हेटौँडा । रोटरी क्लब अफ मकवानपुरको आयोजनामा हेटौंडामा तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । भदौ २४ गतेदेखि ३१ गतेसम्म हेटौँडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना हुने प्रतियोगितामा देशभरका विभिन्न १६ वटा भेट्रान्स क्लबहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताको विषयमा जानकारी गराउन बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा मकावनपुर जिल्लामा आगोले पोलेका बिरामीहरुको उपचारका लागि जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगार्थ प्रतियोगिता सञ्चालन गर्न लागिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले जानकारी दिए ।
हेटौँडा उपमहानगरपालिकाको मुख्य प्रायोजन तथा हेटौँडा स्कुल अफ म्यानेजमेन्टको सहप्रायोजन रहने प्रतियोगितामा अन्य विभिन्न उद्योग तथा संघसंस्थाहरुको सहयोग रहने अध्यक्ष अग्रवालले बताए । यस्तै जिल्लाका स्थानीय निकायहरुले पनि सो प्रतियोगितामा सहयोग गर्ने बताइएको छ ।
जिल्लामा आगोले पोलेका बिरामीका उपचारको अभाव रहेको अवस्थामा हेटौँडा अस्पतालभित्रै बर्न वार्ड स्थापनाका लागि प्रतियोगितामा संकलित रकम प्रयोग गरिने अग्रवालले उल्लेख गरे । २०७२ सालमा सुरु भएको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता २०७३ सालमा दोस्रो संस्करणपछि रोकिएको थियो ।
पहिलो र दोस्रो दुवै संस्करण चितवन भेट्रान्स क्लबले जितेको थियो । तेस्रो संस्करणमा ८ दिनमा कूल १५ खेल सन्चालन हुने प्रतियोगिता संयोजक मोहन ढकालले जानकारी दिए । प्रतियोगिताको विजेता क्लबले २ लाख २ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टीमले १ लाख १ हजार १११ प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा सर्वश्रेष्ठ प्रशिक्षक, खेलाडी, किपर, डिफेन्स, मिडफिल्डर तथा फरवार्डका लागि पनि विधागत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
मकवानपुर
प्रतिक्रिया