विराटनगर हराएउँदै काठमाडौंले राख्यो प्लेअफ प्रवेशको सम्भावना कायमै

काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्सलाई १ विकेटले हराउँदै प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ । आजको पहिलो खेलमा विराटनगरलाई १ विकेटको रोमाञ्चक जितका साथ काठमाडौंले प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको हो ।

आइतबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो । विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको हो ।

काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे । १४औँ ओभरको तेस्रो बलमा अनिल खरेलको बलमा प्रतिक आउट भए । लगत्तै पहिलो बलका सामना गरिरहेका कप्तान करण केसीलाई पनि उनले नै बोल्ड आउट गरे ।

राशिद खानले १५ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे । राशिद विराटनगरका कप्तान सन्दीप लामिछानेले बोल्ड आउट गराए । ओपनर माइकल लेभिट ६ बलमा १० रन बनाउँदै कप्तान सन्दीपकै बलमा आउट भए । अर्का ओपनर स्टेफन स्किनाजी १ रन बनाउँदै बसिर अहमदको बलमा आउट भए ।

तल्लो क्रमका ब्याटर दिपेश कंडेलले ५ बलमा नट आउट ११ रन जोड्दै रोमाञ्चक जित दिलाए । जेहार्ड एरास्मस ७ बलमा १२ रन जोड्दै विराटनरका कप्तान सन्दीपको बलमा आउट भए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ३ तथा अनिल खरेल र क्रिस सोल, बसिर अहमदले समान २ लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अल आउट हुँदै ११७ रनमा समेटिएको थियो । विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । उनी २०औँ ओभरको चौथो बलमा कप्तान करण केसीद्वारा आउट भए ।

ओपनर दिपक बोहोराले २४ बलमा २ चौकाको सहयोगमा २० रन जोडे । दिपक नवौं ओभरको अन्तिम बलमा दिपेश कँडेलको एलबिडब्लु सिकार हुन पुगे ।स्कट एडवार्डस १४ बलमा १५ रन बनाउँदै जेहार्ड एरास्मसको बलमा बोल्ड आउट भए । बसिर अहमद १३ बलमा १३ बनाउँदै आउट भए ।

बसिरले १५औँ ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका थिए । त्यसपछिको बलमा साहब आलमविरुद्ध ठूलो सटको प्रयास गर्दा बाउन्ड्रीमा भीम सार्कीबाट क्याच आउट भए ।

ओपनर लोकेस बम ९ बलमा ८ रन बनाउँदै डान डाउनवेथटको एलबिडब्लु सिकार भए । निकोलस किर्तन १९ बलमा १२ रन बनाउँदै रन आउट भए । इस्मात आलम ५ रन बनाउँदै दिपेश कंडेलको बलमा बोल्ड आउट भए ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले ३, दिपेश कंडेलले २ तथा डान डाउथवेट, करण केसी र शाहब आलमले समान १ विकेट लिए । आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्नेछ । आज पहिलो खेलको जितसँगै काठमाडौंले प्लेअफ सम्भावना कायमै गरेको हो ।

सोमबार कर्णाली याक्स र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाडौंले प्लेअफमा स्थान बनाउँनेछ । यसअघि लुम्बिनी लायन्स, विराटनगर र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् । पराजित विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

प्रतिक्रिया