चित्रकलामा बढेको सक्रियता

नेपालको चित्रकला पछिल्लो समय कमै चर्चाको विषय बनेको छ । कलामा ललितकलामा चासो दिने र जागरूप हुनेहरूको अहिले कमि त छैन । परन्तु, डिजिटल डिभाइसमा अघि बढिरहेको अहलेको समयमा चित्रकलामै कम आकर्षण देखिएको छ । यसका बाबजुद नेपाली कलालाई यस स्थानमा पु¥याउन श्रष्टाहरूको सम्मानमा अझै कार्यक्रम भएको छ । कतै ती साधकहरूकै एकल प्रदर्शनी पनि जारी छ । यसै सन्दर्भमा अग्रज कलाकार सुन्दर सिंख्वाल (५७) को ‘साधना’ शीर्षकमा एकल पौभा कला प्रदर्शनी सुरु भएको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा बिहीबार सुरु भएको प्रदर्शनीमा ३० भन्दा बढी चित्र राखिएको छ । कलाकार सिंख्वालले केही छाडेर प्रायः सबै पौभा चित्रहरू ६–७ वर्षको अन्तरालमा बनाएको जानकारी दिए ।

उनका अनुसार प्रदर्शनीमा हिन्दू र बौद्ध दर्शनमा आधारित पौभाहरू राखिएको छ । जसमा हिन्दू दर्शनका गणेश, सरस्वती, कुमार, लक्ष्मी, विष्णु, कृष्ण, भद्रकाली, गुह्येश्वरी, हरिहर आदि तथा बौद्ध दर्शनका लोकेश्वर, मञ्जुश्री, आर्यतारा, बसुन्धरा, वज्रधर, जम्भला (कुबेर), चक्रसंवर शक्ति र २१ तारा आदि रहेका छन् । प्रदर्शनीमा राखिएका पौभाहरू पोस्टर, जलरङ, एक्रेलिक, तेलरङ आदि माध्यममा बनाइएका छन् । विगत ३८ वर्षदेखिको यस क्षेत्रप्रतिको निरन्तर लगावको प्रतिफलस्वरूप बनेका पौभा चित्रलाई प्रस्तुत गरिएकाले यस प्रदर्शनीको नाम पनि ‘साधना’ राखिएको कलाकार सिंख्वाल जानकारी दिए । प्रदर्शनीमा राखिएका कलामा सिंख्वालको कलाको साधनालाई प्रतिबिम्बित गर्ने प्रशस्त चिह्नहरूसमेत देख्न सकिन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार सिंख्वालको कलायात्रा र कलाकृतिले नेपाली पहिचानलाई चिनाउन र स्थापित गर्न मद्दत मिलेको बताए । प्रदर्शनीको शुभकामना सन्देशमा लेखेका छन्, उनले आफूहरूका प्रतिभा खानीकै जिन्दगानीमा रुमलिरहेका पनि बताएका छन् ।

उनले बजारमा कसी लगाउन (मूल्यांकन) मा आउन नै नपाएका÷प्रयास नगरेका कारण धेरै कलाकार छायामा परेको बताए । ‘कलाका हिरा–मोतीजस्ता सर्जकहरू निकै होलान् । परन्तु यही धरातलको खानीबाट उत्सुकता साथ बाहिर आउन पुस एन्ड पुल फ्याक्टरस्मा आफूलाई जोड्दै हाम्रा प्राज्ञ तथा परम्परागत चित्रशिल्पका सक्रिय कलाकार प्राज्ञ सुन्दर सिंख्वालज्यूले कला समाजको अन्तक्र्रियात्मक माहोलमा पहिलो कला प्रदर्शनी गरिरहनुभएको छ,’ उनले भने ।

अग्रज कलाकार, ख्वप पौभा च्वमी पुचःका उपाध्यक्ष पूर्ण ह्योजूले कलाकार सुन्दर सिंख्वालका प्रदर्शनीले पौभा कलाको महत्व र पहिचानलाई चिनाउन सहयोग पुगेको बताए । कलाकार सिंख्वालका गुरुसमेत रहेका ह्योजूले शुभकामना सन्देशमा लेखेका छन्, ‘पौभा कलाको सन्दर्भमा कुरा गर्दा भक्तपुरका सिंख्वाल परिवारको संलग्नता अग्रणी देखिन्छ । यसको सुरुआतको श्रेय सुन्दर सिंख्वाललाई जान्छ ।’ उनले पौभा चित्रको प्रदर्शनी कलाकारको आफ्नै संकलनमा गर्न निकै कठिन भएको जनाउँदै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा ख्वप पौभा च्वमी पुचःका सचिव सिंख्वाललाई प्रदर्शनी सफलताको कामनासमेत गरेका छन् ।

परम्परागत पौभा चित्रमार्फत कलाकार सिंख्वालले नेपाली कला परम्पराको पहिचान झल्काउन सफल भएको सिद्धार्थ ग्यालरीका सञ्चालिका संगीता थापाले बताइन् । उनले प्रदर्शनीमा राखिएका कलाकृतिमा विभिन्न देवदेवीका विषय रहेको र तिनले नेपाली कलाको लामो ऐतिहासिक परम्परालाई चित्रण गरेको जनाइन् ।

कलाकार सुन्दर सिंख्वालले आफ्नो एकल प्रदर्शनी गर्ने धोको सिद्धार्थ ग्यालरीले पूरा गरेको सुनाए । उनका अनुसार सामूहिक प्रदर्शनीमा सबै कलाकारहरूले भाग लिए पनि पौभा क्षेत्रमा एकल प्रदर्शनी गर्न पाउनुको छुट्टै महत्व हुने गर्छ । असीमित समय र कडा परिश्रम लगाएर मात्र पौभा सिर्जना गर्न सक्ने भएकोले प्रदर्शनीको लागि पुग्ने संख्यामा पौभा बनाउन त्यति सजिलो नभएको उनको मत छ ।

‘हुन पनि मेरो ६–७ वर्ष अनवरत् प्रयासले मात्र यतिको पौभाहरू बनाउन सम्भव भएको हो’, उनले भने । सिंख्वालले ‘साधना’ शीर्षकमा पहिलो एकल प्रदर्शनी गरेको र यसमा हिन्दू तथा बौद्ध दर्शनमा आधारित चित्र रहेको सुनाए । कलाकार सिंख्वालले भने, ‘नेपाली कलाको मौलिक परम्परालाई जीवन्त राख्ने कलाकारहरूको प्रयासमा सानै भए मैले पनि प्रयास गरेको हुँ । यस प्रदर्शनीमा राखिएका कलाले नेपालको मौलिक कला परम्परालाई चिनाउन मद्दत मिल्ने विश्वास लिएको छु ।’

त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्र संकायमा स्नातकसम्मको अध्ययन गरेका सिंख्वालले पौभा क्षेत्रमा थुप्रै विद्यार्थीहरूसमेत उत्पादन गरेका छन् । ख्वपः पौभा च्वमी पुचः का सचिवसमेत रहिसकेका उनी हाल नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्य हुन् ।

उनका कलाहरू फुकुओका एसियन आर्ट म्युजियम जापान, म्युजियम अफ नेपाली आर्टस् (मोना) तथा चीन र युरोपका विभिन्न व्यक्तिहरूका संकलनमा रहेका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगै अन्य विभिन्न संघ–संस्थाबाट राष्ट्रिय पुरस्कारबाट सम्मानित सिंख्वालले देश तथा विदेशका विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन् । यसक्रममा उनी भारत, माल्दिभ्स लगायतका देशमा पुगेका छने । उनका कलाकृतिहरू चीन, जापान, बेलायत, अमेरिका, फ्रान्स, थाइल्यान्ड, बेल्जियम लगायतका देशमा प्रदर्शनी गरिएका छन् । कलाकार सिंख्वालले यो आफ्नो एकल प्रदर्शनी भएको र ६–७ वर्षदेखि तयार पारेका कलाकृति राखिएको जानकारी दिए । प्रदर्शनी १० मंसिरसम्म चल्ने ग्यालरीले जनाएको छ ।

यसैबीच, भावनाको कलात्मक संगम गराउने उद्देश्यले यतिबेला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ स्थलगत काव्य–चित्र सिर्जना कार्यक्रम पनि आयोजना गरिएको छ । कार्यक्रममा १५ जना कविका विभिन्न शीर्षकका कवितामा १५ जना चित्रकारले प्रत्यक्ष रूपमा क्यानभासमा चित्र कोरेका छन् ।

चित्रकार रमेश खनालले कवि मणि लोहनीको ‘जन्मस्थल’ शीर्षकको कवितामा चित्र बनाउँदै भने, ‘कविले शब्दमा जे भन्न खोजेको छ, त्यही भाव चित्रमा फरक शैलीले आउन सक्छ, यसलाई नै शब्द र रङमार्फत व्यक्त सिर्जना भनिन्छ ।’ चित्र कोर्नुअघि ५ पटकसम्म कविता पढेर त्यसको भाव महसुस गरेको उनले बताए । कविताअनुसार मिल्ने र सुहाउने रङ क्यानभासमा खनालले उतारेका हुन् । उनको चित्र कोर्ने शैली अमूर्त हुन्छ । जहाँ कुनै आकृति हुँदैन मात्रै रङले भाव पोख्छ । खनालले बिनाआकृति कविताको मर्म र भाव उजागर गर्न प्रयत्नशील रहेको उल्लेख गरे ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले (थुम्केली) ले साहित्य र चित्रकलाबीचको सिर्जनात्मक भावना जागृत गराउन एकदिने कार्यशाला आयोजना गरिएको बताए । कार्यशालामा कवि विश्वमोहन श्रेष्ठ, राजेन्द्र शलभ, विधान आचार्य, स्नेहा, सायमि, किशोर पहाडी, गीता कार्की, मोमिला, रजनी ढकाल, बाबु त्रिपाठी, प्रज्वल अधिकारी, सुमन थापा, अनिता लामा, ओम रिजाल, दीप दर्पणका कवितामा चित्रकार किरण मानन्धर, केके कमचार्य, रमेश खनाल, दिनेश्वर महतो, अरुणा हिङ्माङ, सौरगंगा दर्शनधारी, सन्तोष राई, दीपेन्द्रमान बनेपाली, देवेन्द्रकुमार काफ्ले, सञ्जय वान्तवा, नरेन्द्रबहादुर श्रेष्ठ, केशवराज खनाल, राधेश्याम मुल्मी, विपना महर्जन, सुन्दर लामाले चित्र बनाएका हुन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र एपेक नेपालले एकदिने कार्यशाला आयोजना गरेको हो ।

प्रतिक्रिया