जलविद्युत्को नाफा घटे पनि सेयर मूल्य बढ्दै

काठमाडौं, ८ फागुन । जलविद्युत् उपसमूहको दोस्रो त्रैमासिकमा पहिलो त्रैमासिक जसरी नाफामा वृद्धि नभए पनि सेयर मूल्यमा वृद्धि जारी रहेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत चार कम्पनीमध्ये तीन कम्पनीको समग्र नाफा दोस्रो त्रैमासिकमा १४ प्रतिशतले घटेको छ । नेप्सेमा सूचीकृत अरुण भ्याली हाइड्रोपावर, बुटवल पावर कम्पनी र चिलिमे हाइड्रोपावर र नेसनल हाइड्रोपावर कम्पनी रहेका छन् । त्यसमध्ये नेसनल हाइड्रोपावर कम्पनीले लामो समयदेखि वित्तीय विवरण प्रकाशित गरेको छैन ।

जलविद्युत् कम्पनीले पहिलो त्रैमासिकमा १४ प्रतिशतले खुद मुनाफामा वृद्धि गरेको छ । गत आवको चौथो त्रैमासिकमा भने ५४ प्रतिशतले नाफामा वृद्धि गर्न सफल भएको थियो । तीन जलविद्युत् कम्पनीले दोस्रो त्रैमासिकमा कुल ६८ करोड २३ लाख ६० हजार रुपियाँ खुद मुनाफा गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ती कम्पनीले ७९ करोड ५० लाख रुपियाँ खुद नाफा गरेका थिए । अरुण भ्याली हाइड्रोपावर र चिलिमे हाइड्रोपावर दुवै कम्पनीले दोस्रो त्रैमासिकमा खुद मुनाफामा वृद्धि गरेका छन् तर बुटवल पावर कम्पनीले भने आफ्नो खुद मुनाफा घटाएका छन् । विदेशी विनिमय दरलाई समायोजन गर्दा एवं अत्यधिक ब्याज भुक्तानीका कारण बुटवल पावर कम्पनीको खुद नाफामा प्रभावित भएको हो ।
बुटवल पावरको नाफामा गिरावट आए पनि सेयर मूल्य भने बढिरहेको छ । गत साता यस बैंकको सेयरमा २० रुपियाँले वृद्धि भएर सात सय ७० रुपियाँ पुगेको छ । निकट भविष्यमा निष्काशन गर्न लागेको कम्पनीको हकप्रद सेयरका कारण सेयर मूल्य बढिरहेको एक सेयर विश्लेषकले बताए । तर, अरुण भ्यालीको सेयर भने गत साता १५ रुपियाँले घटेर ३ सय १५ रुपियाँमा सीमित भएको छ । कम्पनीले दोस्रो त्रैमासिकमा ३७ प्रतिशतले नाफा वृद्धि गरेको छ ।
त्यसैगरी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर गत साता ५७ रुपियाँ र आइतबार मात्रै ८८ रुपियाँले बढेर १२ सय १५ रुपियाँ पुगेको छ । ‘क’ वर्गके कम्पनीमा सूचीकृत हुन सफल चिलिमेको सेयर दोस्रो त्रैमासिकमा ८ प्रतिशतले बढेको हो । समग्र जलविद्युत् समूहको बजार पुँजीकरण ३० अर्ब रुपियाँ रहेको छ । यो कुल बजार पुँजीकरणको ६ प्रतिशत मात्र हो । कुल बजारको सानो हिस्सा मात्र जलविद्युत् क्षेत्रका कम्पनीहरूले ओगटेको हुनाले यस समूहका कम्पनीले राम्रो परिणाम सार्वजनिक गर्दा पनि समग्र बजारमा खासै ठूलो असर नपर्ने एक विश्लेषकले बताए । जलविद्युत् कम्पनीले निश्चित दरमा विद्युत् बेचेर निश्चित रकम आम्दानी गर्ने हुँदा लगानीकर्ता जलविद्युत् कम्पनीको सेयर बढी मूल्य तिरेर किन्न राजी हुन्छन् किनकि प्राय: जलविद्युत् कम्पनीले बैंक ब्याज दरभन्दा माथि नै प्रतिफल पनि दिने गर्दछ ।
अघिल्लो वर्षको प्रतिफलको आधारमा भन्नुपर्दा चिलिमे, बुटवल पावर र अरुण भ्याली तीनै कम्पनीले लगानीकर्तालाई राम्रो प्रतिफल दिएका छन् । चिलिमेले २० प्रतिशत नगद र ३० प्रतिशत बोनस सेयर, बुटवल पावर कम्पनीले २५ प्रतिशत नगद लाभांश र अरुण भ्यालीले १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७५ प्रतित नगद लाभांश दिएका दिए । जलविद्युत् समूहको औसत मूल्य आम्दानी अनुपात ४२ गुणा रहेको छ । यसले जलविद्युत् कम्पनीको सेयर किन्न लगानीकर्ताले वास्तविक मूल्यको ४२ गुणासम्म तिर्न राजी रहेको देखाउँछ ।

प्रतिक्रिया