काठमाडौँ । प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ डिसेम्बर २१ मा आयोजना गरिने भएको छ । पहिला १६ नोभेम्बरमा आयोजना गर्ने घोषणा गरिएको अवार्ड अमेरिकामा ५ नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनका कारण १ महिनापछि सारिएको हो । अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनलाई ख्याल राखी सोही सेरोफेरोमा आयोजना हुने तयारीमा रहेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको मिति सारिएको अवार्डका नेपाल संयोजक सुनील कटुवालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिए । राष्ट्रपति निर्वाचनका कारण पाहुनाहरूको सुरक्षा र आवागमनमा हुने कडा तथा असहजताको ख्याल गरी अवार्ड कार्यक्रम पूर्वनिर्धारितभन्दा करिब १ महिनापछि सारिएको विज्ञप्तिमा उल्लेख छ ।
अवार्ड मूल समारोह २१ डिसेम्बर २०२४ को साँझ ६ बजे क्यालिफोर्नियास्थित रिचमन्ड मेमोरियल अडिटोरियम, ४०३ सिभिक सेन्टर प्लाजामा आयोजना हुनेछ भने २२ डिसेम्बर बिहान ११ बजे बार्केलेमा नेपाली कला संस्कृति, भेषभुषा झल्कने झाँकीसहित–प्रभातफेरी नेपाल डे परेड आयोजना गरिनेछ । २०८० साउनदेखि २०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरू समावेश गरिएको अवार्डमा झन्डै डेढ दर्जन विधामा प्रतिस्पर्धी अवार्ड प्रदान गर्नुका साथै एक विशिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड दिइँदै छ अवार्डमा सहभागी हुनका लागि नेपालबाट ३ दर्जन बढी सेलिब्रेटी अमेरिका पुग्नेछन् भने अमेरिकामै रहेका चलचित्रकर्मीहरूको समेत बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।
अवार्डको जुरीमा नेपालबाट वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ अभिनेता सुनील थापा, चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, वरिष्ठ छायाकार गौरीशंकर धुजु श्रेष्ठ, अभिनेता सुनील कटुवाल र वरिष्ठ चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी छन् ।
अवार्ड समारोह चर्चित होस्ट नरेश भट्टराईले सञ्चालन गर्नेछन् । अवार्ड निकै भव्य र ऐतिहासिक रूपमा आयोजना गर्ने तयारी अमेरिकास्थित मूल आयोजक हिमालय फाउन्डेसन कर्प, गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, लाइटे ल अफिस, सोम्नामे ग्रुप एलएलसी (यति रेस्टुरेन्ट), राजपूत ग्रुप एलएलसी, पाण्डे रियाल्टी तथा टाइटल स्पोन्सर हिमालयन हबले गरेका छन् ।
प्रतिक्रिया