कर्णाली याक्सलाई पोखरा एभेन्जर्सले दियो १०४ रनको सामान्य लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत नवौँ दिनको दोस्रो खेलमा कर्णाली याक्सलाई पोखरा एभेन्जर्सले जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको छ । अलराउण्डर विलियम बोसिस्टोको ६ विकेटको सहयोगमा मंगलबार कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्स सामान्य योगफलमै समेटिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रन बनाउँदै अल आउट भयो । पोखराका लागि दिनेश खरेलले १९ बलमा २६ रन जोडे । दोस्रो ओभरको तेस्रो बलमा पोखराका ओपनर दिनेशले जीवनदान पाएका थिए ।

युवा बलर विपिन शर्माको बलमा युनिश विक्रम सिंह ठकुरीले उनको क्याच मिस गरेका थिए । त्यस समय उनले ६ बलमा ९ रन बनाएका थिए । युनिशकै बलमा जोड्दै दिनेश छैठौँ ओभरको तेस्रो बलमा आउट भए ।

अघिल्लो खेलमा लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका पोखराका ओपनर आन्द्रेस गौसले यस खेलमा १२ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । २५ रन जोड्दै गौस विपिन शर्माको बलमा विलियम बोसिस्टोबाट क्याच आउट भए ।

१४औँ ओभरको पहिलो बलमा विलियम बोसिस्टोले दिलिप नाथलाई आउट गराए । त्यसपछिको दोस्रो बलमा माइकल लिस्क बोल्ड आउट भए । त्यही ओभरको अन्तिम बलमा नारायण जोशीलाई एलबिडब्लु धरापमा पार्दै पाँचविकेट पूरा गरे ।

प्रतियोगितामा एकै ईनिङमा ६ विकेट पूरा गर्ने बोसिस्टो पहिलो खेलाडी हुन् । यसअघि नरेन साउद, सोहेल तन्भिर र हर्ष ठाकरले एकै इनिङमा पाँच विकेट पूरा गरेका थिए ।

यस प्रतियोगितामा खराब लयबाट गुर्जिएका कुशल भुर्तेल १० बलमा १० रन बनाएर आउट भए । कुशल चार खेलमा मात्र १६ रन बनाएका छन् । एक समय ७४ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको पोखराले २९ रन जोड्दा बाँकी रहेको ८ विकेट गुमाएको थियो ।

कर्णालीका लागि विलियम बोसिस्टोले ४ ओभरमा २८ रन खर्चिएर ६ विकेट लिए । सोमपाल कामी, युनिशविक्रम सिंह ठकुरी तथा विपिन शर्माले समान १ विकेट लिए ।

आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई पराजित गरेको थियो । अब दोस्रो इनिङमा पोखराले दिएको सामान्य १०४ रनको लक्ष्यविरुद्ध कर्णाली जवाफी ब्याटिङमा उत्रनेछ ।

प्रतिक्रिया