आड्रियनका युद्ध विरोधी रचना

मेरो मस्तिष्क समाजवादी

मेरो दिल अराजकतावादी

मेरा आँखा शान्तिवादी

मेरो रगत क्रान्तिकारी

माइकल आड्रियनको पुस्तक ‘राइट द नाइटमेयर’को अंश हो यो । सन् १९७१ मा यसले सनसनी फैलिएको थियो । सोही समयदेखि उनको छवि विद्रोही कविको रूपमा थियो । सन् १९७० को दशकमा अंग्रेजी साहित्यलाई नयाँ आयाम दिने क्रममा माइकल आड्रियनको भूमिका महत्त्वपूर्ण थियो । तीनै आड्रियनको कविता मख्ख परेर सुन्नेको जमात त्यस समयमा कम्ती थिएन । उनका कविता जागरणका पर्याय ठहरिन्थे ।

आड्रियन आफ्नो समयमा चर्चित बेलायती कवि तथा नाटककारको छवि बनाउन सफल थिए । २४ अक्टोबर सन् १९३२ मा बेलायतमा जन्मिएका उनको कवितामा पाइने विविधताको चर्चा धेरै पछिसम्म हुने गरेको थियो ।

जोन माइकल केथिन फाबियनका छोरा आड्रियनको पारिवारिक जीवन भने अस्थिर रह्यो । यसकारण दोहोरो विवाह गरेका उनका श्रीमती सेलिया हेवेट र माउसि बुस हुन् । उत्कृष्ट कवि भएकै कारण सन् १९६१ मा एरिक जर्ज अवार्डसमेत उनले जितेका थिए । सन् १९६६ मा पेन ट्रान्सलेसन प्राइज पनि उनले पाएका थिए । सन् १०७१ मा उनले टोक्यो फिल्म फेस्टिबल अवार्ड पाए । सन् २००५ मा उनले सिएलपिइ पोयट्री अवार्ड जिते ।

उनी कविता र नाटक दुवै विधामा उत्तिकै जम्ने इंग्लिस लेखकको रूपमा रहेका छन् । एयर फोर्समा काम गरेका आड्रियनको टु हुम इट मे कन्सर्न सबैभन्दा चर्चित कविताको रूपमा रहेको छ । सेनामा आबद्ध भए पनि यिनका कविता युद्ध विरोधी रहे । उनका प्रायः कविता युवाहरूका लागि प्रेरणादायी मानिन्छन् ।

उनको बाल्यकालको शिक्षा मन्कटन कोबे स्कुलमा भएको हो । त्यहाँबाट ग्रिनबिच स्कुलमा सरेका उनले केटाकेटीमै ‘द एनिमल’ र ‘ब्रट ट्रस्ट’ दुई कविता लेखेर वाहवाह बटुलेका थिए । त्यसपछि डाउनेस्टी स्कुलमा पुगेका उनले त्यहाँ रहँदा नै थुप्रै नाटक लेखेर र मञ्चन पनि गरे ।

त्यसपछि क्राइस्ट चर्च कलेजमा भर्ना भएका उनी अक्सफोर्ड विश्वविद्यालयमा पढ्न पुगे । त्यही उनी एसिस म्यागेजिनका सम्पादक भए । अक्सफोर्ड विश्वविद्यालयमा पढाइ सकिएपछि उनी अक्सफोर्ड मेल पत्रिकाका रिपोर्टर भए । त्यसपछि उनी दैनिक पत्रिका स्ट्यान्डर्डमा आबद्ध भए । सन् १९६० मा उनले पत्रकारिता पेसा छाडेर साहित्यिक गतिविधिमा मात्र आफूलाई केन्द्रित गरे । सन् १९६२ मा उनले लेखेको नाटक ‘इफ यु सी मी’ कमिङ अत्यन्त चर्चामा रह्यो । त्यसपछि उनी युनिभर्सिटी अफ लोहामा राइटर वर्कसपमा प्रशिक्षक भए ।

सन् १९७० को दशकमा उनले लेखेका ३ नाटक वार टाइम, बडिगार्ड र म्यान फ्राइडे चर्चामा रहे । उनी त्यसपछि सेर म्यान थ्रिएटरका स्थायी लेखकको रूपमा आबद्ध भएका थिए । त्यसपछि उनी विलेसी कम्प्रिहेन्सिभ स्कुलमा लेखकको रूपमा रहे । सन् १९९५ मा विभिन्न विश्वविद्यालयमा नाटकका लागि फेलोसिप पाएपछि उनको सफलता अझ चुलिएको थियो । उनले सिएस लेविसको कथालाई परिमार्जित गर्दै ‘द लायन’ नाटक लेखेपछि यो अझ बढी चर्चामा रह्यो । उनले सन् १९९९ मा लेखेको ड्राफ्ट एज ए डुनोट अझ चर्चामा रह्यो । सन् १९९७ देखि सन् २००० सम्म उनले लेखेका कविता संग्रहको रूपमा अल सक अप प्रकाशित थियो । त्यसको चार वर्षपछि लेखिएका कविता संग्रह ‘द स्याडो’को रूमपा प्रकाशित भएको थियो । उनले विविध कृत्ति रचना गरे पनि ‘टु हुम इट’ कन्सर्न सबैभन्दा चर्चामा रहेको र सफल कृत्ति मानिन्छ ।

युद्धको विरुद्धमा व्यंगात्मक रूपमा लेखिएको यो कविता बारम्बार परिमार्जित भयो । यो अत्यन्त चर्चामा रहेपछि उनी संसारभर चिनिएका कविको रूपमा छवि बनाउन सफल भएका थिए । रेड पेपर म्यागजिनबाट स्याडो प्वेट लेट्ररको अवार्ड पाएका उनले पोयट्री बुक सोसाइटीबाट सबैभन्दा राम्रो बाल कविता बापतको अवार्ड जिते ।

माउरिस ब्रससँग पहिलो विवाह गरेका उनले ब्रसबाट ३ सन्तान डेनी, ब्रायोनी र एलिस्टरलाई जन्म दिएका थिए । पछि उनले सेलिया हेविटसँग विवाह गरे । सन् २००८ मा हृदयघातका कारण यिनको निधन भएको हो ।

कवि हुनुका बाबजुद उनले चलाएको आणविक हतियार विरोधी अभियान सधैँका लागि सबैका लागि स्मरणीय भएको छ । सन् २००२ मा उनलाई बेलायतको ‘सेडो पोयट लिट्रेट’ को उपमा दिइएको थियो । सन् २००५ मा भएको राष्ट्रिय कविता महोत्सवमा उनले प्रस्तुत गरेको ‘ ह्युम विङ’ त्यत्तिकै चर्चामा थियो ।
सन् १९६४ को इस्टर डेमा ट्राफलगर चोकमा धेरै मानिसहरूको भिडभाड थियो । आणविक हतियारको विरुद्धमा धेरै ठूलो प्रदर्शन भएको थियो । सोही प्रदर्शनमा आड्रियनको कविताले धेरैलाई सरकारसँग आक्रोशितसमेत तुल्याएको थियो । त्यस समयमा भिडलाई नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको थियो ।

युद्ध विरोधी उनको अभियान कहिले पनि रोकिएन । सन् २००३ मा ‘टेल मि लाइज’ अर्को प्रख्यात कविता थियो । संसारमा शक्तिमा हुनेहरूले झुटको खेती गर्दै युद्धलाई प्रश्रय दिएको उनको आशय थियो । अहिले संसारमा धेरै युद्ध बढिरहेको समयमा फेरि आड्रियनको कविता धेरैका लागि चासोको विषय भएको छ ।

प्रतिक्रिया