मैनाका हत्यारालाई नागरिक अदालत लैजाँदै छौं

Mandira-Sharma२०६० सालमा काभ्रेमा दुई युवतीलाई घरैबाट पक्राउ गरी यातना दिएर नेपाली सेनाले हत्या गर्‍यो । उनीहरूलाई तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा लागेको आरोप सेनाले लगाएको थियो । ती दुवै घटनामा मानवअधिकार उल्लंघन भएको थियो । हामी मानवअधिकारको पाटोबाट त्यो घटना हेरिरहेका थियौँ । हत्या गरिएका दुईमध्ये एउटी देवी सुनारकी भतिजी रिना रसाइली थिइन् । भतिजीलाई हत्या गरेको घटना बाहिर ल्याउन देवीले हामीलाई सहयोग गरेकी थिइन् । सेनाले यातना दिएर हत्या गरेकी किशोरीबारेको जानकारी बाहिर आएपछि देवीको ज्यान पनि जोखिममा छ भन्ने हामीले बुझेका थियौँ । त्यसमाथि संकटकालको समय । कतिबेला कस्तो घटना हुने हो, भन्नै नसकिने । काभ्रेको पाँचखाल घर भएकी देवीको सुरक्षा अवस्थाबारे हामी निगरानी गरिरहेका थियौँ । देवीकी भतिजीलाई घरैबाट निकालेर सेनाले हत्या गरेको थियो ।

देवी गाउँमा बचत समूहमा पनि हुनुहुँदो रहेछ । गाउँको अलि टाठोबाठो भएकाले पहिलेदेखि नै सेनाले उहाँलाई निगरानी गरेको रहेछ । देवीकी भतिजीको हत्या गरेको पाँच दिनपछि गाउँबाट फोन आयो, ‘देवीकी छोरी मैनालाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रबाट आएका सेनाले समातेर लग्यो ।’ ०६० को माघ महिना थियो त्यतिबेला । देवी माइतीमै हुनुुहुँदो रहेछ । भोलिपल्ट फेरि देवीले फोन गरेर ‘गाउँलेसहित तालिम केन्द्रमा जाँदा छोरी ल्याएको छैन भनेर फर्कायो’ भन्नुभयो ।
घरमै गएर एउटी निर्दोष किशोरीलाई पक्राउ गर्नु मानवअधिकार विरोधी घटना हो । एड्भोकेसी फोरममार्फत हामीले त्यो घटनालाई उठायौँ । हामी गएर बुझ्दा पनि पहिले पक्राउ नै नगरेको भने सेनाले । हामीले फलोअप छोडेनौँ । सेनालाई दबाब दिइरह्यौँ । लगातारको दबाबपछि पाँच महिनापछि मैनालाई पक्राउ गरेको स्वीकार गरे । ‘बाटोबाट भाग्न खोज्दा गोली हानी मारेको हो’ भनेर झूटो कारण देखाए । हामीले मानवताविरोधी त्यो घटना अन्तर्राष्ट्रिय स्तरमै उठाउन थाल्यौँ । त्यसपछि फेरि सेनाले ‘आन्तरिक अनुसन्धान गरेका छौँ’ भनेर टार्न लागे । हामीले मैनालाई यातना दिएर हत्या गरेको पुष्टि हुने पर्याप्त प्रमाण जुटाइरहेका थियौँ ।
दबाब निरन्तर भएपछि ‘ब्यारेकमा थुन्दा हिरासतमै मृत भेटिएको’ भनेर फेरि ढाँट्ने प्रयास गर्‍यो सेनाले । हामीलाई पनि यो घटना उठाएका कारण पटकपटक ज्यानको धम्की आइरहन्थ्यो । तैपनि, हामीले तथ्य पत्ता लगाएर कारबाहीका लागि दबाब दिन छोडेनौँ । अन्तत: सेनाले गरेको अनुसन्धानपछिको गोप्य दस्ताबेजले नै मैनालाई चरम याताना दिएर हत्या गरेको खुलासा भयो । पानीमा चोपलेर चिसो शरीरमा करेन्ट लगाएर हत्या गरेको दस्ताबेजले नै खोलेको छ । हत्या गरेपछि सामान्य मृत्यु देखाउन पछाडिबाट गोली हानेको र प्रहरीले मुचुल्का उठाएको पनि दस्ताबेजमै उल्लेख गरेको छ । नेपाली सेनाको गोप्य दस्ताबेज प्राप्त भयो । अन्तत: मैनाको शव पनि उत्खनन गरियो । अर्काेतर्फ पर्याप्त जानकारी भएपछि मैना सुनार हत्याकाण्डमा संलग्न भएका विरुद्ध नागरिक अदालतमा मुद्दा दायर गरिएको छ । (वार्तामा आधारित)

प्रतिक्रिया