काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला ग्राम स्थापना तथा सञ्चालन अध्यादेश जति सक्दो चाँडो पारित गर्न अनुरोध गरेको छ । महासंघको कार्यालयमा आयोजित एक कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्ला र ११९ पालिकाहरुमा प्रकृतिअनुसारको हस्तकला ग्राम स्थापना तथा सञ्चालन अध्यादेश चाँडो पारित गर्न अनुरोध गरिको हो । महासंघले बागमतीका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठलाई सम्मान गरेको थियो । हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले प्रदेश स्तरीय हस्तकला नीतिको स्वीकृति, सार्क हस्तकला विकास केन्द्र संचालन, हस्तकला व्यापार तथा हस्तकला प्रतियोगिता संचालन, हस्तकला विश्वविद्यालय स्थापनामा प्रदेश सरकारको सहयोगको लागि आग्रह गरे ।
सो अवसरमा ३ वटै विभागीय मन्त्रीले प्रदेश भित्रका मन्त्रालय तथा कार्यालयहरुमा हस्तकलाको प्रयोग बढाउने, हस्तकला ग्राम स्थापना तथा सञ्चालन विधायक संसदबाट पारित गरी कार्यान्वयन गराउने, आगामी आर्थिक वर्षको वजेटमा सम्बन्धित संस्था कै नाम उल्लेख गरी बजेट विनियोजन गर्ने व्यवस्थाको थालनी गर्ने, हस्तकला नीति स्वीकृत गरी कार्यान्वयन गर्ने, वनजन्य उद्योगमा आधारित हस्तकला वस्तुकोलागि आवश्यक पर्ने कच्चापदार्थहरु काठ, ढुङ्गा सहज रुपबाट उपलब्ध गराउने आदि प्रतिवद्धता जनाए ।
प्रतिक्रिया