जनकपुरधाम । मधेस प्रदेशमा जसपा नेपालको साढे ६ वर्ष लामो विरासत ढलेको छ । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश गठन भएयता पहिलो पटक जसपा नेतृत्वको सरकार ढलेको हो । बुधबार मुख्यमन्त्री यादवले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत नपुगेसँगै उनी पदमुक्त भएका हुन् । बहुमत सांसदले उनको विपक्षमा मतदान गरे । १०७ सदस्यीय मधेस प्रदेशसभामा बुधबारको बैठकमा १०३ जना उपस्थित थिए । विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा मुख्यमन्त्री यादवको पक्षमा ५० जना र विपक्षमा ५३ जना सांसद उभिए । यादवलाई सरकार जोगाउन कम्तीमा ५४ जना सांसदको समर्थन आवश्यक थियो ।
मुख्यमन्त्री यादवको पक्षमा उनको दल जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाका सांसदले मत दिए भने विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरे । मधेसमा एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ सांसद छन् । भने राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीका १÷१ सांसद छन् ।
संविधानको धारा १८८ को उपधारा (३) को (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्थाअनुसार मुख्यमन्त्री यादव पदमुक्त भएका हुन् ।
मुख्यमन्त्री यादवको दल जसपा नेपाल विभाजन भएपछि उनले विश्वासको मत लिनुपर्ने बाध्यता थियो । यस्तै, गत ३० वैशाखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा २२ जेठमा नेकपा एकीकृत ससमाजवादीले पनि सरकारबाट समर्थन फिर्ता लिएका थिए । २७ पुस, २०७९ मा मुख्यमन्त्री बनेका यादवले यसअघि ४ पटक विश्वासको मत लिइसकेका थिए । तर, पाँचौँ पटकमा भने उनी सत्ताच्यूत हुनुपर्यो ।
मुख्यमन्त्री यादवले एमाले र माओवादीले समर्थन फिर्ता लिएको मितिबाट गणना गरी ३० दिनभित्र विश्वासको मत लिनुपर्ने तर्क गर्र्दै २८ जेठमा विश्वासको मत लिने कार्यसूची राखिदिन भन्दै सभामुखलाई पत्र पठाएका थिए । तर, प्रतिपक्षी दलले मुख्यमन्त्रीको पार्टी जसपा नेपाल २४ वैशाखमा विभाजन भएको र सोही मितिबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने तर्क गरेपछि सभामुखले २८ जेठलाई सार्न नसकिने भने भनेपछि मुख्यमन्त्री यादवले विश्वास मत लिएका हुन् ।
जनमतको नेतृत्वमा सरकार गठनको तयारी
यससँगै मधेसमा सरकार गठनको प्रक्रिया सुरु भएको छ । संघको सत्ता गठबन्धनमा भएको सहमतिअनुसार मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्नेछ । यसअघि नै जनमत पार्टीले नेकपा माओवादी केन्द्र र नेकपा एमालेसँग सरकार बनाउने विषयमा सहमति गरिसकेको छ । जनमतले नेकपा एस र लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी गरेको छ ।
नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र अन्य साना दलसमेतका गरी ५६ सांसदको समर्थनमा जनमतका संसदीय दलका नेता महेशकुमार यादव मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन् । त्यसका लागि ५६ सांसदको हस्ताक्षर तयार गरेर बसेको जनमतका एक नेता बताउँछन् । मुख्यमन्त्री नियुक्त भएपछि २८ जेठमा विश्वासको मत लिने तयारीसमेत भएको बताइन्छ ।
२०७४ पछि पहिलो पटक जसपा सत्ताबाहिर
२०७४ सालमा भएको पहिलो प्रदेशसभा निर्वाचनपछि मधेस सरकार (तत्कालीन प्रदेश २) को नेतृत्व उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल (तत्कालीन संघीय समाजवादी फोरम, नेपाल) ले पाएको थियो । सो पार्टीबाट मुख्यमन्त्री बनेका मोहम्मद लालबाबु राउतले पूरै कार्यकाल अर्थात् ५ वर्ष नै सरकार चलाए । सो कार्यकालमा एउटै नेतृत्वमा पूरै कार्यकाल सरकार चलाउने मधेस प्रदेशमात्रै थियो ।
यस्तै, ४ मंसिर, २०७९ मा भएको दोस्रो प्रदेशसभा निर्वाचनपछि पनि जसपा नेपालकै नेता सरोजकुमार यादव मुख्यमन्त्री बने । पटक–पटकको गठबन्धन फेरबदलको सामना गर्दै ४ पटकसम्म विश्वासको मत लिन सफल भएका यादव पाँचौँ पटकमा असफल बने ।
यससँगै साढे ६ वर्ष लामो सत्तायात्राबाट जसपा नेपाल बाहिरिएको छ । अन्य प्रदेशमा जतिसुकै अस्थिरता हुँदा पनि नेतृत्वका हिसाबले प्रदेश गठनयताकै स्थिर रहेको मधेस प्रदेश पनि अब अस्थिर राजनीतिको चपेटामा परेको छ ।
प्रतिक्रिया