सडक विद्युतीकरणले झिलिमिली नगराइन

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाक्षेत्र अवस्थित जनकपुरधाम–जटही सिक्सलेन सडकखण्ड बीचमा भएको विद्युतीकरणले झिलिमिली हुँदा स्थानीय खुसी भएका छन् ।
नगराइन नगर क्षेत्रको प्रत्येक वडालाई विद्युतीकरण गर्ने योजनामा फड्को मारेको छ । विद्युतीकरण योजनाअन्तर्गत नगराइन नगरको सीमा क्षेत्रमा पर्ने जनकपुरधाम–जटही सिक्सलेन सडक खण्डमा बिजुली जडान गरिएको छ ।

नगराइन नगरपालिकाले जटहीदेखि गगुंली पुलसम्म विद्युतीय पोल लगाएर बिजुली जडान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले नगराइन नगरपालिकाको सीमा क्षेत्रमा जटहीदेखि गंगुली पुलसम्म ३९५ वटा पोल गाडेर सिक्सलेन सडकमा विद्युतीकरण गरिएको जनाए ।

उनका अनुसार सिक्सलेन सडकखण्डमा जडान गरिएको सबै ३९५ वटा पोलको दुवैतर्फ ५०–५० वाट् गरी एक सय वाटको चिम जडान गरिँदै छ । अधिकांश पोलहरूमा चिम जडान भएर परीक्षणसमेत भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत कर्णले चैतको अन्त्यबाट नियमित रूपमा कार्यान्वयनमा आउने बताए ।

जनकपुरधाम–जटही सिक्सलेन सडकखण्डअन्तर्गत विद्युतीकरण गर्न नगराइन नगरपालिकाले दुई करोड रुपैयाँ मूल्य बराबरको ई–बिडिङ गरेकोमा एमएस इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल कम्पनी बुटवलसँग १ करोड ४८ लाख रुपैयाँमा सम्झौता भएको नगराइन नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सिक्सलेन सडकको बिजुलीका लागि छुट्टै ट्रान्सफर्मरको व्यवस्थापन गरिदिन नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरसँग अनुरोध गरेको उनले बताए ।

सेन्सरजडित ट्रान्सफर्मर नगराइन चोकमा जडान हुनेछ । सेन्सर भएकाले दिनको समयमा विद्युत आपूर्ति आफैँ बन्द हुने उनको भनाइ छ । सिक्सलेन सडकका साथै पालिकाले प्रत्येक वडामा विद्युतीकरण योजनालाई अगाडि बढाएको छ ।

योजनाअन्तर्गत प्रत्येक वडामा ९ देखि १३ वटा पोलमा बत्ती जडान गरिने प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए । कुल नौ वटा रहेकोमा क्षेत्रफल र जनघनत्वअनुसार प्रत्येक वडामा नौ देखि १३ वटा पोल जडान गर्ने कार्य पनि अघि बढेको उनले बताए ।

नौ वटा वडामा १०१ टावरलाइट जडान गर्न १ करोड ४७ लाख रुपैयाँमा एमएस इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल कम्पनीसँग सम्झौता भएको छ । दुई करोडको ई–बिडिङ भएकोमा एमएस इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल कम्पनीले १ करोड ४७ लाख रुपैयाँमा सम्झौता गरेको नगराइन नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया