परमात्माबाट उत्पन्न देवतासँग मानवलाई जोड्ने वा मिलन गराउने कार्य वेदले गर्दछ । मानव (जीव) को वेदले बताएका विधि र बाटोबाट हिँड्दा देवता हुँदै परमात्मासँग मिलन हुन सक्दछ अर्थात् संसार सागरबाट ऊ तर्न सक्दछ । भवसागरबाट किन तर्नु ? मोजमस्तीको जुनी पो ठिक छ त, किन मोक्ष हुनु ? किनकी भवसागर सृष्टि भएको हुनाले यो एकदिन नष्ट हुन्छ । हरेक नष्ट हुने कुराले गर्दा नै जीवलाई सबै किसिमका दुःख र डर रहने गर्दछ । नष्ट हुने शरीर लिएर नष्ट हुने कुराकै पछि लागिरहने मानिस कहिल्यै शान्त हुन सक्दैन ।
पिप्पलाद मुनिका पुत्र अंगिरा तथा सनत्कुमारले अथर्वा ऋषिका सामु गएर सोधे, ‘मोक्ष चाहने (मुमुक्षु) ले पहिला कसको ध्यान गर्नु पर्दछ ? त्यो ध्यान भनेको के हो ? ध्यानकर्ता कसलाई भनिन्छ ? ध्यान गरिने विषय (ध्येय) के हो ?’
त्यसपछि अथर्वा ऋषिले उनीहरूलाई भन्नुभयो ः सबैभन्दा पहिले ‘ओ३म्’ यो अक्षरको ध्यान गर्नुपर्दछ । त्यो अक्षरलाई परब्रह्म भनी सम्झिनुपर्दछ । चार वेद यसका चार गोडा (पाद) हुन् । यसैले यो परब्रह्मलाई ‘चतुष्पाद’ भन्ने गरिन्छ ।
ॐ को पहिलो मात्रा (पाद, पाउ) पृथिवीरूपी ‘अ’ कार हो । यसको ऋग्वेदस्वरूप हो । यसका देवता बह्मा हुन् । यसका गणदेवता आठ वसु हुन् । यसको छन्द गायत्री हो । यसको अग्नि गार्हपत्य हो ।
व्याख्या (गार्हपत्य अग्नि) ः मूल (अग्निहोत्री) गृहस्थले कुनै पनि भाँडा तताउन दैनिक प्रयोग गर्ने ६ प्रकारका अग्निमध्येको पहिलो र मुख्य अग्नि । यो अग्नि प्राचीनकालमा भान्छामा पकाउनका लागि प्रयोग गरिने अग्नि हुनुपर्दछ । प्राचीनकालमा बेग्लाबेग्लै प्रयोजनका लागि बेग्लाबेग्लै स्थानमा आगो जोगाएर राखिन्थ्यो र एउटा प्रयोजनका लागि प्रयोग गरिने आगो अर्को प्रयोजनका लागि सामान्यतः प्रयोग गरिँदैनथ्यो । सारमा भन्नुपर्दा ॐ मा रहेको ‘अ’ अक्षरले पृथ्वी, ऋग्वेद, ब्रह्मा, आठ वसु, गायत्री छन्द र गार्हपत्य अग्निको प्रतिनिधित्व गर्दछ ।
ॐ को दोस्रो मात्रा ‘उ’ कार हो । यो अन्तरिक्ष लोक हो । यसको स्वरूप यजुर्वेद हो । यसका देवता विष्णु हुन् । यसका गणदेवता एकादश रुद्र हुन् । यसको छन्द त्रिष्टुप् हो । यसको अग्नि दक्षिणाग्नि हो ।
व्याख्या (दक्षिणाग्नि) ः गार्हपत्य अग्निको दक्षिणपट्टी स्थापना गर्ने अग्नि अर्थात् अग्निहोत्रीले आफ्नो दाहिनेतिर स्थापना गर्ने अग्नि भनेर धेरैतिर यसको परिभाषा दिइएको छ । सम्भवतः मध्यकालको टुकी वा दियालो वा मसाल र आधुनिक कालका अनेक थरी बत्ती जस्तै यो प्राचीनकालमा भान्छाको उज्यालोका लागि प्रयोग गरिने, पकाउने अग्निभन्दा दक्षिणतिर बालिने अग्नि हुनुपर्दछ । यसका विविध प्रयोग विधि पनि बताइएका छन् । सारमा भन्नुपर्दा ॐ मा रहेको ‘उ’ अक्षरले अन्तरिक्ष, यजुर्वेद, विष्णु, एकादश रुद्र, त्रिष्टुप छन्द र दक्षिण अग्निको प्रतिनिधित्व गर्दछ ।
ॐ को तेस्रो मात्रा मकार (म अक्षर) हो । यो स्वर्गलोक हो । यसको स्वरूप सामवेद हो । यसका देवता रुद्र हुन् । यसका गणदेवता १२ आदित्य (सूर्य) हुन् । यसको छन्द जगति हो । यसको अग्नि आहवनीय हो ।
व्याख्या (आहवनीय अग्नि) : अवसर विशेषमा फेरी अरणी घोटेर निकालिने नयाँ आगोलाई ‘आहवनीय अग्नि’ भनिन्थ्यो । धेरै ग्रन्थमा यसलाई यज्ञ वा होमका लागि प्रयोग गरिने अग्नि पनि भनिएको छ । सारमा भन्नुपर्दा ॐ मा रहेको ‘म’ मात्राले स्वर्ग, सामवेद, रुद्र, १२ सूर्य, जगती छन्द र आहवनीय अग्निको प्रतिनिधित्व गर्दछ । अहिले ॐ भनेर लेखिए पनि प्राचीन ग्रन्थमा ‘ओ३म्’ भनेर लेखिन्थ्यो ।
अन्तमा, ॐ भित्र जुन चौथो अर्धमात्रा छ त्यो सोमलोकरूपी ॐकार अर्थात् बिन्दुरूपी हो । यो अथर्ववेदरूपी हो । त्यसका देवता संवर्तक नामक अग्नि हुन् । त्यसका गणदेवता मरुत् गण (वायु) हुन् । यसको छन्द विराट् हो । यसको अग्नि एकर्षि हो ।
व्याख्या (एकर्षि)
(क) प्राचीनकालका केही ऋषि यस्ता पनि थिए जो स्वयं नै आगोलाई विभिन्न उपायले रक्षा गर्ने काममा लाग्दथे । जस्तै ः कर्मकाण्ड गर्ने अग्नि जोगाउन दाउरा आदि बटुल्ने कार्य । यो कामका लागि ती आफ्ना छोरा र पत्नीको समेत सहयोग लिँदैनथे । यस्तो अग्निलाई ‘एकर्षि’ भनिन्थ्यो र अति नै पवित्र मानिन्थ्यो । यसैलाई मुखाग्नि पनि भनिन्छ
(ख) विराट् अर्थात् विश्वको समष्टिगतरूप नै एकर्षि हो । अर्थात् एक नै यस्तो कुरा (जाग्रत् पुरुष) छ जहाँ सबै कुराको ज्ञान हुन्छ ।
(ग) संवर्तक अग्नि भनेको प्रलयकालमा सारा जगत् भस्म हुनेगरी बल्ने अग्नि हो ।
(घ) सोमलोकलाई चन्द्रलोक भनेर धेरै विद्वानहरूले लेख्नुभएको छ । रंगरामानुजको भाष्यमा चन्द्रलोकभन्दा माथि सोमलोक छ, यसैले यसलाई स्वर्गलोकभन्दा बेग्लै बताइएको हो भनिएको छ ।
अर्का भाष्यकार नारायणले ‘उमया सह’ र ‘सोकहम्’ स् यी दुई शब्दको व्याख्या गर्दै जहाँ उमाका साथ शिव बस्नुहुन्छ त्यो सोमलोक हो भनी बताउनुभएको छ ।
ॐ को उच्चारण गर्दा अन्तमा जुन् म्म्म्म् । पछिको लामो गुञ्जन हुन्छ । त्यही नै मोक्ष पद हो । यसलाई नाद भनिन्छ र यो ब्रह्माण्डभर सनातनरूपमा गुञ्जिरहेको हुन्छ ।
ॐमा रहेको तीन मात्रामध्ये पहिलो मात्रा रातो–पहेँलो रङ भएकी महद् ब्रह्मरूपी देवता हुन् ।
व्याख्याः पहिले सृष्टि हुन्छ । सृष्टिका देवता ब्रह्मा हुन् । ब्रह्माको रङ रातो–पहेँलो हुन्छ । कालिका पुराणमा ब्रह्माको ध्यान गर्दा ‘वर्णेन रक्तगौराङ्ग’ (उनी रातो–पहेँलो वर्णका छन्) भनी ध्यान गर्नू भनिएको छ ।
देवीभागवतमा पहिलो जुन अण्ड (पिण्ड, मूल ग्रह, हिरण्यगर्भ, महद् ब्रह्म) हुन्छ त्यसको रङ सुन जस्तै चम्किलो (पहेँलो र रातो) हुन्छ भनिएको छ । यसैले ॐ जपेर ध्यान गर्दा ॐ मा रहेको पहिलो मात्रा अर्थात् ‘अ’ लाई ब्रह्माको प्रतिककारूपमा रातो–पहेँलो वर्ण मानी ध्यान गर्नु भनिएको हो । सामान्य सोचले हेर्दा अक्षरमा रङ हुने कुरा पत्याउन कठिन हुन्छ । तर, साधकले ॐ भित्र रहेको सृष्टि, पालन, संहार र मोक्षको रङ देख्न सक्दछ भनिएको छ ।
संस्कृत र यो मूलभाषा भएका समान लिपीका अन्य सबै भाषाका सबै ‘क’देखि ‘ज्ञ’सम्मका व्यञ्जन वर्ण ‘अ’ (एउटै स्वरवर्ण, खयधभ)ि कै सहायताले उच्चरित हुने गर्दछन् । यस्तो समान नियम विश्वका अरू कुनै पनि भाषामा छैन ।
सांकेतिक रूपमा भन्नुपर्दा सृष्टिको प्रारम्भमा जुन तत्व (इलिमेन्ट) सर्वप्रथम अस्तित्वमा आउँदछ त्यसको रङ रातो–पहेँलो हुन्छ । हरेक दिनको प्रारम्भिक काल अर्थात् ब्रह्ममुहूर्तमा जुन प्रकाश देखिन्छ त्यसको रङ पनि रातो–पहेँलो नै हुनेगर्दछ ।
दोश्रो मात्रा कालो रङकी विष्णुरूपी देवता हुन् ।
व्याख्या : ॐ मा रहेको दोश्रो मात्रा ‘उ’ मा भगवान् विष्णुको ध्यान गर्दा उनको वर्ण कालो छ भनी ध्यान गर्नुपर्दछ । कस्तो कालो त ? यस सम्बन्धमा गरुड पुराणले विष्णुको वर्ण नीलो–कालो र रातो मिसिएको हुन्छ । त्यसबाट सेतो–अरुण र हरियो मिसिएको चमक निस्किरहेको हुन्छ तथा उहाँको जुन मण्डलाकार चमक हुन्छ त्यसको रङ भने यज्ञमा बलिरहेको अग्नि एवं मह जस्तै कैलो रङको हुन्छ भनेको पाइन्छ ।
जसरी शब्द बह्माको अधिनमा हुन्छिन् र तिनैका सहायताले वा प्रेरणाले सृष्टि हुन्छ । त्यसरी नै माया विष्णुका अधिनमा हुन्छिन् र तिनैका सहायताले संसारको पालना हुने गर्दछ ।
शक्तिविहीन पुरुष अपवादमा बाहेक आफ्नो जिम्मेवारी एक्लै पूरा गर्न असमर्थ हुन्छ । यसैले विधिपूर्वक तोकिएको विधिले विवाह गरिएकी पत्नीलाई अर्धांगिनी भनिएको हो । अन्य भार्या आदिको समान्य अर्थ पत्नी नै हुने भए पनि शाब्दिक व्युत्पत्ति खोतल्दा ती भोग आदि अन्य प्रयोजनका लागि मात्र लेराइएका मानिन्छन् । यसैलै असल पत्नी बनी आफूसँग रहेको तीन थरी शक्ति (सृष्टि, स्थिति र लय) लाई पहिचान गर्न खोज्नु सबै नारीको परम कर्तव्य हो । नारीले आफूमा रहेको शक्तिको उचित व्यवस्थापन र प्रयोग गर्न सकेनन् भने पुरुषः स्वतः निकम्मा हुन पुग्दछ । पतीत हुन पुग्दछ ।
ॐ मा रहेको तेस्रो मात्रा (अ, उ र म मध्ये म) सेतो रङकी रुद्ररूपी देवता हुन् ।
व्याख्या ः रुद्रको वर्णका बारेमा पुराणहरूमा फरक मत पाइन्छ । त्यहाँ रुद्रलाई नीलो–रातो मिसिएको, बलिरहेको अग्निको ज्वाला जस्तो वर्णका हुन्छन् भनिएको छ । कल्प अनुसार सृष्टिका विभिन्न क्रम पाइन्छन् । ‘रुद्र सर्ग’ नामक सृष्टिको वर्णन गर्ने क्रममा शनिश्चर, विश्वकर्मा आदिलाई रुद्रका पुत्र हुन् पनि भनिएको छ । भावमा बुझ्नुपर्दा ॐ मा तीन मात्रा हुन्छ । ती तीन मात्रा तीन देवताका प्रतीक हुन् । सुरुमा ब्रह्मा, त्यसपछि विष्णु र त्यसपछि रुद्रको ध्यान गर्नुपर्दछ । रुद्रको ध्यान गर्दा उनको विग्रह–ज्योति सेतो छ भनी ध्यान गर्नुपर्दछ । यी तीन देवता क्रमशः सृष्टि, पालन र संहारका प्रतीक हुन् ।
त्यसरी यो ॐकार अ–उ–म र अर्धमात्रा गरी चार अक्षर भएको विश्व–विराट्, तैजस–हिरण्यगर्भ, प्राज्ञ–ईश्वर र तुरीय गरी चार पाउ भएको, गार्हपत्य, दक्षिणाग्नि, आहवनीय र एकर्षि गरी चार अग्नि भएको तथा चार मात्रा भएको हुन्छ । (मात्राको अर्थ समय वा खण्ड पनि हुन्छ)
ॐ स्थूल भए पनि यसका ह्रस्व, दीर्घ र प्लुत गरी तीन भेद हुन्छन् ।
व्याख्या : विश्व–विराट् : विश्वरूप वा विराट् रूप वा सर्वव्यापक । तैजस–हिरण्यगर्भ : त्यो अण्डाकार प्रकाशपुञ्ज जसबाट ब्रह्मालगायत पूरै जगत् उत्पत्ति हुने गर्दछ । प्राज्ञ–ईश्वर : जीवात्मारूपी ईश्वर । तुरीय : मोक्ष । चार थरी अग्निको बारेमा पहिले नै बताइसकिएको छ । झट्ट हेर्दा ॐ आफैँमा पूर्ण स्थूल मात्रा (अक्षर) हो । तर यसभित्र छोटो समयमा उच्चारण गरिने, लामो समय लगाएर उच्चारण गरिने र तीन आवर्तमा अति नै लामो तरिकाले उच्चारण गरिने मात्राहरू लुकेका हुन्छन् ।
तीन पटक ॐ ॐ ॐ जप गरेर त्यसपछि चौथो शान्त आत्मारूपी गुञ्जन (नाद) को अति लामो तरिकाले उच्चारण गर्नुपर्दछ । यसरी ॐ जप गर्न अभ्यस्त भएपछि आत्माको ज्योति बल्दछ अर्थात् अज्ञान हट्दछ ।
व्याख्या : सुरुमा वा पहिलोपटक ॐ उच्चारण गर्दा त्यसमा रहेको ‘अ’ अक्षरले समेट्ने सबै कुराको ध्यान गर्नू । दोस्रोपटक उच्चारण गर्दा ‘उ’ अक्षरले समेट्ने सबै कुराको ध्यान गर्नू । तेस्रोपटक ॐ उच्चारण गर्दा ‘म’ अक्षरले समेट्ने सबै कुराको ध्यान गर्नू । चौथोपटक ॐ उच्चारण गर्दा अर्धमात्रा वा गुञ्जन (म्म्म्…) मार्फत् आफ्नो आत्मालाई परमात्मासँग मिलन गराउन अभ्यास गर्नू ।
अर्थात् ॐ मा रहेका तीन मात्राले बाटो खन्दै पन्छाउँदै अघि बढी अन्तिमको नादले बालबच्चा आमातिर आकर्षित भएजस्तै परमात्मातिर आकर्षित भएर उहाँको ढोका ढकढक्याउने काम गर्नुपर्दछ । ॐ को जप गर्दा वा उच्चारण गर्दा यही विधि अपनाउनुपर्दछ ।
‘अर्थ न बर्थ गोविन्द गाई’ भनेजस्तै देखासिकीमा, मनोरञ्जनका लागि वा देखाउन गीत गाएर वा गाएको देखाएर ॐ जपेको मानिँदैन । यस भित्रको रहस्यलाई सँगै ध्यान गर्नुपर्दछ । बरु ज्ञान छेकिए छेकियोस् तर क्यामराचाहिँ नछेकियोस् भनेर जप्न सिकाइने वा जपिने ॐ बाट कुनै पनि लाभ प्राप्त हुँदैन । यो ॐ जप गर्ने वा उच्चारण गर्ने एक विधि हो ।
एकपटक लामो (पहिले बताइएको) तरिकाले उच्चारण गर्दै मूलाधारबाट ब्रह्मरन्ध्रसम्म प्राण (सास) सँग प्रणवलाई सँगसँगै माथितिर लैजाने अभ्यासबाट ॐ ले ब्रह्मसँग मिलाइदिनेछ । यसैले यसलाई ॐकार भनिएको हो ।
व्याख्या : कुण्डलिनी योगअनुसार शरीरमा ६ वटा चक्र हुन्छन् । तिमध्ये गुदद्वार र अण्डकोशको बीचमा हुने चक्रलाई ‘मूलाधार’ भनिन्छ । टाउकाको बीचमा छोपिएर रहने एउटा गुप्त प्वाल जसबाट सास निस्किए ब्रह्मलोकको प्राप्ति हुन्छ भनिएको छ, त्यसलाई ‘ब्रह्मरन्ध्र’ भनिन्छ ।
ॐ उच्चारण गर्दा शरीरभित्र रहेको प्राण वायुलाई उल्लेखित विधिले माथितिर लैजाने अभ्यास गर्नुपर्दछ । जब निरन्तरको प्रयाश र लामो साधनाबाट योगी यो वायुलाई तालुमा लैजान सफल हुन्छ तब उसलाई अद्भूत ऊर्जा वा ज्ञान प्राप्त हुन्छ ।
सबैको प्राणलाई आफूभित्र लीन गराउने हुनाले ॐकार नै प्रलय (प्रलयको प्रतीक वा सूत्र) पनि हो ।
सबैको प्राणलाई खिचेर परमात्मासँग राम्ररी एकाकार गर्ने हुनाले ॐ लाई प्रणव भनिन्छ ।
व्याख्या : प्राण आदिको विस्तार वा फैलावट सृष्टि हो भने यसको संकुुचन प्रलय हो । सबै खालका प्राण, इन्द्रिय आदि केही कुरा पनि परमात्माभन्दा भिन्नै वा बेग्लै छैनन्, होइनन् । सबै एउटै हुन् । यो कुरा ॐलाई विधिपूर्वक ध्यान गर्दै जाँदा स्पष्ट हुन्छ । जसरी संगीतमा डुबेको व्यक्तिलाई संगीतबाहेक अरू केही कुराको पनि मतलब हुँदैन, अर्थ बाँकी नै हुँदैन त्यसैगरी प्रणवले मानिसलाई यो ब्रह्माण्डमा ईश्वरभन्दा बाहेक अरू केही कुरा पनि छैन भनी महसुस गर्ने बनाइदिन्छ ।
प्रणवको स्थूल–अंश ॐकार हो । यसको बीज–अंश प्रणव हो । यसको सूक्ष्म–अंश प्रलय हो । चौथो अंश शान्त अवस्था हो । यसरी ॐ मा चार अवस्था रहेको हुन्छ । कुनै पनि देवतालाई आराधना गर्दा वा कुनै पनि वेदमन्त्र उच्चारण गर्दा सुरुमा ॐ भनिन्छ । यसभित्र सबै देवता प्रतिकात्मकरूपमा रहेका हुन्छन् । शब्दको सुरुआत नै ॐ बाट भएकोले शब्दबाट बनेका सबै वेदको कारण पनि ॐ नै हो । प्रणव र ब्रह्मबाहेक जगतमा अरू केही कुरा पनि प्राप्त गर्न योग्य वा ध्यान गर्न योग्य छैन किनकी सबै कुरा (सृष्टि, पालन, संहार र लय) यही ॐ मा समेटिएको हुन्छ ।
सबै देवता र सबै वेद पनि आफ्ना सबै दुःख र भयबाट मुक्ति पाउनका लागि मोक्षदायक मानिएको ॐकारलाई ध्यान गर्न लागेका थिए । तिनलाई यसले उद्धार (तारण) गरेको थियो । यसैले यसलाई ‘तार’ भनिन्छ ।
व्याख्या : परमात्माबाट उत्पन्न गराइएका देवता छन् भन्ने प्रमाणका लागि नै वेदमा मन्त्रहरूको संग्रह गरिएको हो । वेद र देवता एकआपसमा घोलिएका (सन्धानित) छन् । अर्थात् वेदमा देवताहरूको अस्तित्व स्वीकार गरी तिनको स्तुति गरिएको छ । अनि यी देवता को हुन् त ? सबै देवता परब्रह्म वा परमात्माका नै रूप हुन् । यसरी वेदले यथार्थमा देवताका माध्यमबाट परमात्मालाई प्रमाणित गरिरहेका हुन्छन् ।
रुचीमा हुने भिन्नता, उपभोग्य कुराको उपलब्धता आदि अनुसार मानव अनेक थरी देवता मान्ने गर्दछ । जहाँ बसेर जुन देवतालाई जसरी माने पनि देवता पनि परमात्माबाटै उत्पन्न गराइएका हुनाले ऊ वास्तवमा परमात्माकै उपासना गरिरहेको हुन्छ ।
परमात्माबाट उत्पन्न देवतासँग मानवलाई जोड्ने वा मिलन गराउने कार्य वेदले गर्दछ । मानव (जीव) को वेदले बताएका विधि र बाटोबाट हिँड्दा देवता हुँदै परमात्मासँग मिलन हुन सक्दछ अर्थात् संसार सागरबाट ऊ तर्न सक्दछ ।
भवसागरबाट किन तर्नु ? मोजमस्तीको जुनी पो ठिक छ त, किन मोक्ष हुनु ? किनकी भवसागर सृष्टि भएको हुनाले यो एकदिन नष्ट हुन्छ । हरेक नष्ट हुने कुराले गर्दा नै जीवलाई सबै किसिमका दुःख र डर रहने गर्दछ । नष्ट हुने शरीर लिएर नष्ट हुने कुराकै पछि लागिरहने मानिस कहिल्यै शान्त हुन सक्दैन । (क्रमशः)
प्रतिक्रिया