काठमाडौँ । नेपाल प्रिमियर लिगअन्तर्गत पहिलो चरणमा अब ३ खेल बाँकी छन् । आइतबार बिहान विराटनगर किङ्सले काठमाडौँ गुर्खाजको सामना गर्दै छ । आइतबारको दोस्रो खेलमा पोखरा एडभेन्चर्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । सोमबार सुदूरपश्चिम र कर्णाली याक्सबीच खेल हुनेछ ।
अहिलेसम्म भएका खेलबाट जनकपुर बोल्ट्स प्लेअफमा प्रवेश गरिसकेको छ । विराटनगर, पोखरा र लुम्बिनी प्लेअफमा नपुगी पहिलो चरणबाटै बाहिरिएका छन् । बाँकी रहेका चितवन, सुदरपश्चिम, कर्णाली याक्स र काठमाडौँमध्ये ३ वटा टोली प्लेअफमा प्रवेश गर्नेछन् । यसमध्ये काठमाडौँको सम्भावना एकदमै क्षीण देखिएको छ । काठमाडौँ अंक तालिकाको पाँचौँ स्थानमा छ ।
जनकपुर क्वालिफायर कि इलिमिनेटर ?
जनकपुर बोल्ट्सले आफ्ना सबै खेल खेलिसकेको छ । ७ खेलबाट १० अंक जोडेको जनकपुर शीर्ष स्थानमा छ । तर, हाल शीर्ष स्थानमा भए पनि बाँकी ३ खेलको नतिजाले उसको शीर्ष २ मा रहँदै प्लेअफमा प्रवेश गर्ने कि इलिमिनेटर हुँदै प्रवेश गर्ने टुंगो लगाउनेछ । सुदूरपश्चिम र कर्णाली याक्स दुवैले पछि छाडेर जनकपुरलाई तेस्रो स्थानमा धकेल्ने सम्भावना पनि जीवितै छ ।
यदि आज (आइतबार) पोखरासँगको खेलमा सुदूरपश्चिम पराजित भएमा जनकपुरले पहिलो क्वालिफायर खेल्ने पक्का हुनेछ । सुदूरपश्चिम र कर्णाली बीचको अन्तिम खेलले क्वालिफायर खेल्ने दोस्रो टोलीको टुंगो लगाउनेछ । सुदूरपश्चिमले पोखरालाई हराएमा सो टोलीको कर्णालीसँगको खेल जनकपुरका लागि समेत महत्वपूर्ण सावित हुनेछ । सुदूरपश्चिमले पोखरालाई हराएर कर्णालीसँग हारेमा यी ३ टोलीको बराबर १० अंक हुनेछ । कर्णाली रन रेटमा केही मात्र पछि छ । सो जितले रन रेटमा जनकपुर तेस्रो पनि हुन सक्छ । अन्यथा जनकपुर शीर्ष २ मै रहनेछ ।
सुदूरपश्चिम, क्वालिफायर, इलिमिनेटर या बाहिर ?
८ अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिमको गणितीय सम्भावना ३ वटै बाँकी छ । तथापि सबैभन्दा व्यावहारिक सम्भावना शीर्ष २ मा रहँदै पहिलो क्वालिफायर खेल्ने हो । पोखरासँगको खेलमा जित हात पारेमा सुदूरपश्चिमको १० अंक हुनेछ । त्यसले प्लेअफमा त प्रवेश गराउने नै छ । त्यसअघि नै पहिलो खेलमा काठमाडौँलाई विराटनगरले हराएमा सुदूरपश्चिम प्लेअफ प्रवेश गरिसकेको हुनेछ । पोखरासँगको जितले १० अंक हुने सुदूरपश्चिम पहिलो क्वालिफायर खेल्ने सम्भावना प्रबल छ । नेट रनरेटमा धेरै अघि रहेको सो टोली अन्तिम खेल हारे पनि तेस्रो हुने सम्भावना व्यावहरिक देखिँदैन । पोखरासँगको हार र कर्णालीसँगको जितले पनि सुदूरपश्चिम शीर्ष स्थानमा हुँदै क्वालिफायर खेल्नेछ ।
यदि दुवै खेल हारेमा पनि ८ अंक भएको सुदूरपश्चिम तेस्रो हुँदै इलिमिनेटर खेल्ने सम्भावना पनि छ । दुवै खेल भारी अन्तरले हार्ने तथा काठमाडौँले पनि विराटनगरलाई अत्यन्त फराकिलो अन्तरले हराएमा सुदूरपश्चिम बाहिरिन पनि सक्छ । तर, यस्तो सम्भावना देखिँदैन ।
चितवनको अवस्था के हुन्छ ?
८ अंकसहित तेस्रो स्थानमा रहेको चितवनको सबै खेल सकिएका कारण शीर्ष २ मा रहने सम्भावना पनि सकिएको छ । कर्णालीले अन्तिम खेलमा जित हात पार्दै चितवनभन्दा अघि रहने तथा काठमाडौँले पनि आइतबारको खेलमा विराटनगरलाई हराउँदै रन रेटमा चितवनलाई पछि पारेमा चितवन बाहिर हुने सम्भावना कायमै छ । अन्यथा चितवनले पहिलो इलिमिनेटर खेल्नेछ ।
कर्णाली याक्स
कर्णाली याक्स ८ अंकसहित चौथोे स्थानमा छ । कर्णालीका लागि सुदूरपश्चिमसँगको अन्तिम खेलमा जित हात पार्दै शीर्ष २ स्थानमा रहने सम्भावना कायमै छ । त्यसो भएमा नेट रन रेटमा कर्णालीले जनकपुरलाई पछि पार्न सक्नेछ । यसअघि आइतबारको खेलमा सुदूरपश्चिम पोखरासँग पराजित भएमा र अन्तिम खेलमा पनि जित हात पारेमा कर्णाली अंककै आधारमा जनकपुरसँगै क्वालिफायर खेल्न लायक हुनेछ ।
कर्णाली याक्स अन्तिम खेलमा पराजित भएमा सो टोली बाहिरिने सम्भावना पनि कायम छ । आइतबार हुने विराटनर र काठमाडौँको खेलमा विराटनगर विजयी भएमा काठमाडौँ बाहिरिने छ । सो खेलमा काठमाडौँको जित तथा अन्तिम खेलमा कर्णालीको सुदूरपश्चिमसँगको हार भएमा काठमाडौँ र कर्णालीबीच चौथो स्थानको निर्णय रनरेटका आधारमा हुनेछ ।
काठमाडौँ गुर्खाज
काठमाडौँको ६ अंक छ । विराटनगरसँगको खेल हारेमा सो टोली बाहिरिनेछ । जितेमा ८ अंक हुने छ । यसो भएमा काठमाडौँ प्लेअफमा जाने केही समीकरण बाँकी छ । तथापि खराब रनरेटका कारण त्यो कठिन देखिन्छ । सुदूरपश्चिम दुवै खेलमा हारेर रन रेटमा काठमाडौँभन्दा पछि रहेको खण्डमा एउटा सम्भावना छ ।
काठमाडौँले प्लेअफमा पुग्न रनरेटमा चितवनलाई पछि पार्ने अर्को सम्भावना बाँकी छ । चितवन पनि रनरेटमा धेरै अघि भएकाले धेरै व्यावहारिक देखिँदैन । कर्णालीको सुदूरपश्चिमसँग हार तथा काठमाडौँले पनि विराटनगरलार्ई हराएर कर्णालीभन्दा रनरेटमा माथि रहने विकल्प अन्य २ विकल्पभन्दा केही निकट देखिन्छ ।
प्रतिक्रिया