हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विद्यमान शिक्षा प्रणाली र पाठ्यक्रमले समय अनुकूल आवश्यकतालाई सम्बोधन गर्न नसकेको बताएका छन् ।
शुक्रबार प्रदेश राजधानी हेटौंडामा मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा सुरु भएको दुई दिने राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री जमकट्टेलले विद्यमान शिक्षा प्रणालीकै कारण देशमा शैक्षिक बेरोजगार बढ्दै गएको जिकिर गरे ।
उच्च शिक्षा अध्ययनका लागि बाहिरिने विद्यार्थीका कारण विशेषगरी ग्रामीण क्षेत्रका शैक्षिक संस्था धरासायी भएको उल्लेख गर्दै जमकट्टेलले भौतिक संरचनाका लागि पर्याप्त लगानी भए पनि विद्यार्थी पाउन मुस्किल हुँदै गएको अनुभव व्यक्त गरे । उनले भने, ‘हामीसँग प्रशस्त भवन छन् तर त्यहाँ पढ्ने विद्यार्थी छैनन् । शिक्षकले पारिश्रमिक पाउन सकेका छैनन् ।’
सरकारले दिने अनुदान सहयोगको स्वरुपमै परिवर्तन गर्नुपर्ने भन्दै उनले शैक्षिक संस्थाहरुको आवश्यकता एकातिर र अनुदानको क्षेत्र अर्कातिर हुँदा सामुदायिक क्याम्पसहरुलाई जोगाउनै मुस्किल भएको बताए । ‘शिक्षकलाई तलब खुवाउन नसकेर क्याम्पस बन्द गर्नुपर्ने अवस्था छ, सरकारले भवनमाथि भवन बनाउन अनुदान थपिरहेको छ, यो भएन ।’
मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा शुक्रबार सुरु भएको दुई दिने शैक्षिक सम्मेलनमा उच्च शिक्षाका चुनौतीहरु, रोजगारी सिर्जना, दिगोपन र कक्षा छाड्ने दर घटाउने सन्दर्भमा विभिन्न कार्यपत्रहरु प्रस्तुत हुँदैछन् । सम्मेलनमा देशभरका आङ्गिक, सामुदायिक तथा संस्थागत सहित ६० भन्दा बढी क्याम्पसका झन्डै ३०० प्राध्यापकहरुको सहभागिता रहेको छ ।
सम्मेलनले वर्तमान उच्च शिक्षाका चुनौतीहरुका सन्दर्भमा ३५ भन्दा बढी विविध विषयहरुमा खोज, अनुसन्धान तथा अनुभवहरुमा बहस हुने आयोजक मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यम सिलवालले जानकारी दिए ।
शुक्रबार र शनिबार हुने विभिन्न सेसनहरुमा मुख्य वक्ताका रुपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र विश्वविद्यालय अनुदान आयोगका सल्लाहकार प्रा. डा. हृदयरत्न बज्राचार्यले आआफ्ना धारणा प्रस्तुत गर्दैछन् ।
मुख्य वक्ताहरुको प्रस्तुति विश्व अनुभवका आधारमा नेपालका लागि शिक्षण विधि, अध्यापनका तौरतरिका, मूल्यांकन तथा परीक्षा प्रणालीका बारेमा केन्द्रित हुने आयोजकले जनाएको छ ।
मकवानपुर
प्रतिक्रिया