लुकेको महिला हिंसा

Da.-Tikaram-poudel-1महिला हिंसाको सवाल यतिबेला राष्ट्रिय बहसको विषय बनिरहेको छ । महिला हिंसा अन्त्य (न्यूनीकरण) गर्ने उद्देश्यले पछिल्ला वर्षहरूमा हरेक वर्ष महिला हिंसाविरुद्धको सोह्रदिने अभियान सञ्चालन गरिँदै आएको छ । त्यसो त महिला हिंसाविरुद्धको ऐन, २०६६ पनि आइसकेको छ । तर, जति अभियानहरू सञ्चालन भइरहेका छन्, जति कानुनहरू बनिरहका छन् र जति प्रहरी र प्रशासनको सक्रियता बढ्दो छ उति महिला हिंसाका घटनाहरू झन्झन् वृद्धि भइरहेका छन् । जति हिंसा रोक्ने उपायहरू अवलम्बन गरिँदैछ त्यति नै हिंसाका घटनाहरू बढ्नाले मानवअधिकारकर्मी, पत्रकार र नागरिक समाज सबैलाई आश्चर्यचकित बनाएको छ भने सरकार, प्रशासन र प्रहरीलाई महिला हिंसाका घटनामा भएको वृद्धिले झनै चुनौती थपिदिएको छ । आफ्नै परिवारका सदस्यहरूबाटै महिलाहरू बलात्कृत हुने र हत्या गरिनेसम्मका गम्भीर र कहालीलाग्दा घटनाहरूले सिंगो मुलुकलाई गम्भीर र स्तब्ध बनाइरहेको छ यतिबेला । हिंसा गर्नेमाथि कारबाही गराउन मानवअधिकारकर्मीले बालुवाटार र सिंहदरबार घेर्नेदेखि लिएर सडक तताउनेसम्मका काम गर्नाले सरकारलाई पनि यो टाउको दुखाइको विषय नै भएको छ ।
आखिर किन भइरहेको छ त महिला हिंसाका घटनामा वृद्धि ? यसका तीनवटा कारणहरू छन्, पहिलो कारण हो दण्डहीनतालाई प्रश्रय । विगतमा महिला हिंसा गर्नेलाई कडा कारबाही गर्न नसकिएकाले नै हिंसाका घटनामा वृद्धि भइरहेको छ । दोस्रो कारण हो पुरुषवादी दम्भ र महिला हिनताबोध । कानुनी दस्तावेजमा हिंसा गर्न पाइँदैन भने पनि पुरुषको सोचमा भने हिंसा गर्न पाइँदैन भन्ने परिवर्तन आउनै सकेन । अघोषित रूपमा पुरुषले हिंसा गर्ने अधिकार नै हो र महिलाले हिंसा सहनु उसको कर्तव्य हो भन्ने सोच पुरुषमा रह्यो । पुरुषले हिंसा गरेर पुरुषार्थ देखाउनुपर्छ र महिलाले हिंसा सहेर मर्यादापालक बन्नुपर्छ भन्ने समाजिक सोच अझै पनि हाम्रो समाजमा बाँकी छ । तेस्रो हो घटनालाई बाहिर ल्याउने परिपाटीको विकास । एकातिर पुरुष मानसिकतामा परिवर्तन नआएका कारण महिला हिंसाका घटना निरन्तर भइरहेका छन् भने अर्कोतर्फ महिला अधिकारकर्मीले यस्ता घटनाहरूलाई बाहिर ल्याउन गरेको प्रयासका कारण यस्ता घटनाहरू बाहिर आइरहेका छन् । विगतमा हिंसा हुने भए पनि घरभित्रै लुकाइने गर्दा हिंसाका घटनाहरू बाहिर आएका थिएनन् । त्यसैले यतिबेला घटनाहरू लुकाउने मानसिकतामा परिवर्तन भै सार्वजनिक गर्ने गरिएकाले पनि हिंसाका घटनाहरू वृद्धि भएको देखिएको हो । तर, अझै पनि महिला हिंसाका सबै घटना बाहिर आइसकेका भने छैनन् । महिला हिंसाको अर्को स्वरूप अझै पनि हाम्रो समाजभित्र लुकिरहेको छ, त्यो हो महिला भावनामाथिको हिंसा । जुन बाहिर आइरहेका घटनाभन्दा कम गम्भीर छैनन् । यी लुकेका र लुकाइएका घटनाहरूमा समाजको आँखा नै पुगेका छैनन् । अझ भनौँ कुटपीट र बलात्कारलाई मात्र हिंसा देखियो भने त्यस्ता लुकेका घटना बाहिर आउन अझै समय लाग्ने छ ।
तर, नेपाली नारीको कथाव्यथा भौतिक हिंसाको मात्र होइन, भावनात्मक हिंसाको पनि हो । के भावनाको हिंसाचाहिँ हिंसा होइन ? यदि भावनाको हिंसा पनि हिंसा नै हो भने नारीको भावनामाथि हिंसा गर्नेलाई संविधान, ऐन र कानुनको कुन धारा उपधाराले उपचार देला ? नारीको भावनामाथि भएको हिंसाको पीडा शरीरमा भएको हिंसाको पीडाभन्दा सयांै गुना गहु्रँगो हुन्छ, त्यो हिंसाको पीडा न अदालतले बुझ्छ, न समाजले बुझ्छ, न आफन्तले बुझ्छ । बुझ्छ भने मात्र त्यो नारीले बुझ्छे, जुन नारीका भावनाहरू हरेक रात, दिन, साँझ, बिहान, घन्टा घन्टा र मिनेट मिनेटमा बलात्कृत भइरहेका छन्, त्यो पनि सबैभन्दा आफ्नै भनिएकाहरूबाट । समाजमा नारीको भौतिक शरीरमा संख्यात्मक रूपमा जति हिंसा हुन्छन् त्यो भन्दा सयौं गुना बढी हिंसा नारीहरूका भावनामाथि भइरहेको छ र हिंसा गर्नेमा सबैभन्दा बढी सँगै मर्ने सँगै बाँच्ने कसम खाएका सभ्यताको पगरी गुतेका पति परमेश्वर हुन्छन् । तथ्यांक हेर्ने हो भने ग्रामीण समाजमा बढी हुने भौतिक हिंसा अर्धशिक्षित, अर्धबेरोजगार र अधबैँसे पुरुषहरूबाट अशिक्षित, बेरोजगार, अबोध नारी र बालिकाहरूमाथि हुने गरेको देखिन्छ भने यसको विपरीत सहरमा बसेर भावनाको हिंसा गर्नेहरू चाहिँ शिक्षित, संभ्रान्त, धनाढ्य र परिपक्व उमेरका पति परमेश्वर छन् । अज्ञानताको अन्धकारले आफूलाई थिचेकाले भौतिक हिंसा गर्नेहरू अवोध नारीमाथि हिंसा गर्न पुग्छन् भने ज्ञान र विवेकको घोडा चढेर सभ्य भनिएको टाइसुटधारी सहरी मनुष्य आफ्नी जीवन संगिनीको भावनामाथि हिंसा गर्छन् ।
एक्काइसौं शताब्दीलाई मानव अधिकारको युग पनि भनिन्छ । त्यसैले आजकल महिला अधिकारका कुरा धेरै गरिन्छन् । यदाकदा भाषणहरूमा पितृसत्तात्मक समाजको विरोध पनि गरिन्छ । कुनै पुरुषले अवोध नारीमाथि बलात्कार गरेको, श्रीमान्ले श्रीमती कुटेको, सासूले बुहारी पिटेको, दाइजो नल्याएको निहुँमा बुहारीलाई घरबाट निकालिएको, बोक्सीको आरोपमा यातना दिएको वा हत्यासम्म गरिएको विषय महिला मानवअधिकारकर्मीका जल्दाबल्दा मसला हुने गर्छन् । कुनै घटना पाइहाले केही दिनका लागि नारा, जुलुस, धर्ना, दबाब र समाचार माध्यममा अन्तर्वार्ता अधिकारकर्मी महिलाका दिनचर्या नै हुन्छन् । तर, आफ्नै पतिले आफ्नी पत्नीको भावनामाथि गरेको निर्लज्ज हिंसाहरू किन अधिकारकर्मीको आँखामा पर्दैनन् ?
हाम्रो परम्परागत समाजमा अझै पनि महिला पुरुषसँग आश्रित छन् । विवाहमण्डपमा परपुरुषलाई आफ्नो पुरुष बनाएर ‘मारे पाप पाले पुण्य’ भनी पतिलाई नै सर्वस्व मानेर पतिको घरमा भित्रिएकै दिनदेखि नारीका भावनाहरूको फुटबल खेलिन्छ । नवविवाहिता नारी पतिगृहमा नारी अनुशासनको बन्धनमा जकडिन्छे अनि पुरुषचाहिँ साथी भाइसँग नवदुलहीसँगको अनुभव बाँड्दै मनोरञ्जनको दुनियाँमा रम्छ । पतिलाई जीवनको सर्वश्व मानेपछि आफ्नो सर्वश्व जीवनसाथीबाट नारीले के चाहना राख्ली ? आफूलाई पहिलो दर्जाको र पत्नीलाई दोस्रो दर्जाको नठानोस्, हरेक घरायसी कुरामा पतिले पत्नीलाई पनि सहभागी गराओस्, नारीलाई बच्चा जन्माउने यन्त्र वा यौन मनोरञ्जन गर्ने साधन होइन कि प्रेमकी र सृष्टिकी प्रतीक ठानोस्, घरमा खाना बनाउने भान्से, घर सफा गर्ने कुचिकार र घर सुरक्षा दिने सुरक्षागार्ड होइन कि हरेक पाइलमा सँगै पाइला चाल्ने सहयात्री ठानोस् । अपवाद बाहेक सबै नारी यस्तै चाहन्छन् । तर, के नेपाली समाजको नारीको प्रतिविम्ब यस्तै छ त ? मध्यरातसम्म ठमेलका बारमा रमेर भुइँमा खुट्टा पनि नटेकिने गरी हल्लिँदै घर पुग्ने पतिको व्यवहार कुनचाहिँ नारीलाई मन पर्ला ? आफूले परपुरुषसँग बोल्दासमेत चरित्रको बात लगाउने आफ्नो पतिले परस्त्रीलाई च्यापेर नगरकोट घुम्न गएको देख्नु र सुन्नुपर्दा कुनचाहिँ नारीको मन थामिएला ? नारीलाई पनि घुम्न र मनोरञ्जन गर्न मन लाग्छ भन्ने कुरा चटक्क बिर्सी आधारातसम्म घरमा खाना पर्खाएर आफूचाहिँ बारमा रमाउँछ भने के त्यहाँ पतिले पत्नीको भावनामाथि हिंसा गर्दैन ? अनि यी हिंसाहरू के नारीमाथि भएका भौतिक हिंसाभन्दा कम पीडादायी छन् ? तर, न्याय र क्षतिपूर्ति खै ? कुन कानुनले यस्ता पीडकलाई सजाय दिन्छ ? जो नारीको भावनामाथि हिंसा गर्छन् । कुन कानुन छ, जो नारीका बलात्कृत भावनाहरूलाई राहत दिन्छ ? मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, प्रहरी, प्रशासन, सभ्यताको खोल ओढेका पुरुष, अनि नयाँ नेपालको गोरेटो कोर्ने ठेक्का पाएका राजनीतिक दल कोसँग यसको उत्तर छ ? छैन भने नारी आफैँले आफ्ना भावनामाथि खेलबाड गर्ने पुरुष, जो कानुनबाट सधैँ उन्मुक्ति पाउँछन्, तिनीहरूको हुँकारविरुद्ध उभिने अब बेला भएन र ?

प्रतिक्रिया