काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’ नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुने भएको छ । अमेरिकाको मेरिल्यान्डमा आयोजना हुँदै आएको महोत्सवमा ओपनिङ फिल्मको रूपमा जून २० मा ‘गाउँ आएको बाटो’ स्क्रिनिङ हुने भएको हो।
नवीन सुब्बा निर्देशित सो फिल्म २५ जेठ देखि नेपाल र डायस्पोरामा रिलिज हुन लागेको हो । फिल्म सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा सहभागिता जनाइसकेको छ ।
फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा फिल्मले पेश गर्छ । आमोद राई फिल्मका निर्माता हुन् ।
त्यस्तै, महोत्सव समापन फिल्मको रूपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुने भएको छ । भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भइसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।
वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गर्ने यो फिल्मले उत्कृष्ट समीक्षा पाएको छ । फिल्ममा सौगात मल्ल, बिपिन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा शीर्ष भूमिकामा छन ्। महोत्सवको यस वर्षको संस्करण जून २० देखि २३ (असार ६ देखि ९) सम्म आयोजना हुँदैछ ।
प्रतिक्रिया