०५५ को लगानी बोर्ड प्रकरणमा नेपाली कांग्रेससँग मत बाझिएपछि म खुलेरै एमालेसँग आबद्ध हुन पुगेँ । राजनीतिमा मेरो प्रत्यक्ष र सक्रिय संलग्नता यहीँबाट सुरु भयो । त्यो यस्तो समय थियो, जुनबेला प्रतिष्ठित उद्यमी/व्यवसायी खुला रूपमा कम्युनिस्ट पार्टीसँग आबद्ध हुन अप्ठेरो महसुस गर्थे । व्यापारी भन्नेबित्तिकै कांग्रेसी वा राजावादी भन्ने प्रवृत्ति थियो ।
०५६ को आमनिर्वाचनपछि मलाई एमालेले माथिल्लो सदनमा प्रतिनिधित्व गराउने प्रस्ताव राख्यो । ‘माथिल्लो सदनमा सबै दलका रहलपहल अंक छन्,’ एमालेले भन्यो, ‘हाम्रो अंकले मात्र एकजनालाई प्रतिनिधित्व गराउन पुग्दैन, तपाईंले राप्रपा र सद्भावनासँग कुरा मिलाउनुभयो भने उनीहरूसँग बाँकी भएका अंक र हाम्रोसमेत जोडेर एउटा सिट निस्कन्छ । तपाईं आउनुस्, हामी तपाईंलाई समर्थन गर्छौं ।’
मैले यसलाई सकारात्मक रूपमा लिएँ । माधवकुमार नेपाल, केपी ओली, भरतमोहन अधिकारी, ईश्वर पोखरेललगायत प्रमुख नेतासँग यसबारे छलफल भयो । कमरेड ओलीले मेरै अगाडि राप्रपाका पशुपतिशमशेर राणालाई फोन गरेर मेरो नाम प्रस्ताव गर्नुभयो ।
‘तपाईंहरू विनोद चौधरीलाई लिन तयार हुनुहुन्छ भने हामी पनि समर्थन गर्छौं,’ उहाँले टेलिफोनमा भन्नुभयो ।
त्यतिखेर पशुपतिशमशेरजी र सूर्यबहादुरजी फुटिसक्नुभएको थिएन । सूर्यबहादुरजीले मलाई समर्थन नगर्ने कुरै आएन । हुन त यी दुई पार्टीको मात्र बाँकी अंक मिलाउँदा एउटा सिट सजिलै आउँथ्यो, तर मैले सद्भावनालाई पनि विश्वासमा लिन चाहेँ । सद्भावनाका बद्री मण्डल, हृदयेश त्रिपाठीसँग मेरो कुरा भयो । उहाँहरू राजी हुनुभयो ।
गैरराजनीतिक व्यक्ति भइकन पनि जानी–नजानी राजनीतिक दाउपेचमा समाहित भइरहेको थिएँ । बाहिर रहेरभन्दा भित्रै बसेर अझ ठूलो योगदान गर्न सकिन्छ भन्ने मेरो ठम्याइ रह्यो । म निकै आशावादी भएँ । राष्ट्रिय सभामा आफ्नो नाम घोषणा हुने दिन गन्ती गर्न थालेँ ।
जसोजसो प्रतिनिधि घोषणा हुने दिन नजिकिँदै गयो, बाचा गर्ने दलहरू सम्पर्कबाट टाढाटाढा हुँदै गएको मलाई लाग्यो ।
यसबीच राप्रपातर्फबाट कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले त्यही सिटका लागि एमालेसँग संवाद गरिरहेको खबर आयो । केही दिनमै खबर पुष्टि भयो । मकवानपुरका एकजना राप्रपा नेतालाई माथिल्लो सदनमा प्रतिनिधित्व गराउन एमाले सहमत भएछ । सुरुमा त मलाई विश्वासै भएन । एमाले आफैँ आएर मलाई त्यतिविधि आशा देखाएको थियो । बाचा गरेको थियो । अहिले एकाएक कसरी बाचा तोड्न सक्छ † राजनीतिमा जे पनि चल्दो रहेछ ।
एमाले नेताहरू सम्पर्कमा आइरहेका थिएनन् । मैले सिधै सूर्यबहादुरजीलाई फोन गरेँ ।
‘के भएको हो यो ? मलाई लग्छु भनेर सारा कुरा मिलाएपछि अहिले यस्तो गर्न मिल्छ ?’
उहाँले कुरा टार्न खोज्नुभयो ।
‘पख न, यहाँ कस्तो राष्ट्रिय स्तरको जटिलता आइपरेको छ । पार्टी मिलाउन समस्या परेको छ,’ उहाँले भन्नुभयो, ‘तिमी आफ्नै मात्र कुरा लिएर नबस न ।’
मलाई उहाँको जवाफ चित्त बुझेन ।
भनेँ, ‘मेरो आफ्नो कुरा होइन सूर्यबहादुरजी, तपाईंहरूले मलाई तानेर यो सब चीजमा सामेल गराउनुभयो । अहिले अन्तिम समयमा आएर अर्कै मान्छेलाई ल्याउँदा म त त्यसै जोकर फाल्तू भइनँ ?’
उहाँले आलटाल गरेर कुरा चपाइरहनुभयो ।
केही दिनपछि म एमाले पार्टी कार्यालय बल्खुमा गएँ । स्थायी समिति बैठक बसिरहेको रहेछ । म खबरै नपुर्याई बैठक कोठाभित्र छिरेँ । सारा नेताहरू थिए । सबैले ट्वाल्ल परेर मलाई हेरे । जानेबित्तिकै भनेँ, ‘के हो यस्तो ? तपाईंहरूले त मलाई बेइज्जत हुने स्थितिमा पुर्याइदिनुभयो । तपाईंहरूको अरू केही योजना थियो भने बेकारमा मलाई किन घिच्याएर सामेल गराउनुभयो ?’
माधव नेपालजीले सम्झाउन खोज्नुभयो । ‘हैन, यो एउटा बृहत् सहमतिअन्तर्गत हुन गइरहेको हो,’ उहाँले भन्नुभयो, ‘तपाईंलाई अप्ठेरो पार्न होइन । तपाईंले यसलाई आफूसँग मात्र जोडेर हेर्नुभएन …’
मैले सबैका सामुन्ने भनिदिएँ, ‘महासचिवज्यू, मैले आफूलाई हेरेर भनेको होइन, तपाईंहरूले नै मलाई आश्वासन दिनुभएको हो । कुनै किसिमको बाध्यता थियो भने त्यतिखेरै मलाई अगाडि नबढाउनुभएको भए हुन्थ्यो । अहिले यसमा मेरो प्रतिष्ठा नै दाउमा परिसकेको छ ।’
यत्ति भनेर म फरक्क फर्कें । उहाँहरू मलाई रोक्न खोज्दै हुनुहुन्थ्यो । मैले वास्तै गरिनँ ।
पछि प्रदीप नेपालजी सम्झाउन आउनुभयो । ‘तपाईंलाई हामी नवलपरासीको १ नम्बर सिट दिन्छौँ,’ उहाँले भन्नुभयो, ‘तपाईंको त्यहाँ चौधरी उद्योग ग्राम छ । त्यो ठाउँमा ठूलो योगदान गर्नुभएको छ । त्यही विचार गरेर हामीले माथिल्लो सदनको त्यो सिटका लागि राप्रपासँग तालमेल गरेका हौँ । त्यो सिट राप्रपालाई दिँदा उसको एउटा मकवानपुरको मान्छे आउने र त्यसको बदलामा उनीहरूले दाङको निर्वाचनमा हामीलाई मद्दत गर्ने कुरा भएको हो ।’
राप्रपासँगको बृहत् राजनीतिक साझेदारीअन्तर्गत यो सबै भएको हो भन्ने उहाँको गाँठी कुरा थियो । तर, मलाई चित्त बुझेन । एमालेले आफ्नो वचन पालना गरेन भन्ने मलाई लाग्यो ।
यो घटना मेरो राजनीतिक सम्बन्धमा अर्को ठूलो झट्का थियो । यसले मलाई एमालेसँग पनि एकप्रकारको असजिलोपन र नमीठो अनुभव गरायो ।
व्यापार र राजनीतिमा एउटा कुरा समान हुन्छ — दुवैमा रिसराग भन्ने कसैसँग लिनु हुँदैन । आज जोसँग घाँटी रेट्ने प्रतिस्पर्धा छ, भोलि कुनै दिन उसैसँग सहयात्रा गर्नुपर्ने हुनसक्छ । यसका लागि व्यापारी र राजनीतिज्ञ दुवै तयार रहनुपर्छ । मूल कुरा हो, अवसरको प्रतीक्षा ।
एमालेसँग दूरी राख्दा पनि म राजनीतिमा सक्रिय हुने उपयुक्त अवसरको पर्खाइमै थिएँ । जिन्दगीको कुनै मोडमा, कुनै न कुनै रूपले सार्वजनिक जीवन अंगाल्नुपर्छ भन्ने मेरो सिद्धान्त हो । यसमा मेरो निजी स्वामित्वमा रहेको चौधरी गु्रपलाई सार्वजनिक कम्पनीमा परिणत गर्ने योजना पनि पर्छ, यो किताब लेखन पनि पर्छ र मेरो राजनीतिक यात्रा पनि पर्छ ।
संविधानसभा निर्वाचनपछि नयाँ नेपाल निर्माणको अभियान सुरु भयो । मलाई लाग्यो, उपयुक्त समय यही हो । संविधानसभामा माओवादीको बहुमतले हामी निजी क्षेत्रलाई झस्काइदिएको थियो । माओवादीहरूले जनतन्त्र र जनजीविकाका नाममा ‘दलाल पुँजीपतिहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने’ र ‘विदेशी लगानीमा लगाम लगाउने’ जस्ता उग्रराष्ट्रवादी नारा दिएका थिए । माओवादी ‘जनयुद्ध’को उठान नै यस्तै उग्र नाराहरूमा टेकेर भएको थियो । उनीहरूका विचारधारा संविधानमा हावी भइदिए देश सधैंका लागि पछाडि पर्ने र नेपाल अर्को सोभियत संघ बन्ने खतरा थियो ।
हामी निजी क्षेत्रका केही साथीहरूबीच यस विषयमा सल्लाह भयो । संविधानलाई माओवादीका उग्र विचारधाराबाट प्रभावित हुन नदिन हामीले कुनै न कुनै रूपमा प्रत्यक्ष भूमिका खेल्न जरुरी छ भन्ने ठान्यौँ । संविधान निर्माणजस्तो गहन विषय उठेका बेला राजनीतिको किनारामा बसेर आफ्नो गहकिलो उपस्थिति देखाउन सम्भवै थिएन । जो–जो साथी जुन–जुन राजनीतिक दलसँग निकट छन्, त्यसैलाई समातेर राजनीतिको मैदानमै ओर्लिनुपर्छ भन्ने हाम्रो निष्कर्ष रह्यो ।
मलाई कुन दल समात्ने भन्नेमा दुविधा भएन । धेरैथोरै सबैसँग एकप्रकारको सहकार्य गरिसकेको थिएँ । केही दल ‘संविधानसभामा मेरो नाम सिफारिस गर्छु’ भनी आफैँ प्रस्ताव लिएर आएँ । त्यसमध्ये केही मनोमालिन्य रहे पनि एमालेसँग बढी सहज महसुस गरेँ । घाउको पाप्रा कोट्टयाए अझ दुख्छ, घाउ भरिँदैन । मनमा केही तुस बाँकी छन् भने बाहिर बसेर एक्लै धारे हात लाउनुभन्दा भित्रै छिरेर आवाज बुलन्द गर्नु ठीक हुन्छ ।
एमालेसँग अन्तक्र्रिया गर्नेमा मलगायत टेकचन्द्र पोखरेल, विजय शाह, सुहृद घिमिरे, राधेश पन्त, श्याम पाण्डेलगायत थियौँ । हामीले सबैको नाम समावेश गरेर सूची पठायौँ । पार्टीले त्यसमध्ये दुईजना छान्न लगायो । हामीले फेरि सल्लाह गर्यौँ । मेरो र टेकचन्द्रको नाम सिफारिस गर्ने सहमति भयो । दुवै नाम पार्टीले सार्वजनिक गर्यो । अन्तिम छनोटमा टेकचन्द्र पनि बाहिरिनुभएछ । पार्टीले राजनीतिक समझदारीका लागि सबैलाई मिलाएर लैजान उद्यमी व्यवसायी तर्फबाट मेरोमात्र नाम परेको तर्क गर्यो । जुन पार्टीलाई लिएर कुनै बेला म सशंकित थिएँ, त्यही पार्टी तर्फबाट संविधानसभाको सदस्य बनेँ ।
(नेपालयबाट हालै प्रकाशित किताब ‘विनोद चौधरी–आत्मकथा’को एक अंश । उद्योगपति विनोद चौधरीले पत्रकार सुदीप श्रेष्ठसँगको सहकार्यमा लेखेको यो किताब अहिले निकै चर्चामा छ ।)
प्रतिक्रिया