काभ्रे । पाँचखाल नगरका ४ हजार ५०० कृषक एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) प्रविधिबाट खेती गर्दै आएका छन् । यहाँका कृषकले जैविक पद्दतिसम्बन्धी आइपिएमका चरणबद्ध तालिम लिएपछि सोहीअनुसार खेती गर्दै आएका हुन् । कृषकको क्षमता वृद्धि गराउनुका साथै रासायनिक विषादी कम गराई स्वच्छ फसल उत्पादन गराउने उद्देश्यले स्थानीयस्तरमा ‘कृषक पाठशाला’ सञ्चालन गरिएको थियो । ३ वर्षअघिदेखि सञ्चालित पाठशालाबाट हालसम्म ७५ वटा तालिम भइसकेका लवग्रीन नेपालका कार्यकारी प्रमुख नारायण ज्ञवालीले बताए ।
पहिलो वर्ष आधुनिक खेती प्रणालीका लागि दक्षता हासिल गरेका १ हजार ५०० कृषक थिए । दोस्रो वर्षमा ३ हजार र तेस्रो वर्ष ४ हजार ५०० कृषक पुगेका उनले बताए । उक्त संस्थाले वडास्तरमा कृषक पाठशाला सञ्चालन गरी उक्त संख्यामा आइपिएम प्रविधिमा खेती गर्ने दक्ष कृषक बनाएको हो । विशेषगरी आइपिएम प्रविधिअनुसार उत्पादित तरकारी अर्गानिक हुने प्रमुख ज्ञवालीले बताए । उनका अनुसार बालीमा शत्रुलाई मार्ने र मित्र जीवलाई बचाउनेलगायत जैविक विषादी निर्माण, प्रयोग विधि, उत्पादित तरकारीलगायत खाद्यान्न अर्गानिक हुने गर्दछ । संस्थाले हालै मात्र पाँचखाल–६ धोत्रामा सञ्चालित २३ हप्ते आइपिएम तालिम समापन गरेको छ ।
आइपिएम प्रविधि, कृषि विज्ञको सल्लाह तथा सुझावका आधारमा जैविक एवं आधुनिक तरिका अपनाउँदा उत्पादन वृद्धि भई नाफा हुन थालेको स्थानीय कृषक बताउँछन् । ‘रासायनिक विषादी हाल्दा महँगो र स्वास्थ्यलाई असर गर्ने हुन्छ । तालिमपछि स्थानीयस्तरमै उपलब्ध सामग्रीबाट घरमै जैविक मल र विषादी बनाएर प्रयोग गर्दा कम खर्चिलो र उत्पादनबाट केही नाफा बढेको छ’, धोत्रा कृषक समूहका अध्यक्ष पिताम्बर दनुवारले भने । उनका अनुसार पाँचखालमा तालिमप्राप्त कृषकले आइपिएम प्रविधिबाट खेत गर्दै आएका छन् ।
३ वर्षअघि आइपिएम तालिम लिएका पाँचखाल–६ का कृषक केदार ढुंगानाले स्थानीय तितेपाती, असुरो, खरानी, गाइभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेको बताए । ‘तालिम लिएपछि रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्न प्रांग्रारिक खेती गर्न थालेका हौँ’, उनले । कुन जीव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा हुने भएकाले कृषकले शत्रु जीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान र सीप पाठशालाबाट पाइएको ढुंगानाको भनाइ छ ।
आइपिएम प्रविधिको खेतीले पाँचखालमा उत्पादित विषादीरहित तरकारी उत्पादन हुँदा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर नगर्ने बताइएको छ । वडा–६ का वडाध्यक्ष रामशरण दुलालले विगतका वर्ष खेतीमा आधुनिकीकरण थाहा नपाएका कृषकलाई आइपिएम प्रविधि निकै प्रभावकारी रहेको बताए । पाँचखालमा उत्पादित तरकारी परीक्षण गरी बिक्रीस्थलको व्यवस्थापनतर्फ लाग्ने दुलालको भनाइ छ ।
संस्थाले पाँचखाल नगरलाई ‘विषादीरहित तरकारी उत्पादन हव’को रूपमा परिचित गराउने कार्यमा निरन्तर लागेको जनाएको छ । आइपिएम प्रविधि जानेका कृषकले नजानेका कृषकलाई सिकाउने अभियान थालिने ज्ञवालीले बताए । उनका अनुसार खेतीमा कुनै समस्या आएमा तत्काल खेतबारीमा पुग्ने प्राविधिककोसमेत व्यवस्था गरिएको छ । संस्थाले करिब ३ वर्षको अवधिमा माध्यमिकस्तरका ५ हजार २ विद्यार्थीलाई विद्यालयमा रासायनिक मल तथा विषादीको असर र त्यसको न्यूनीकरणका उपाय, दिगो कृषिको अवधारणालगायत विषयमा कक्षा सञ्चालन गरेको थियो ।
यसैबीच पाँचखालका कृषकलाई प्रयोगशाला केन्द्र (रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबिपिआर ल्याब)मा उत्पादित तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि नगरपालिकाले सबैमा अपील गर्दै आएको छ । केन्द्रमा करिब ४ वर्षदेखि जिल्लाको विभिन्न स्थानको तरकारीको नमुना संकलन गरी नियमित परीक्षण हुँदै आएको छ । संकलित नमुनाको विषादी अवशेष परीक्षण–मापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको जनाइएको छ । गत वर्षको परीक्षणबाट पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत (इमिसन रेट) सरदर ३ देखि ९ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेको देखाएको थियो ।
वाग्मती प्रदशेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधी, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख छ । काभ्रेपलाञ्चोसहित प्रदेशका चितवन, मकवानपुर, ललितपुर र नुवाकोटमा आरबिपीआर ल्याब रहेका छन् ।
प्रतिक्रिया