सामुदायिक पशु प्रजनन केन्द्र स्थापना हुने

बाग्लुङ, २७ फागुन । पशुलाई कृत्रिम रूपले गर्भाधान गराउन बाग्लुङका आठ गाविसमा सामुदायिक पशु प्रजनन केन्द्र स्थापना गरिने भएको छ । जिल्ला पशुसेवा कार्यालयले ती गाविसमा चालु आर्थिक वर्षदेखि नै केन्द्र सञ्चालनको तयारी गरेको छ । गत साउनदेखि नै केन्द्र सञ्चालन गर्ने भनिए पनि समयमै बजेट नआउँदा ढिलाइ भएको पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयले तत्काल केन्द्र सञ्चालन गर्ने गरी काम अघि बढाएको कार्यालयका प्रमुख डाक्टर लक्ष्मण घिमिरेले बताए ।

कार्यालयले गत वर्ष नै जिल्लाको बिहुँ गाविस र आºनै कार्यालय भवनमा केन्द्र स्थापना गरी पशुको कृत्रिम गर्भाधान गर्ने सेवा प्रदान गर्दै आएको थियो । पशुलाई कृत्रिम गर्भाधान गराउने कृषकको संख्या बढ्दै गएपछि कार्यालयले जिल्लाका थप आठ गाविसमा केन्द्र स्थापना गर्न लागेको हो ।
जिल्लाको नारायणस्थान, कुश्मीसेरा, भकुन्डे, रायडाँडा, हरिचौर, हटिया र अमलाचौर गाविसमा सामुदायिक पशु प्रजनन् केन्द्र स्थापना गर्न लागिएको डाक्टर घिमिरेले जानकारी दिए । समुदाय स्तरबाटै सञ्चालन हुने ती केन्द्रका लागि आर्थिक तथा प्राविधिक सहयोग कार्यालयले प्रदान गर्ने घिमिरेको भनाइ छ । पशु प्रजनन केन्द्र सञ्चालनका लागि स्थानीय स्तरमै सञ्चालक समिति गठन गरिने भएको छ ।
केन्द्र सञ्चालनका लागि आवश्यक तालिम, उपकरण, गर्भाधानको लागि खोरसमेत कार्यालयले नै बनाइदिने भएको बताइएको छ । पशुसेवा कार्यालयबाटै खटिएका दक्ष जिटिएले नै कृत्रिम गर्भाधान गराउने उनले जानकारी दिए । ‘प्रजनन केन्द्रमै लगेर पशुको गर्भाधान गराउने कृषकले नि:शुल्क सेवा लिन सक्छन्,’ डा. घिमिरेले भने, ‘घरमै बोलाएर सेवा लिन चाहने कृषकले भने प्राविधिक खर्च व्येहोर्नुपर्ने हुन्छ ।’ त्यसबापत लाग्ने खर्च भने केन्द्र सञ्चालक समितिले नै निर्धारण गर्नेछ ।
स्थानीय जातको पशु भए खर्चको आधा मात्र कृषकलाई लाग्ने कार्यालयले जनाएको छ । त्यसबाहेक प्रोत्साहनस्वरूप कृषकलाई सय रुपियाँ बराबरको सामान अथवा नगद दिने व्यवस्था पनि समितिले गर्ने भएको छ । कृत्रिम गर्भाधानबाट चाहेजस्तो प्रजातिको गाईबाच्छा र पाडापाडी जन्माउन सकिन्छ र यसबाट दूध उत्पादनमा वृद्धि हुन्छ । गाईभैँसीलाई राँगोसँग लैजान पनि नपर्ने र घरमै बोलाएर पनि सेवा लिन सकिने भएकाले कृत्रिम गर्भाधन गराउनेको किसानको संख्या बढेको कार्यालयले जनाएको छ ।
समय पनि खर्च नहुने, झन्झट पनि नहुने भएपछि गाईलाई कृत्रिम गर्भाधान गराएको बानपा–५ का गाईपालक कृष्ण खड्काले बताए । कृत्रिम गर्भाधान गराएको १० महिनामा भैँसी र नौ महिनामा गाई ब्याउने गरेका छन् । जिल्लामा गत वर्ष ५ सय पशुमा कृत्रिम गर्भाधान गराइएकामा चालु आर्थिक वर्षको फागुन २० भित्र ७८७ गाईभैँसीमा कृत्रिम गर्भाधान गराइएको पशुसेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया