काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत मा शुक्रबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले चितवन राइनोजलाई जितका लागि १८२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल बनाएको हो । विराटनगरका लागि बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगिताको आफ्नो पहिलो अर्धशतक उनले ३९ बलमा पूरा गरे ।
पाँचौं विकेटका लागि ओपनर मार्टिन गप्टिल र अहमदले ६५ रनको साझेदारी गरे । गप्टिलले ३५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाउँदै उनी कुशल मल्लको बलमा बोल्ड आउट भए । राजेश पुलामी मगर बलमा नट आउट ३३ रन बनाए । उनले चौका र छक्का प्रहार गरेका थिए ।
छैठौँ ओभरका लागि अहमद र राजेश पुलामीले ८३ रनको साझेदारी गरे । राजेशले २० बलमा नट आउट ३३ रन जोडे । विराटनगरले अतिरिक्तमा २३ रन पाएको थियो । विराटनगरले पछिल्लो ५ ओभरमा ७४ रन बनाएको थियो ।
चितवनका लागि रिजन ढकालले २ तथा बासिल हमिद, कुशल मल्ल र सोहेल तन्भिरले समान १ विकेट लिए । ५ खेलमा ३ जित र २ हारका साथ चितवन अंक तालिकाको तेस्रो स्थानमा छ । यो खेलमा पनि जित निकालेर प्लेअफ सम्भावना बलियो बनाउँने लक्ष्यमा चितवन रहेको छ ।
५ खेलमा ४ मा हार र १ मा जितका साथ विराटनगर तालिकाको पुछारमा छ । यो खेलमा जित हात पार्दै विराटनगर प्लेअफको झिनो सम्भावना कायमै राख्ने दाउमा छ । आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ५ रनको रोमाञ्चक जित हात पारेको थियो । आजको दोस्रो खेलमा अहिले चितवन राइनोज जवाफी ब्याटिङमा उत्रेकाे छ ।
प्रतिक्रिया