर ४ मा स्थान पक्का गरिसकेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले हराएको थियो ।
प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।
नेपालको टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा उपकप्तानमा सोनी पाख्रिनसहित साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् ।
यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायतसमेत टोलीमा अटाएका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया