अर्को आर्थिक वर्षमा थप पैसा उठाउँदै गढीमाई नगरपालिका

३ हजारको सामानलाई ५ हजार ८०० भुक्तानी

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा स्प्रे ट्यांकी खरिदमा व्यापक भ्रष्टाचार गरिएको पाइएको छ । बजारमा २ हजार ८०० रुपैयाँदेखि ३ हजार रुपैयाँसम्ममा पाइने स्प्रे ट्यांकीमा गढीमाई नगरपालिकाले तेहोरो भ्रष्टाचार गरेको देखिएको छ । सामान्य किसानले ३ हजारभन्दा कम मूल्यमा बजारमा किन्न सकिने ट्यांकीलाई नगरपालिकाले केसरी एन्ड सन्स प्रालि गौरसित प्रतिट्यांकी ५ हजार १९० रुपैयाँमा खरिद गरेको छ । नगरपालिकाले १३ प्रतिशत भ्याट तिरेको देखिएको छ ।

केसरी एन्ड सन्स प्रालिले असार १५ मा कारोबार गरी असार १६ मा बिजक जारी गरेको छ । बिजक नम्बर ५० रहेको केसरी एन्ड सन्सको बिलमा स्प्रे ट्यांक ३३३ थानको ५ हजार १९० को दरले १७ लाख २८ हजार २७० रुपैयाँ भुक्तानी मागेको र नगरपालिकाले गत असारमै भुक्तानी गरिसकेको छ । नगरपालिकाले सम्पूर्ण रकमको १३ प्रतिशत भुक्तानी तिर्दा एउटा स्प्रे ट्यांकीको मूल्य ५ हजार ८६४ रुपैयाँ ७० पैसा पर्न आउँछ । बजारमा ३ हजारभन्दा कममा पाइने स्प्रे ट्यांकीलाई नगरपालिका ५ हजार ८६४ रुपैयाँ ७० पैसाको दरले भुक्तानी गरिसकेको छ ।

नगरप्रमुख श्यामप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव र जिन्सी शाखा प्रमुख राधेश्याम यादवको मिलोमतोमा दोब्बर मूल्यमा स्प्रे ट्यांकी खरिद गरी भ्रष्टाचार गरिएको छ ।
असारमै भुक्तानी गरिसकिएको स्प्रे ट्यांकी गढीमाईका किसानलाई साउनमा मात्र वितरण गरिएको छ । गत हप्ता किसानले २ हजार ६०० को दरले रकम बुझाउँदै स्प्रे ट्यांकी बुझेको भरपाईमा हस्ताक्षर गरेका छन् । नगरपालिकाका कर्मचारीहरूले असारकै मितिमा रकम बुझ्दै भरपाईमा हस्ताक्षर गराएका हुन् ।

गढीमाई नगरपालिका–४ का किसान कपिलदेव सहनीले आफूले गत ४ साउनमा २ हजार ६०० रुपैयाँ तिरेर एउटा स्प्रे ट्यांकी बुझेको बताएका छन् । खरिद भएर आएको ३३३ स्प्रे ट्यांकीमध्ये कागजमा जिन्सी शाखामा सबै दाखिला भए पनि करिब ५० ओटा स्प्रे ट्यांकी गायब भएको र नक्कली किसान खडा गरी भरपाई मिलाइएको भरपर्दो स्रोतले जनाएको छ ।

असारमा भुक्तानी दिई ल्याइएको र लागत सहभागितामा किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउनुपर्ने स्प्रे ट्यांकीको वितरण साउनमा गर्दै रकम उठाएको र उठाएको रकम पनि भ्रष्टाचार गर्ने नियत देखिएको छ । नियमानुसार असारमा वितरण गरिएकोले किसानसित असारमै रकम उठाएर असारभित्रै नगरपालिकाको खातामा जम्मा हुनुपर्ने हो तर असारको नाउमा भरपाई गराएर रकम असुल गरे पनि उक्त रकम नगरपालिकाको खातामा जम्मा हुने नदेखिएकोले नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र जिन्सी प्रमुखले भ्रष्टाचार गर्ने नियत राखेको देखिएको छ ।

किसानबाट उठाइएको रकम नगरपालिकाको राजस्वमा जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन् । आफूले सबै काम नियमानुसार गरेको भए पनि केही मानिसले प्रतिशोध लिनका लागि आफूहरूविरुद्ध अफवाह फैलाउने काम गरिरहेको यादवको दाबी छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया