काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको झिनो लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा काठमाडौं गुर्खाजले मा लुम्बिनी लायन्सलाई जितका लागि १०४ रनको झिनो लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको काठमाडौं गुर्खाज १९.२ ओभरमा १०३ रनमात्रै बनाएर अल आउट भयो ।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा १ चौका प्रहार गरे । भीम अभिषेस गौतमको बलमा आउट भएका हुन् । १३औँ ओभरको पाँचौं बलमा भीम सार्कीले जीवनदान पाएका थिए । भीमलाई बलर विवेक यादवले रन आउट गराउन चुकेका थिए । त्यस समयमा भीम २४ रन बनाएर खेलिरहेका थिए ।

ड्यान ड्वाथवेट २१ रन बनाएर आउट भए । २४ बलको सामना गरेका ड्याथवेट विवेक यादवको बलमा कप्तान रोहित पौडेलबाट क्याच भएका थिए । काठमाडौंका लागि पहिलो विकेटका रुपमा माइकल लेभिट रनको खाता नखोली आउट भए । लेभिट रेमन सिमोण्डसको बलमा बोल्ड आउट भए ।

दोस्रो विकेटका रुपमा स्टेफन स्केनाजी १३ रनमा आउट भए । स्केनाजी १६ बलको सामना गर्दै अभिषेस गौतमको बलमा आउट भए । काठमाडौंले तेस्रो विकेटका रुपमा जेहार्ड एरास्मस १ रन बनाउँदै आउट भए । एरास्मस ४ बल खेल्दै साद विन जाफरको बलमा आउट भए ।

यस लिगमा खास चल्न नसकेका एरास्मसले ४ खेलमा सर्वाधिक ३८ रन बनाएका छन् । उनले चितवन राइनोजसँग ४, कर्णाली याक्सविरुद्ध ३८ तथा सुदूरपश्चिम रोयल्ससँगको खेलमा १० रन जोडेका छन् ।

सातौँ विकेटका रुपमा काठमाडौंका कप्तान करण केसी सूर्य तामाङको बलमा आउट भए । लुम्बिनीका लागि साद विन जाफरले ३ तथा अभिषेस गौतम र रेमन सिमण्डसले समान २ विकेट लिए ।

बुधबारको पहिलो खेलमा शीर्ष स्थानको जनकपुरलाई दोस्रो स्थानको सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । ५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौं स्थानमा छ । मंगलबार भएको पछिल्लो खेलमा चितवन राइनोजमाथि जित हात पारेको लुम्बिनी सोही लयलाई आज पनि निरन्तरता दिने दाउमा छ ।

आजको खेलमा पराजित भएमा लिगबाट बाहिरिने लुम्बिनी पहिलो टोली बन्नेछ । लुम्बिनी विराटनगर किङ्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । मंगलवार चितवनलाई पराजित गरेको थियो । ३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा छ ।

प्रतिक्रिया