आजको खेलपछि समीकरण लगभग टुंगो लाग्ने

जनकपुर बन्यो एनपिएलको प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो चरणमा अब ७ खेल बाँकी छन् । अहिलेसम्म ८ टोलीमध्ये जनकपुर बोल्ट्स प्लेअफमा प्रवेश गरिसकेको छ भने लुम्बिनी लायन्स पहिलो चरणबाटै बाहिरिइसकेको छ ।

अन्य ६ टोली प्लेअफमा पुग्ने ३ स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् । यी ६ टोलीमध्ये सबैभन्दा कम सम्भावना भएको टोली विराटनगर छ । बिहीबारको हारपछि विराटनगरको सम्भावना अत्यन्त कठिन बनेको हो । २ अंक रहेको विराटनगरले बाँकी रहेका दुवै खेल जितेमा र ६÷६ अंक रहेका चितवन र कर्णालीमध्ये कुनैले बाँकी रहेका दुवै खेल हारेमा भने विराटनगरको अघि बढ्न सक्ने सम्भावना हुन्छ । यसका लागि पनि काठमाडौँ र पोखराले पनि २ खेलमध्ये १ मा हार्नुपर्छ । यद्यपि, यी सबैको ६ अंक कायम भएमा ती टोलीलाई विराटनगरले रनरेटमा पछि पारेमात्रै प्लेअफमा पुग्नेछ । कुनै चमत्कार नभए यो सम्भावना लगभग शून्य छ ।

विराटनरले शुक्रबार काठमाडौँ गुर्खाजको सामना गर्दै छ । यदि सो खेलमा काठमाडौँ विजयी भएमा विराटनगर स्वतः बाहिरिनेछ । यस्तो अवस्थामा काठमाडौँको ६ अंक भए पनि रनरेटका आधारमा तेस्रो र चौथो स्थानमा रहेका चितवन र कर्णालीभन्दा धेरै पछि रहनेछ । बाँकी अर्को खेल पनि जितेको खण्डमा भने ८ अंक जोड्दै प्लेअफमा पुग्ने सम्भावना हुनेछ ।

स्पर्धाबाट बाहिरिइसकेको लुम्बिनीले शुक्रबार नै कर्णाली याक्सको सामना गर्दै छ । सो खेलमा लुम्बिनीले सफलता पाए कर्णाली याक्सको पनि पोखरासँगको अन्तिम खेल नकआउट चरणको जस्तै हुनेछ । शुक्रबारको खेलमा ४ टोली मैदानमा रहे पनि सुदूरपश्चिमका लागि भने विशेष महत्वपूर्ण हुनेछ । साथै जनकपुरका लागि पनि सो खेल उत्तिकै महत्वपूर्ण सावित हुन सक्छ ।

शुक्रबारको खेलमा लुम्बिनी र विराटनगरले जितेमा सुदूरपश्चिमको प्लेअफ पक्का हुनेछ । त्यसो त सुदूरपश्चिमको रनरेट उच्च भएका कारण पहिलो क्वालिफायरमै छनोट हुने सम्भावना त्यत्तिकै प्रबल छ । शुक्रबारको खेलमा अंकतालिकाको पुछारमा रहेका २ टोलीले सफलता पाए जनकपुर र सुदूरपश्चिमको पहिलो क्वालिफायरको सम्भावना प्रबल हुनेछ भने तेस्रो र चौथौ हुने टोलीका लागि तीव्र प्रतिस्पर्धा हुनेछ । त्यसो भएमा विराटनगरका लागि समेत झिनो आशा जीवितै रहनेछ ।

यदि विराटनगर हारेमा सन्दीप लामिछाने नेतृत्वको टोलीको यात्रा पहिलो चरणबाटै अन्त्य हुनेछ । त्यसो भएमा तेस्रो र चौथो स्थानका लागि चितवन, काठमाडौँ र पोखराबीचको खेल अझ बढी रोचक हुनेछ ।

प्रतिक्रिया