काठमाडौँ । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङ ः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ । यस टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ । पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्यलाई विशेष रूपमा समेटेको छ । नाजिर र सृष्टिको प्रेमका उतारचढाव टिजरमा देखाइएको छ ।
नाजिर र सृष्टिको सम्बन्धले अगाडि बढ्ने क्रममा उनीहरूको प्रेममा थप संघर्ष र पेचिलो मोडहरू प्रस्तुत गरिएको छ । टिजरको अन्त्यमा दर्शकले नाजिरलाई सृष्टिले अपहरण गरेको दृश्य देख्न पाउँछन् । यो दृश्यले पहिलो टिजरको विपरीत परिणाम प्रस्तुत गर्दछ, जहाँ सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको थियो ।
चलचित्रको अनौठो र रहस्यमय कथावस्तुले दर्शकलाई झन् उत्साहित बनाएको छ । ३० कात्तिकदेखि रिलिज हुने फिल्मले रहस्य र प्रेमको कथामार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै स्क्रिप्ट लेखन छ ।
चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो । नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा दीपेन्द्र गौचनको कथा र लेखन छ । चलचित्रको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।
प्रतिक्रिया