हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रमा हुने पूर्वाधार निर्माणको गति बढाउन आफूले पहल गर्ने बताएका छन् ।
सोमबार हेटौँडा ६ मा रहेको गौरीटार रंगशाला परिसरको स्थलगत निरिक्षण गर्ने क्रममा मन्त्री महर्जनले रंगशाला परिसरभित्र निर्माणाधीन खेल संरचनाहरुको निर्माण कार्य निर्धारित समयमा पूरा गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई दबाब दिने बताए ।
सरकारका तर्फबाट पर्याप्त खबरदारी नहुँदा खेल संरचनाहरुको निर्माण कार्य अलपत्र पर्ने गरेको भन्दै मन्त्री महर्जनले भने, ‘मेरो कार्यकालमा यस्ता खालका ढिलासुस्ती हुँदैनन्, निर्माण कम्पनीहरुले सम्पूर्ण संरचना निर्धारित समयमा पूरा गर्ने वातावरण बनाउँछु ।’
मन्त्री महर्जनको निरिक्षणका क्रममा मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछाने र प्रदेश खेलकुद परिषद्का इन्जिनियर निवेश बर्तौलाले भौतिक संरचनाहरुको निर्माणको प्रगतिका बारेमा जानकारी गराएका थिए ।
रंगशाला परिसरभित्र प्रदेश सरकारको लगानीमा गत चैतदेखि क्रिकेट मैदान तथा पौडी पोखरीको निर्माणकार्य भइरहेका छन् । यस्तै केन्द्रीय खेलकुद प्रतिष्ठान अन्तर्गत फुटबल मैदानको काम समेत भइरहेको भए पनि पूरा हुन सकेको छैन ।
प्रदेश सरकारले गौरीटारमा क्रिकेट मैदानका लागि गत आर्थिक वर्षमा ४ करोड रुपैयाँ छुट्याएको थियो भने यस वर्ष ७ करोड ७४ लाख रुपैयाँ छुट्याएको छ । यस्तै निर्माणाधीन पौडी पोखरीका लागि चालु आर्थिक वर्षमा समेत कूल ८ करोड ६३ लाख ६१ हजार रुपैयाँ व्यवस्था गरेको छ ।
गत चैत ३० गते सम्झौता भएका दुवै आयोजना २०८२ असार मसान्तभित्र पूरा गर्ने गरी सम्झौता भएका हुन् । निर्माणाधीन पौडी पोखरीअन्तरगत २५ मिटर लम्बाइ र १० मिटर चौडाइको अभ्यास पोखरी सहित ५० मिटर लम्बाइ, २५ मिटर चौडाइ र १७० सेन्टिमिटर गहिराइको मुख्य पोखरी रहने इन्जिनियर बर्तौलाले जानकारी दिए ।
पौडी पोखरीसँगै ४०० जना दर्शक क्षमताको भीआइपी प्यारापिट रहने बर्तौलाले बताए । यस्तै ५ वटा पिचसहितको क्रिकेट मैदान १४० मिटर व्यासको रहने तथा सो क्रिकेट मैदानमा तत्कालका लागि ६०० दर्शक क्षमताको प्यारापिट तयार गरिने भएको छ ।
नेपाली खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका लागि तयार पार्न आवासीय सुविधासहित विभिन्न २१ खेलका संरचना निर्माण गर्ने गरी गौरीटार रंगशालाको गुरुयोजना तयार पारिए पनि पर्याप्त बजेट नहुँदा निर्माणकार्यले गति लिन सकेको छैन । गुरुयोजनाअनुसार सम्पूर्ण संरचना पूरा गर्नका लागि २ अर्ब ४२ करोड ६४ लाख लागत अनुमान गरिएको थियो ।
मकवानपुर
प्रतिक्रिया