पोखरालाई हराउँदै काठमाडौंले बनायो प्लेअफ प्रवेशको सम्भावना बलियो

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत शनिबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ ।

शनिबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रनको योगफल बनाएको थियो ।

१३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले पोखरामाथि ६ विकेटको सहज जित हात पारेको हो । पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

काठमाडौंका लागि ओपनर स्किनाजीले सर्वाधिक ६० रन बनाए । उनले ३४ बलमा १० चौका प्रहार गरे । प्रतियोगिताको आफ्नो पहिलो अर्धशतक उनले २८ बलमा पूरा गरे । ६० रन बनाउँदै उनी विपिन खत्रीको बलमा बोल्ड आउट भए ।

अर्का ओपनर माइकल लेभिटले १८ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे । लेभिट विपिन खत्रीको बलमा विकेटकिपर आन्द्रेस गौसबाट समातिए । भीम सार्की २० बलमा २२ रन जोड्दै माइकल लिस्कको बलमा आउट भए ।

जेहार्ड एरास्मस १० बलमा २५ रनमा नट आउट रहे । पोखराका लागि विपिन खत्रीले ३ तथा माइकल लिस्कले १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रनको मध्यम योगफल तयार गरेको थियो ।

पोखराका लागि रेमन राइफरले नट आउट रहँदै सर्वाधिक ४१ रन जोडे । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे । दिनेश खरेलले २५ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे । दिनेश टिमको स्कोर ४४ रन हुँदा राशिद खानबाट एलबिडब्लु सिकार भए । दिलिप नाथले २४ बलमा २ छक्काको प्रहार गर्दै आउट भए । २७ रन बनाएका दिलिप राशिदकै बलमा बोल्ट आउट भए ।

आन्द्रेश गौस रनको खाता नै नखोल्दै जेहार्ड एरास्मसको बलमा माइकल लेभिटबाट समातिए । कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै राशिदकै बलमा बोल्ड आउट भए । यसै खेलमा एनपिएल डेब्यु गरेका भारतीय घरेलु खेलाडी आकर्षित गोमिल ८ रन बनाउँदै माइकल लेभिटको एलबिडब्लु सिकार भए ।

१७औँ ओभरमा कप्तान करण केसीले माइकल लिस्क तथा नारायण जोशीलाई पेभिलियनको बाटो देखाए पछि काठमाडौं पोखराविरुद्ध पुरै हाबी भएको थियो । १९औँ ओभरको तेस्रो कप्तान करणले विपिन खत्रीलाई ४ रनमा आउट गराएका थिए । काठमाडौंका लागि राशिद खान र कप्तान करण केसीले समान ३ तथा जेर्हाड एरास्मस र माइकल लेभिटले समान १ विकेट लिए ।

यस खेलमा विजयी काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । काठमाडौंले अन्तिम खेलमा आइतबार विराटनगर किङ्ससँग रहेको छ । पराजित पोखराको पनि प्लेअफ प्रवेशको अंक गणितीय सम्भावना भने कायमै रहेको छ । पोखराको अन्तिम खेलमा आइतबार सुदूरपश्चिम रोयल्ससँग हुनेछ । आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछ ।

प्रतिक्रिया