‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको हो । अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुषाल, भोलाराज सापकोटाको मुख्य अभिनय रहेको चलचित्रमा गाइने प्रथालाई देखाइएको छ । सार्वजनिक ट्रेलर निकै मर्मस्पर्शी छ । सारंगी समुदायमाथि केन्द्रीत फिल्ममा बाबुछोराको सम्बन्धको कथा देखाइएको छ । पुस्तौँदेखिको गाइने पेशाले विजय जीवन धानिरहेका छन् ।

सारंगी रेटेर छोराको सपना र भविष्य बनाउन गर्नुपरेको संघर्ष वरिपरि ट्रेलर घुमेको छ । फिल्मम विजय बुबा हुँदा प्रकाश सपुतले छोराको भूमिका निर्वाह गरेका छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता बरालले आफूले सिनेमामा पहिलोपटक गाइने पात्र पाएको बताए । थिएटरमा यस्तो पात्रहरूको भूमिका निभाए पनि चलचित्रमा पहिलो अनुभव रहेको बताउँदै उनले चलचित्रलाई सबैले मन पराइदिनेमा आशावादी रहेको बताए ।

अभिनेत्री बराइलीले पूर्णबहादुरको सारंगीलाई पनि धेरै दर्शकहरूले मन पराउनेमा आशावादी रहेको बताइन् । चलचत्रिमा सारंगी संस्कृति जोगाउन गाइने समुदायले गर्ने संघर्षको कथालाई समेटिएको छ । ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा देखाइएको छ । सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन् । यो फिल्म आगामी १५ कात्तिकबाट रिलिज हुँदैछ ।

कलाकार प्रकाश सपुत भने आफू अभिनीत फिल्म ‘पूर्णबहादुरको सारगी’को कार्यक्रम देखिएनन् । पछिल्लो समय ‘पूर्णबहादुरको सारंगी’ युनिटसँग प्रकाशको असन्तुष्टि बढेको हल्ला बाहिर छ । बिहीबार आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा प्रकाशको अनुपस्थितले उक्त हल्लालाई बल पुगेको छ ।

फिल्मको मुख्य भूमिकामा अभिनय गरेका प्रकाशको अनुपस्थितिले मिडियाकर्मीको मनमा अनेक प्रश्न उब्जिनु स्वाभाविक हो । एक मिडियाकर्मीले निर्माण युनिटलाई प्रश्नसमेत गरे । फिल्मका निर्देशक सरोज पौडेल प्रकाशको व्यस्तताका कारण उपस्थित हुन नसकेको जानकारी दिए । उनले कार्यक्रमको बारेमा प्रकाशलाई जानकारी दिन सम्पर्क पनि नभएको र उनी व्यस्तताका कारण नआएको बताए ।

‘फिल्म अभिनय गरेपछि त्यसको प्रचार प्रसारमा साथ दिनु कलाकारको दायित्व हो’, निर्देशक पौडेलले भने ‘प्रकाश जतिको कलाकारले साथ दिनुहुन्छ भन्ने विश्वास छ ।’ प्रकाश अहिले फिल्म ‘वसन्त’ को निर्देशन र अभिनयमा व्यस्त छन् । बुझिएअनुसार फिल्म ‘पूर्णबहादुरको सारंगी’ वसन्तभन्दा पछि रिलिज गर्ने सहमतिमा प्रकाशले अभिनय गरेका थिए । अहिले वसन्त अगाडि ‘पूर्णबहादुरको सारंगी’ रिलिज गर्न लागेको कारण प्रकाशको फिल्म युनिटसँग मनमुटाब बढेको हो । निर्माण पक्ष भने यो प्रकाशसँग कुरा गरेरै फिल्म रिलिजमा ल्याउन लागिएको बताउँछ । यस विषयमा प्रकाश सपुतसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया