काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा प्रवेश गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावनासमेत बलियो नाएको छ ।
टस हारेर पहिला ब्याटिङकोनिम्तो पाएको सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रन बनाउँदै अल आउट भएको हो । पोखराका लागि आन्द्रेश गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
गौस ठूलो सटको प्रयास गर्दा सेफ अलि जेबको बलमा आरिफ शेखबाट समातिए । अन्तिम ओभरमा पोखरालाई जितका लागि ७ रन आवश्यक परेको थियो । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले १ रन मात्र खर्चिएर टोलीलाई रोमाञ्चक जित दिलाएका हुन् ।
पहिलो ओभरको अन्तिम बलमा दिनेश खरेलले जीवनदान पाएका थिए । हर्मित सिंहको बलमा स्कट कुगेलेनले उनको क्याच ड्रप गरेका थिए । उनले त्यससमय ४ बलमा ४ रन बनाएका थिए । थप ११ रन जोडेर दिनेश स्कट कुगेलेनको बलमा नरेश बुढाऐरबाट समातिए ।
दिनेश आउट भएको ओभरमा कप्तान कुशल भुर्तेल रनको खाता नै नखोली स्कटकै बलमा आउट भए । त्यसपछि क्रिजमा आएका दिलिप नाथ ४ बलमा १ रन बनाउँदै कुगेलेनको बलमा आउट भए । ११औँ ओभरको पहिलो बलमा जेन मल्लिक १५ बलमा १० रन बनाउँदै आउट भए । मल्लिकलाई हर्मित सिंहको बलमा विकेट किपर विनोद भण्डारीले स्टपीङ गरे ।
छैठौँ विकेटका लागि किरण ठगुन्ना र रेमन राइफरले ७० रनको साझेदारी गरे । राइफरले २८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए । राइफर ठूलो सटको प्रयासमा बाउन्ड्रिमा नरेन साउदबाट समातिए । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए ।
हर्मित सिंहले ३ तथा सेफ अलि जेबले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
ब्राण्डन मक्मुलनले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २३ रन जोडे । उनी पोखराका कप्तान कुशल भुर्तेलको बलमा सागर ढकालबाट क्याच आउट भए । १८.१ ओभरमा क्रिजमा रहेका इशान पाण्डे रिटायर्ट आउट हुँदै स्कट कुगेलेन क्रिजमा आएका थिए । इशान ११ बलमा १० रन जोड्दै रिटार्यट आउट भएका थिए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १ छक्काको सहयोगमा २० रन बनाएर आउट भए । उनी सागरबाट एलबिडब्लु भए । विनोद भण्डारी १४ रन जोड्दै कप्तान कुशलको बलमा नै आउट भए । हर्मित सिंहले १३ रन जोड्दै माइकल लिस्कको बलमा आउट भए । पोखराका लागि कप्तान कुशलले २ तथा रेमन राइफर, माइकल लिस्क र सागर ढकालले समान १ विकेट लिए ।
सुदूरपश्चिम यो खेलमा जितका साथ शीर्ष स्थानमा उक्लिदै प्लेअफ प्रवेश गर्ने दोस्रो टोली बन्न चाहन्छ । जनकपुर बोल्ट्स प्लेअफ प्रवेश गर्ने पहिलो टोली बनेको थियो । आजकै पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटगर किङ्सलाई १ विकेटले हराएकोथियो । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स सोमबार कर्णाली याक्ससँग भिड्नेछ ।
प्रतिक्रिया