‘बेहुली फ्रम मेघौली’लाई उत्साहजनक साथ

काठमाडौँ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ले ओटिटीमा उत्साहजनक साथ पाइरहेको छ । गत शुक्रबार ओटिटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको यस फिल्मलाई अहिलेसम्म ११ हजारपटक हेरिएको छ । फिल्मकी निर्मात्री स्वस्तिमाले २ दिनमा ११ हजार प्लस स्ट्रिमिङ भएको भन्दै फेसबुकमा दर्शकलाई धन्यवाद दिएकी छन् । ४०० रुपैयाँ तिरेर यस फिल्मलाई ओटिटीमा हेर्न सकिन्छ । यस अर्थमा ११ हजार स्ट्रिमिङ भएबापत फिल्मले ४४ लाख कमाइसकेको छ ।

दर्शकबाट पनि फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मले मात्रै होइन, निश्चलको आँटको पनि यतिखेर प्रशंसा भइरहेको छ । निश्चलले हलमा चलिरहेको फिल्म उतारेर जोखिम मोलेर ओटिटीमा रिलिज गरेको र नयाँ बजार देखाएको भन्दै तारिफ भइरहेको छ । यसअघि रिलिजकै बेला फिल्म उतारेर ओटिटीमा राखेको पहिलोपटक हो ।

यो फिल्म अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा उपलब्ध हुने छैन । यी देशमा हलमै रिलिज भइराखेकाले तत्काल ओटिटीमा नआएको हो । घटस्थापनाका अवसरमा असोज १७ गते रिलिज यस फिल्मलाई दर्शकले निकै मन पराएका थिए । पहिलो साताभर साढे ३ करोड कमाएको थियो । दोस्रो साता ३ स्वदेशीसहित १ विदेशी फिल्म हुँदा पर्याप्त सो पाउन सकेन ।

यसपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखे । साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका थिए । त्यसपछि उनले फिल्मलाई हलबाट निकाले । यसपछि ओटिटीमा राखिएको हो । यो उनीहरूको डेब्यु निर्देशकीय सिनेमा हो । निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् । यस फिल्ममा उमेर पुगेपछि आउने बिहेको प्रेसरको कथा छ ।

प्रतिक्रिया