हिरामाण्डीको अर्को सिरिज आउने

नयाँ दिल्ली । बलिउड निर्देशक सञ्जय लीला भन्साली यतिबेला आफ्नो सिरिज ‘हिरामाण्डी’का कारण चर्चामा छन् । सिरिजले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सिरिज आएदेखि नै भन्सालीसँग सिजन २ पनि ल्याउनुपर्ने दर्शकहरूले माग गरिरहेका थिए ।

त्यतिबेला उनले यसमा कुनै प्रतिक्रिया दिएका थिएनन् । तर, हालै नेटफ्लिक्सले हिरामाण्डी सिजन–२ घोषणा गरेको छ । सिजन २ मा स्वतन्त्रता पछिको कथा देख्न पाइनेछ । हिरामाण्डीको पहिलो सिजन आलमजेबले ताजदारकी हजुरआमालाई उनी गर्भवती रहेको खबर सुनाएपछि सकिन्छ ।

सिजनको कथा लाहौर वरिपरि घुमेको छ । सिरिज स्वतन्त्रताको लडाईँ चरममा भएको बेलामा सकिन्छ । दोस्रो सिजन लहौरबाट निस्किएर कता पुग्छचाहिँ हेर्न रोचक हुनेछ । आगामी सिजन दिल्ली र मुम्बईका कोठामा केन्द्रित रहने अनुमान पनि गरिएको छ ।

‘हिरामाण्डी : द डायमण्ड बजारलाई दिइएको माया र प्रशंसाले म धन्य भएको छु । शो विश्वभरका दर्शकहरूसँग जोडिएको देख्दा खुसी लागेको छ । हामी सिजन २ सँग फर्किनेछौँ भनेर घोषणा गर्न पाउँदा म रोमाञ्चित छु’, सञ्जय लीला भन्सालीले भनेका छन् । दोस्रो सिजनमा सशक्त कथाको साथमा फर्किने नेटफ्लिक्स इन्डियाकी उपाध्यक्ष मोनिका शेरगिलले बताएकी छन् ।

प्रतिक्रिया