नयाँ दिल्ली । भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन (एनडिए) ले बहुमत सीट जीतैसँगै प्रधानमन्त्री मोदीलाई संयुक्त राज्य अमेरिका, जनगणतन्त्र चीन, संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, युरोपेली संघ (ईयू), जापान र रूसले बधाई दिँदै नयाँ कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मोदीलाई उनको गठबन्धनको विजयका लागि बधाई दिएका छन् भने विदेश मन्त्रालयले अमेरिकाले उनीसँग स्वतन्त्र र खुला एशियामा थप सहकार्य गर्न चाहेको उल्लेख गरेको छ । बाइडेनले लेखेका छन्, ‘हाम्रो दुई देशबिचको मित्रता निरन्तर बढ्दै गएको छ ।’
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले प्रधानमन्त्री मोदीलाई आफ्नो प्रिय मित्रका रूपमा सम्बोधन गर्दै निर्वाचनमा प्राप्त गरेको विजयका लागि बधाई दिएका छन् । त्यसैगरी, चीनले मोदीलाई बधाई दिँदै आफ्नो छिमेकीसँग मिलेर काम गर्न तयार रहेको बताएको छ भने गठबन्धनको जीतको बेलायत,(ईय), जापान र रूसले पनि प्रशंसा गरेका छन् ।
हालै सम्पन्न लोकसभा निर्वाचनले उनको पार्टीलाई गठबन्धन सरकारमा सामेल हुने वातावरण बनेपछि उनले बिहीबारदेखि तेस्रो कार्यकालका लागि तयारी गरेका छन् । मोदीको दल भाजपा नेतृत्वको गठबन्धनले विगत एक दशकदेखि पूर्ण बहुमतका साथ शासन गरेको छ ।
नयाँ कार्यकालका लागि तयारी
उक्त समूह राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बुधबार अबेर सरकार गठनका लागि सहमति भएको घोषणा गरेको छ ।
भाजपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी सबैले सर्वसम्मत रुपमा आदरणीय एनडीए नेता नरेन्द्र मोदीलाई आफ्नो नेताको रूपमा चयन गरेका छौँ । गठबन्धनले संसदमा २९३ सिट जितेको र यो सरकार गठनका लागि चाहिने २८२ सीटभन्दा बढी सङ्ख्या हो । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले सम्भवतः शनिबार प्रधानमन्त्रीका रुपमा शपथ लिनुहुनेछ ।’
गठबन्धनको राजनीतिको माइनफिल्डमा मोदीको नयाँ निर्भरताको अर्थ उनले अपेक्षा गरेभन्दा निकै कठिन तेस्रो कार्यकालको सम्भावनाको सामना गर्नुपर्ने हिन्दुस्तान टाइम्सले बिहीबारको सम्पादकीयमा लेखेको छ ।
‘सहमति निर्माण नै शासनको आधारशिला हुनुपर्छ’, सम्पादकीयमा भनिएको छ, भाजपाले आफ्नो विस्तार योजनालाई पुनरवलोकन गर्नुपर्नेछ ।’ निर्वाचनको परिणाम सार्वजनिक भएसँगै ७३ वर्षीय मोदीले मंगलबार राति चुनावी परिणामले आफ्नो एजेन्डालाई निरन्तरता दिनका लागि जनमत दिलाएको बताए ।
मोदीले आफ्नो विजयपछि राजधानी नयाँ दिल्लीमा उत्साही समर्थकहरूको भीडलाई सम्बोधन गर्दै भने, ‘हाम्रो तेस्रो कार्यकाल ठूलो निर्णयमध्ये एक हुनेछ र देशले विकासको नयाँ अध्याय लेख्नेछ, यो मोदीको ग्यारेन्टी हो ।’
भाजपाले संसदमा २४० सिट प्राप्त गरेको छ, जुन पाँच वर्षअघि जितेको ३०३ सिटभन्दा निकै कम हो । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सन् २०२४ मा ९९ सीटमा विजयी बन्न सफल भएको छ यो सन् २०१९ को तुलनामा झण्डै दोब्बरले बढी हो । सन् २०१९ मा काङ्ग्रेसल ५२ सिट जितेको थियो ।– रासस, एएफपी
प्रतिक्रिया