भारतको राजधानी दिल्ली र नजिक रहेका अन्य सहरमा प्रदुषणको तह विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले तोकेको सुरक्षित मात्राभन्दा कैयौँ गुना बढ्यो । त्यहाँ केही सातादेखि धुँवायुक्त विषालु तुँवालोका कारण नजिकैको वस्तु पनि नदेखिने अवस्था उत्पन्न भएको छ । दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेना सिंहले अर्को सूचना प्रकाशन नगरिएसम्म सबै प्राथमिक विद्यालयहरू बन्द रहने र कक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिने बताएकी छन् ।
अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तरिक्षबाट खिचेका तस्बिरमा उत्तर भारत र छिमेकी पाकिस्तानमाथि बाक्लो तुवाँलो देखिन्छ । तुवाँलोका कारण उडानहरू स्थगित भएका छन् वा तिनमा विलम्ब भएको छ ।
‘आइक्युएयर’ भनिने स्विट्जरल्यान्डमा रहेको एयर क्वालिटी इन्डेक्स (एक्युआई) अर्थात् वायुको गुणस्तरको सूचकांक निगरानी गर्ने समूहका अनुसार सन् २०२३ मा दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी बनेको थियो । भारत विश्वको तेस्रो अतिप्रदूषित देश थियो । बंगलादेश र पाकिस्तान क्रमशः पहिलो र दोस्रो स्थानमा थिए ।
नेपालमा पनि वायु प्रदुषण बढ्दो क्रममा छ । शुक्रबार बिहान काठमाडौं उपत्यका उक्त सूचीमा शीर्ष १० स्थानभित्रै थियो ।
बर्सेनि अक्टोबरदेखि जनवरीसम्म हिउँदका महिनामा भारतमा न्यून तापक्रम, धुवाँ, धुलो, सुस्त गतिको वायु, सवारीसाधनबाट निस्किने ग्यास र बालीनालीका खोस्टा चलाउने चलनका कारण प्रदुषण ह्वात्तै बढ्छ ।
भारतको अवस्था निकै गम्भीर भए पनि यो त्यहाँ मात्र सीमित छैन । डब्ल्युएचओका अनुसार संसारको ९९ प्रतिशत जनसंख्या कम गुणस्तरको वायुमा सास फेर्न बाध्य छ । निम्न र मध्यम आय भएका देशका मानिसहरू त्यसबाट बढी प्रभावित छन् ।
उक्त राष्ट्रसंघीय निकायका अनुसार बर्सेनि वायु प्रदुषणका कारण ७० लाख जनाको अकाल मृत्यु हुन्छ । त्यसो भए वायु प्रदुषण कसरी नापिन्छ र प्रदुषण कुन तहमा पुग्दा मानिसहरूलाई हानि पुग्छ त ?
वायु प्रदुषणको मापन कसरी हुन्छ
वायुमा प्रदुषण गर्ने तत्वहरू मान्छेका गतिविधिबाट उत्पन्न हुन्छन् । सवारीसाधन चलाउन र खाना पकाउन प्रयोग गरिने जीवाश्म इन्धनबाट, धुलोयुक्त आँधी, डढेलो र ज्वालामुखीबाट पनि ती तत्व वायुमण्डलमा निस्किन्छन् ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी)का अनुसार वायुको गुणस्तर गर्ने उपकरणहरूमा निश्चित खालका प्रदूषक तत्वको पहिचान गर्न सक्ने सेन्सर जडान गरिएको हुन्छ । केहीले लेजर प्रयोग गर्दै ‘पार्टिक्युलेट म्याटर’ भनिने सूक्ष्म तत्वको घनत्व मापन गर्छन् भने अन्यले भूउपग्रहबाट खिचिएका तस्बिरमा निर्भर हुँदै पृथ्वीले परावर्तन वा उत्सर्जन गरेको ऊर्जाको विश्लेषण गर्छन् ।
पिएम २ दशमलव ५, पिएम १०, ग्राउन्ड लेभल ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड मानवको र वातावरणीय स्वास्थ्यमा प्रभाव पार्ने प्रदूषक तत्व हुन् । पिएम २ दशमलव ५ को आकार २ शदमलव ५ माइक्रोमिटर वा त्यसभन्दा कम हुन्छ । सूक्ष्म हुने भएकाले यसबाट स्वास्थ्यमा सबैभन्दा उच्च जोखिम रहन्छ । त्यस्ता सूक्ष्म कणहरू हाम्रो रक्तप्रवाहमा पुग्दै विभिन्न रोगको कारक बन्न सक्छन् ।
एक्युआई सूचकांक प्रयोग गरी वायुमा यी ५ मुख्य तत्वको मात्रा नापिन्छ ।
एक्युआईको मान शून्य हुँदा वायुको स्वच्छ रहेको बुझ्नुपर्छ भने ५०० हुँदा त्यसले जनस्वास्थ्यमा तत्काल खतरा हुने संकेत गर्छ ।
एक्युआईले हाम्रो वायु कति स्वच्छ वा प्रदुषित छ भन्ने अनि त्यसबाट स्वास्थ्यमा दुष्प्रभाव पर्ने सम्भावना देखाउँछ । प्रदुषित वायुमा सास फेरेको केही घण्टा वा दिनमै त्यसको प्रभाव महसुस हुन थाल्छ ।
‘एक्यूआई वायुको गुणस्तरसम्बन्धी जटिल डेटालाई जनस्वास्थ रक्षा गर्न मिल्ने गरी कार्यात्मक सूचनामा ढालिदिने एउटा साधन हो’, आइक्युएयरका प्रवक्ता आर्मन आररेडिअनले भने ।
एनइपीका अनुसार विभिन्न डेटाबैंकहरूले सरकार, क्राउडसोर्स गरिएका तथ्यांक र भूउपग्रहमा आधारित निगरानी गर्ने उपकरणहरूबाट एक्युआईसम्बन्धी विवरण संकलन गर्छ अनि एक्युआईको मान उपलब्ध गराउँछन् । त्यस क्रममा ‘विश्वसनीयता र मापन गरिएको प्रदुषणको प्रकारका आधारमा’ डेटाको विश्लेषण गरिएको हुन्छ ।
सन् २०२१ मा युएनइपी र उसको साझेदार आइक्युएयरले पहिलोपटक वास्तविक समय अवस्था देखाउने ‘रियल(टाइम एक्सपोजर क्याल्कुलेटर’ सार्वजनिक गरेको थियो । त्यसले संसारका ११७ देशमा रहेका ६ हजार ४७५ उपकरणबाट प्राप्त प्रमाणित विवरण केलाउँछ ।
उक्त डेटाबेसले पिएम २ दशमलव ५ सम्बन्धी डेटालाई प्राथमिकतामा राखेर ुआर्टिफिसल इन्टेलिजन्सुको प्रयोग गर्दै प्रत्येक घण्टा वायु प्रुूषण खेप्ने जनसंख्याको गणना गर्छ ।
मानिसका लागि कति प्रदुषण हानिकारक हुन्छ
डब्ल्यूएचओको मापदण्डअनुसार एक्युआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ । तर ४००–५०० पुग्दा त्यसलाई ‘गम्भीर’ मानिन्छ ।
आइक्युएअरका अनुसार बुधबार बिहान दिल्लीका कैयौँ भागमा उक्त सूचकांक ५०० पुगेको थियो । नोयडा र गुडगाउँजस्ता सहरमा पनि एक्युआईको मान ५०० नजिक पुगेको थियो ।
युएनइपीले सन् २०२१ मा प्रकाशन गरेको एउटा प्रतिवेदनका अनुसार ३७ प्रतिशत देशमा वायु गुणस्तरको निगरानी गर्नुपर्ने बाध्यात्मक प्रावधान छैन । विज्ञहरू अन्य कैयौँ देशमा निगरानीको गतिप्रति चिन्तित छन् । ‘सरकारले निगरानीलाई बाध्यात्मक आवश्यकता मान्ने गरी कानुन बनाउनुपर्छ र स्पष्ट डेटाका लागि हाल उपलब्ध पूर्वाधारमा लगानी गर्नुपर्छ’, युएनइपी भन्छ ।
वायु प्रदुषणबाट कस्ताकस्ता रोग लाग्छन्
डब्ल्युएचओका अनुसार वायुमा हुने ‘पार्टिक्युलेट म्याटर’ र अन्य प्रदुषक तत्वले श्वासनली र फोक्सोमा सुजन गराउँदै प्रतिरक्षा प्रणाली कमजोर पार्छ र रगतको अक्सिजन बोक्ने क्षमतालाई कमजोर पार्छ । त्यस्तो प्रदुषित हावाले श्वासप्रश्वासमा संक्रमण, हृदयरोग, स्ट्रोक र फोक्सोको क्यान्सर गराउँछ । त्यसको असर खास गरी बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका मानिसहरूमा पर्ने डब्ल्युएचओले जनाएको छ ।
उदाहरणका लागि, ओजोनले दम भएका बिरामीलाई अझ गाह्रो बनाउँछ भने नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइडका कारण दम र फोक्सामा भिन्न समस्या उत्पन्न हुन्छ । डब्ल्युएचओका अनुसार कमजोर वायु गुणस्तरले गर्भमै भ्रूणको मृत्यु हुने, समय नपुगी बच्चा जन्मिने अनि संज्ञात्मक दुर्बलता र विस्मृतिजस्ता स्नायुप्रणालीसम्बन्धी समस्याहरू उत्पन्न गराउँछ ।
उक्त निकायले वायु प्रदुषणका कारण प्रत्येक वर्ष हुने ७० लाख जनाको मृत्यु हुने र तीमध्ये घरबाहिरको प्रदुषणका कारण ४२ लाखको र घरभित्रै दाउरा र कोइला बाल्दा हुने प्रदुषणका कारण ३८ लाख जनाको ज्यान जाने जनाएको छ । डब्ल्युएचओका अनुसार करिब ८५ प्रतिशत त्यस्ता मृत्यु हृदयरोग, मस्तिष्काघात (स्ट्रोक), फोक्सोको क्यान्सर, दम, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग (सिओपिडी) र मधुमेहजस्ता नसर्ने रोगसँग सम्बन्धित छन् । उक्त निकायले वायुप्रदुषणलाई सुर्तीपछि संसारभरि नसर्ने रोग गराउने दोस्रो मुख्य कारक मानेको छ ।
डब्ल्युएचओका अनुसार घरबाहिरको प्रदुषणका कारण हुने ९० प्रतिशत मृत्यु निम्न र मध्यम आय भएका देशमा भएको देखिन्छ । एउटा अनलाइन कम्युनिटी प्लेटफर्म ‘लोकलसर्कल्स’ले गरेको सर्वेक्षणअनुसार पछिल्ला ३ सातामा दिल्ली र आसपासका सहरमा ८१ प्रतिशत परिवारमा कम्तीमा १ जना प्रदुषणका कारण बिरामी परेका छन् ।
दिल्ली सरकारले प्रतिकार्यको कार्ययोजना लागू गर्दै कोइला र काठदाउरा बल्ने सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ । उसले आपत्कालीनबाहेक अन्य सेवामा डिजलबाट चल्ने जेनरेटर प्रयोग गर्न पनि प्रतिबन्ध लगाएको छ । तर त्यसले सहरलाई विषाक्त प्रदुषणबाट जोगाउन सकेको छैन ।
अधिकारीहरूले सर्वसाधारण मानिसलाई सकेसम्म घरभित्रै बस्न र सवारीबाट हुने प्रदुषण नियन्त्रण गर्न सकियोस् भनेर सार्वजनिक यातायातको प्रयोग गर्न आह्वान गरेका छन् ।
सबैभन्दा खराब र राम्रो अवस्था कहाँ छ ?
आइक्युएअरका अनुसार सन् २०२३ मा सबैभन्दा प्रदूषित देशमा बंगलादेश, पाकिस्तान, भारत, ताजिकिस्तान, बुर्किना फासो, इराक, यूएई, नेपाल, इजिप्ट र डेमोक्र्याटिक रिपब्लिक अफ कंगो थिए ।
अर्कोतर्फ सबैभन्दा स्वच्छ हावा हुने देशमा फ्रेन्च पोलेनेशिया, मरिशस, आइसल्यान्ड, ग्रेनाडा, बम्र्युडा, न्युजिल्यान्ड, अस्ट्रेलिया, इस्टोनिया, फिन्लन्ड र सस्वडेन छन् ।
उक्त सूची पीएम २ दशमलव ५ को औसत वार्षिक मात्रा (μg/m³) का आधारमा तयार पारिएको थियो ।
एयर क्वालिटी इन्डेक्स
०–५० राम्रो
५१–१०० मध्यम
१०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ
१५१–२०० अस्वस्थ
२०१–३०० निकै अस्वस्थ
३०१ वा बढी खतरनाक
काठमाडौंको वायु प्रदुषणसम्बन्धी तथ्यांक कति विश्वसनीय छ
विश्वभर वायु प्रदुषणको निगरानी गर्ने स्विट्जरल्यान्डको आइक्यू एयरको सूचीमा कुनै दिनको केही समय नेपालको राजधानी काठमाडाँै विश्वकै सबैभन्दा प्रदुषित सहरमध्ये १ नम्बरमा परेको थियो । प्रदुषणको सूचीमा काठमाडौंमाथि परेपछि यसबारे बहसहरू भइरहेका छन् ।
संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमले विश्वका करिब ९० प्रतिशत मानिसहरूले विश्व स्वास्थ्य संघठनले तोकेको मापदण्डभन्दा कम स्वच्छ हावामा श्वास फेरिरहेको उल्लेख गरेको छ ।
नेपालका विभिन्न २७ स्थानमा वायु प्रदुषण मापन गर्ने उपकरण राखेर हावामा फैलिएका प्रदुषणका कणहरूको मापन गरिरहेको वातावरण विभागले जनाएको छ । वातावरण विभाग अन्तर्गतको वातावरण प्रदुषण, नियन्त्रण तथा नियमन शाखाका प्रमुख दीपक ज्ञवालीका अनुसार नेपाललगायत विश्वभर २ प्रकारका प्रणालीबाट वातावरण प्रदुषण मापन गरिन्छ ।
नेपालले विभागबाट देशभर राखिएका प्रदुषण मापन उपकरणबाट प्राप्त तथ्यांकका आधारमा प्रदुषण मापन गर्दै आएको छ । प्रदुषणको विश्लेषणका लागि भने विभिन्न देश र संस्थाले भू–उपग्रहबाट लिएका तथ्यांकहरू पनि प्रयोग गर्ने गरेको छ ।
‘विभागले जमिनमा राखेका उपकरणहरूबाट प्रदुषण मापन गर्छ । तर भू–उपग्रहबाट पनि मापन गर्ने विधि पनि अन्यत्र प्रचलनमा छ । हामीले मापन केन्द्रहरूबाट संकलन हुने तथ्यांकका आधारमा वायु प्रदुषणको स्तर गणना गर्ने हो’, ज्ञवालीले भने।
विभागबाहेक नेपालमा अमेरिकी दूतावास र केही अनुसन्धान संस्थाहरूले वायू प्रदुषण मापन उपकरणहरू राखेका छन् ।
आइक्यु एयर कति विश्वसनीय छ
विभागका सूचना अधिकारी ज्ञवाली आक्यु एयरको तथ्यांकलाई विश्वसनीय नै मान्न सकिने बताउँछन् । संयुक्त राष्ट्रसंघको वातावरण परियोजनाले पनि यो संस्थासँगको सहकार्यमा विश्वभर वायु प्रदुषणको तथ्यांक सार्वजनिक गर्दै आएको छ ।
आइक्यु एयरले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार नेपालको वातावरण प्रदुषण शाखा, अमेरिकी दुतावास सहितका अन्य २ संस्थाबाट काठमाडौंको वायु प्रदुषणको तथ्यांक लिइने उल्लेख गरेको छ ।
नेपालको वातावरण विभागले भने उक्त संस्थाले आफूहरूसँग सहकार्य नगरेको जनाए पनि विभागले मापन गर्ने प्रदुषणको तथ्यांक सार्वजनिक रूपमै उपलब्ध हुने भएकोले प्रयोग भएको हुन सक्ने ज्ञवाली बताउँछन् ।
यो संस्थाले विश्वभरका ३१ हजार ३४ स्टेसनहरूबाट प्राप्त वायु प्रदुषण मापनको तथ्यांक विश्लेषण गरिने जनाएको छ ।
नेपालमा कसरी मापन हुन्छ प्रदुषण
विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेका अनुसार विभागले देशका २७ स्थानमा राखेका उपकरणहरूले ती उपकरण राखिएका स्थानको हावाको नमुना लिएर प्रदुषणको मापन गर्ने गरेका छन् । ‘उपकरणले त्यो ठाउँको हावा पम्प गरेर भित्र तान्छ र त्यहाँ प्रदुषण कति छ भनेर मापन गर्छ’, लामिछाने भन्छन् ।
‘पिएम २ दशमलव ५ भन्यो भने त्यो भन्दा सानो कणहरू कति छन् र पिएम १० भन्यो भने १० माइक्रोनभन्दा सानो धुलोका कणहरू कति छन् भनेर हेर्ने हो ।’
विभागकै वातावरण निरीक्षक टिका रेग्मीका अनुसार यस्ता उपकरणहरू उच्च प्रविधियुक्त हुन्छन् । ‘यस्ता उपकरणमा उच्च प्रविधियुक्त फिल्टर जडान गरिएको हुन्छ र त्यसमा कति कणहरू जम्मा भए भन्ने हिसाबले प्रदुषण नापिन्छ । त्यसले निकै स–साना धुलोका कणहरूसँगै तरल प्रदुषणको पनि मापन गर्छ’, रेग्मी भन्छिन् ।
विभागका अनुसार यस्ता अधिकांश उपकरणहरू २४सै घण्टा सञ्चालन हुन्छन् र हरेक मिनेटमा तथ्यांकहरू विभागको सर्भरमा पठाउँछन् ।
‘सर्भरले दैनिक औसत लगायतका विवरण स्वचालित रूपमा हिसाब पनि गर्छ र त्यो विवरण कम्प्युटर प्रणालीबाट वेबसाइटमा स्वतः प्रकाशित हुन्छ’, उनले भने । भू–उपग्रहबाट ठूलो क्षेत्रको प्रदुषण मापनका साथै हावाको दिशाका आधारमा प्रदुषणको पूर्वानुमान पनि गर्न सकिने जानकारहरू बताउँछन् । तर बादल लागेको अवस्थामा भने यस्ता उपकरणहरूबाट मापन गरिने प्रदुषणको मात्रा फरक पर्नसक्ने बताइन्छ ।
‘घाम लागेको समयमा राम्रो हुने भए पनि बादल लागेको समयमा भू–उपग्रहबाट लिइने तथ्यांकमा सही नहुन सक्छ’, विभागका सूचना अधिकारी ज्ञवाली भन्छन् । जमिनमा राखिएका उपकरणहरूले भने निश्चित क्षेत्रको हावाकै नमुनाका आधारमा प्रदुषण मापन गर्ने भएका कारण त्यसलाई थप विश्वसनीय मानिन्छ ।
‘यस्ता उपकरहरू धेरै हुँदैनन् । निश्चित ठाउँबाट संकलन भएको तथ्यांकका आधारमा हामीले त्यो पूरै क्षेत्रको प्रदुषण आँकलन गर्नुपर्ने हुन्छ’, ज्ञवाली भन्छन् ।
काठमाडौंको रत्नपार्क र कीर्तिपुर, ललितपुरको पुल्चोक, खुमलटार र भैँसेपाटी तथा भक्तपुरको सल्लाघारीमा राखिएका उपकरणहरूका आधारमा काठमाडौं उपत्यकाको वायु प्रदुषणको मापन गर्ने गरिएको छ ।
विभागकी निरीक्षक रेग्मी यस्ता उपकरणहरू राखिएका ठाउँमा जम्मा भएको प्रदुषणका आधारमा भरपर्ने बताउँछिन् ।
‘कुनै उपकरण अलि धेरै धुवाँ धुलो हुने क्षेत्रमा राखिएका छन् भने त्यो पूरै क्षेत्रको प्रदुषण बढी देखिन सक्छ’, उनले भनिन् ।
प्रदुषणको पूर्वानुमान
नेपालमा पनि प्रदुषण पूर्वानुमानको अभ्यास प्रारम्भिक चरणमा रहेको विभागमा निरीक्षक लामिछाने बताउँछन् । ‘हाम्रोमा पनि भर्खरै पूर्वानुमान प्रणाली भित्रिएको छ तर यसको विश्वसनीयता कति छ भनेर हामी अध्ययन गर्दैछौँ’, उनले भने । काठमाडौंको भौगोलिक संरचना पनि प्रदुषणमा जिम्मेवार मानिन्छ ।
काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिनुको एउटा कारण यहाँको भौगोलिक संरचना पनि रहेको जानकारहरू बताउँछन् । ‘काठमाडौं कचौरा आकारको भएका कारण एक त यहाँको प्रदुषण बाहिर जाँदैन अर्को बाहिरबाट आएको प्रदूषित हावा पनि यहीँ रहन्छ’, विभागका निरीक्षक लामिछाने भन्छन् ।
नेपालमा हरेक वर्ष जनवरीपछि मार्च–अप्रिलमा प्रदुषण उच्च देखिने गरेको छ । त्यसमा डढेलोलाई प्रमुख कारक ठानिएको छ ।
यससँगै नेपालको तराई भूभाग र भारतबाट समेत कृषि क्षेत्रमा आगो बाल्ने गतिविधिका कारण प्रदूषित हावा भित्रिएको ठान्ने गरिएको छ । यस अघिका वर्षहरूमा जनवरीमा देखिने गरेको उच्च प्रदुषण विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले कम भएको ठानिएको भए पनि यसबारे पर्याप्त अध्ययन हुन बाँकी रहेको लामिछाने बताउँछन् । (बिबिसी)
प्रतिक्रिया