हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले २०७४ सालमा ठेक्कामा लगाएको हेटौँडा उपमहानगरपालिका–१७, कर्राखोलाको पुल ८ वर्षसम्म पनि निर्माण पूरा हुन सकेको छैन । तत्कालीन वडा–२० र २२ लाई जोड्ने गरी कर्राखोलामाथि पक्की पुल बनाउन जिल्ला समन्वय समितिले २०७४ असार ३० गते ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनीले एक चरणको काम सम्पन्न गरिसकेपछि भुक्तानीका लागि पूर्वाधार विकास कार्यालय भरतपुरलाई रिझाउन नसक्दा पुल निर्माणको काम ५ वर्षदेखि अलपत्र परेको छ । जिल्ला समन्वय समिति मकवानपुरले सो निर्माणकार्य १५ महिनाभित्र ५ करोड २६ लाख ६० हजार ४५६ रुपैयाँमा सम्पन्न गर्ने गरी ललितपुरको इलाइट-सपना-विन्ध्याचल जेभीसँग ठेक्का सम्झौता गरेको थियो । पूर्वाधार विकास कार्यालय भरतपुरले पुलको गुणस्तर परीक्षणका क्रममा तोकिएको गुणस्तर अनुसारको काम नभएको पाइएपछि भुक्तानी रोकेको कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीले बताए ।
‘हामीले परीक्षण गर्दा कम गुणस्तरको पाइएपछि ठेकेदार कम्पनीले यो मुद्दा नेपाल मध्यस्थता परिषद्मा लगेको थियो’, कार्यालय प्रमुख चौधरीले भने, ‘परिषद्ले छिट्टै यसको टुंगो लगाएपछि निर्माण कार्य अघि बढ्छ ।’
चौधरीका अनुसार गत वर्ष नै मध्यस्थता परिषद् समेतको सहभागितामा पुलको लोड टेस्ट सम्पन्न भइसकेको छ । ‘१–२ सुनुवाइपछि नै यसको टुंगो लाग्ला’, चौधरीले बताए ।
निर्माण कार्य रोकिए पनि बागमती प्रदेश सरकारले सो पुल निर्माणका लागि प्रत्येक वर्ष बजेट भने छुट्याउँदै आएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पुलको लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको थियो तर काम हुन नसक्दा बजेट फ्रिज भयो । ‘यस वर्ष पनि प्रदेश सरकारले सो कार्यका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ’, १७ नम्बर वडा सदस्य कृष्णबहादुर अधिकारीले भने, ‘तर कार्यालय र ठेकेदार कम्पनीको विवाद नटुंगिए यो पनि फ्रिज हुन्छ ।’
प्रिस्टेन्ड आरसिसी संरचनाको सो पुल निर्माण कार्य पुरा नहुँदा स्थानीयलाई वर्षायाममा आवतजावत गर्न समस्या भइरहेको छ ।
मकवानपुर
प्रतिक्रिया