काठमाडौँ । एनपिएलअन्तर्गत सुरुका २ खेलमा कर्णाली याक्सले पराजयको सामना गर्नुपर्यो । यी दुवै खेलमा विलियम बोसिस्टो समावेश थिएनन् । तर, जसै तेस्रो खेलदेखि बोसिस्टो मैदान छिरे, त्यसयता कर्णालीले हार चाख्नुपरेको छैन । यद्यपि, तेस्रो खेलमा भने उनले खासै चमत्कार गर्न सकेका थिएनन् ।
कर्णालीले पहिलो सफलता पाउने क्रममा आफ्नो तेस्रो खेलमा चितवन राइनोजलाई हराएको थियो । चितवनलाई १३० रनमा सीमित गरेको कर्णालीले १ बल बाँकी रहँदा ४ विकेटको क्षतिमै १३२ रन जोडेको थियो । सो खेलमा बोसिस्टोले २ ओभरमा १७ रन खर्चिंदा विकेट लिन भने सकेनन् । उनले ब्याटिङ गर्ने अवसरसमेत पाएनन् ।
झिनो लक्ष्य कठिनसाथ पूरा गरेपछि चौथो खेलमा पुग्दा कर्णालीले ब्याटिङ अर्डर परिवर्तन गरेको थियो । विराटनगरसँगको चौथो खेलमा पनि कर्णालीले त्यस्तै संघर्षपूर्ण जित हात पार्यो । सो जितका नायक भने बोसिस्टो बने । चौथो क्रममा आएका उनले ४९ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६६ रन प्रहार गरे ।
संयोग नै मान्नुपर्छ– सो खेलमा २ रनमा जीवनदान पाएका देव खनालले ४८ बलमा ५३ रन जोडेका थिए । यी २ ब्याटरबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । यद्यपि, १३३ बलमा सीमित भएको कर्णालीले विराटनगरलाई १२६ रनमै रोक्दै दोस्रो जित दर्ता गरायो । बोसिस्टोले ४ ओभरमा २१ रन खर्चेर १ विकेट पनि लिए ।
मंगलबार भएको टिमको पाँचौँ खेलमा भने बोसिस्टोले धमाका मच्चाए । उनकै धमाकेदार प्रदर्शनका कारण २ हार तथा २ संघर्षपूर्ण जितको नतिजा आत्मसात् गरेको कर्णालीले पोखरा एभेन्जर्ससँगको खेलमा प्रभावकारी जित हात पार्यो ।
पोखरालाई १०३ रनमै समेट्ने क्रममा उनै बोसिस्टोले कीर्तिमानी ६ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दा जम्मा २८ रनमात्रै खर्चिए । त्यसपछि १०४ रनको चुनौती लिएर ब्याटिङमा उत्रिएको कर्णालीले ५ ओभर बाँकी रहँदा ३ विकेटको क्षतिमै लक्ष्य पूरा गर्यो । बोसिस्टो २ रनमा अविजित रहे ।
को हुन् बोसिस्टो ?
सन् २०१२ मा यु–१९ विश्वकपमा अस्ट्रेलिया टोलीको कप्तानसमेत रहेका अलराउन्डर बोसिस्टो अन्तर्राष्ट्रिय खेलमा भने अवसर पाउन असफल भए । १२ वर्षअघि भएको यु–१९ विश्वकपको फाइनलमा भारतसँग पराजित भएको अस्ट्रेलिया उपविजेतामा सीमित भएको थियो । टोलीलाई उपाधि दिलाउन नसके पनि यी अफस्पिनर अलराउन्डर ‘म्यान अफ द सिरिज’ हुन सफल भएका थिए ।
फाइनलमा पनि उनले ८७ रन प्रहार गरेका थिए । भारतका कप्तान उन्मुक्त चन्दले १११ रन प्रहार गरेर भारतलाई उपाधि मात्र दिलाएनन्, फाइनल खेलका ‘म्यान अफ द म्याच’समेत घोषित भए । सो विश्वकपमा नेपालले अस्ट्रेलियासँग समूह चरणमा खेलेको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले नेपाललाई २९५ रनको लक्ष्य दिएकामा नेपाल भने ८२ रनमै अलआउट भएको थियो ।
मंगलबार बोसिस्टोले सो खेलको पनि स्मरण गरेका छन् । १२ वर्षअघिको खेल भएकाले सबै कुरा याद नभए पनि नेपाललाई सस्तैमा समेटेको भने याद रहेको उनले बताए । ‘नेपाली टोलीका लेफ्ट ह्यान्डेड स्पिनरबारे अलिअलि याद छ,’ उनले भने, ‘उन्मुक्त चन्दले लुम्बिनीबाट खेलिरहेका छन् ।’
त्यही युवा टोलीमा रहेका एसटन टर्नरले अस्ट्रेलियाको राष्ट्रिय टोलीमा स्थान पाइसकेका छन् । अलराउन्डर कोटामा सो युथ विश्वकप टोलीमा अवसर पाएका ट्रेभिस हेड पनि अहिले अस्ट्रेलियामा स्टार खेलाडीका रूपमा परिचित भइसके । गएको एक दिवसीय विश्वकप अस्ट्रेलियालाई जिताउन समेत हेडको भूमिका महत्वपूर्ण थियो । बोसिस्टो भने सो युथ विश्वकपपछि घरेलु लिग र फ्रेन्चाइजमै सीमित छन् ।
प्रतिक्रिया