जनकपुरधाम । पटकपटक टुटफुटका सिकार भएर पुनःनिर्माण गरिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा पुनः विद्रोह हुने सम्भावना बढदो रहेको छ । मधेस आन्दोलनको क्रममा जनताको क्रोधको चपेटामा परेर मृत्यु भएका असई थमन विकको मुद्दामा अदालतले मधेस प्रदेशका पूर्वराज्यमन्त्री तथा प्रदेश सांसद अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला सुनाउँदा पनि लोसपाको मौनताले पार्टीमा विद्रोहको सम्भावना बढदै गएको हो । लोसपाका केन्द्रीय महासचिवसमेत रहेका अभिराम शर्माको सवालमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा होमिन सार्वजनिकरूपमै विज्ञप्ती प्रकाशित गरे पनि महन्थ ठाकुरले लोसपा तत्कालै सरकारबाट नबाहिरिने स्पष्टरूपमै बताउँदा लोसपामा पुनः विखण्डन हुने समस्या देखिएको छ ।
महन्थ ठाकुरले भरखरै गरेको कार्यसमितिको पुनःर्गठनमा ठाकुरकै समर्थकहरूको कार्यसमितिमा कव्जा देखिएपछि पार्टीका वरिष्ठ नेताद्वय अनिल कुमार झा र राजेन्द्र महतोले सार्वजनिकरूपमै विरोध जनाइसकेका छन् । भरखरै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा दुबै नेताले सहभागितासमेत नजनाउँदा पार्टीमा विरोधको स्वर उच्च रहेको अनुमान लगाउन सकिन्छ । पार्टीका महासचिव अनिल कुमार महासेठ (महासचिव) पदबाट राजीनामा दिए पनि सदर नगरिएको)ले पार्टी टुटफुटको सम्बन्धमा सबै कुरा महन्थ ठाकुरमाथि निर्भर रहेको बताए ।
‘केन्द्रीय बैठकमा महत्वपूर्ण नेता उपस्थित नभए पनि निर्णय गरिनु यी कुराहरूबाट पार्टीको अवस्थाको विषयमा अनुमान लगाउन सक्नुहुन्छ’, उनले भने । महासेठले पार्टीमा खण्डन विखण्डनको कुरा होइन, तर कुनै पनि क्रियाकलाप भए पार्टीकै अध्यक्षको कारणले हुने उनले बताए । महासेठले आफ्नो फेसबुक स्टाटसमा लेखेको छन्, ‘आफैँ धामी अनि आफैँ झाक्री ! गठन, पुनर्गठन र विघटन ! सर्वेसर्वा आफैँ हुने, प्रदेश सरकार पनि समयसमयमा काजमा गएर जनकपुरधाममा बसेर आफैँ चलाउने अनि जिम्मेवारी अर्कोले लिइदिनुपर्ने ! गजब पो छ ! हरे प्रभुको लीला अपरम्पार ! हामी सबैको जय होस ! चिसो महिनामा कस्तो राम्रो आकाश खुलेको है ?’
यता लोसपाका केन्द्रीय महासचिव परमेश्वर साहले पार्टीमा सहमति असहमति राख्नु स्वभाविकै कुरा रहेको बताउँदै केन्द्रीय बैठकमा उपस्थिति नहुँदैमा पार्टी विखण्डन हुने जुन किसिमको बाहिर हल्ला चलेको छ त्यो हल्ला मात्रै रहेको बताए । उनले पार्टीका महत्वपूर्ण नेतामाथि परेको आपतको विषयमा पार्टी गम्भीर रहेको बताउँदै छिट्टै यसको निक्र्याैल निकालिने बताए । पार्टी अहिले आन्तरिक छलफलमा रहेकोले मौन देखिएको बताउँदै महासविच साहले अदालतको आदेशसम्बन्धी छिट्टै पार्टीको बैठक बसी निर्णय गरिने बताए ।
जनता समाजवादी पार्टीबाट अलग भएर पार्टी गठन गरिएको लोसपाले सम्पन्न निर्वाचनमा अपेक्षाभन्दा पनि कम सिट ल्याएपछि पार्टी कमजोर बनेको भनेर आँकलन गरियो । कमजोर आँकलन गरिए पनि लोसपा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठबन्धनमा सामेल मात्रै होइन, सरकारमा सहभागीसमेत बने । तर महन्थ ठाकुरले कार्यसमितिको पुनः गठन गरेपछि पार्टीभित्रै आन्तरिक विवाद बढेको देखिएको छ । पार्टीभित्रै वरिष्ठ नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल कुमार झाको फरक विचारले गर्दा पार्टी कमजोर बन्दै गएको छ ।
अलग्गै जान खोजेका शरतसिंह भण्डारीलाई केन्द्रको मन्त्रालय जिम्मा दिएर उनलाई रोके पनि निर्वाचनमा हार बेहोरेका राजेन्द्र महतो र अनिल कुमार झालाई अध्यक्ष ठाकुरले आफ्नो पक्षमा ल्याउन सकेका छैनन् । यति मात्र होइन, कार्यसमिति पुनःर्गठन गर्दा पार्टीका पुराना नेताहरू रमन पाण्डेय, राजीव झा लगायतका थुप्रै नेताहरूलाई किनारा लगाइएको छ । केन्द्रीय तहसम्म पुगेका यी नेताहरूलाई केन्द्रीय त परै जाओस् जिल्लामा पनि सहभागी नगराउँदा लोसपालाई महन्थ ठाकुरको भजन मण्डली रहेको भनेर आरोपसमेत लगाइएको छ ।
यस सन्दर्भमा लोसपाका महासचिव परमेश्वर साहले रमन पाण्डेयप्रति पार्टी सकारात्मक रहेको र उनीमाथि पुनः विचार गरिने भएको बताए । उनले भने, ‘पार्टीको हित विपरीत कार्य गरेको भन्दै तत्कालीन केन्द्रीय नेता राजीव झालाई तत्कालीन लोसपाको धनुषा कार्यसमितिले २०७९ मंसिर १८ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको र त्यसको सिफारिस केन्द्रमा पठाइएको थियो । सोही कारणले नेता झालाई कार्यसमितिमा समावेस नगरिएको हुन सक्छ ।’ गम्भीर आन्तरिक विवादमा रहेका लोसपामा थमन विक मृत्यु प्रकरणमा पार्टीकै दोस्रो दर्जाका महासचिव रहेका अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएपछि तरंग उत्पन्न भएको छ ।
मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते बिहान जलेश्वरमा केही व्यक्तिहरूले सशस्त्र असई थमन विकलाई कुटपिट गरी घाइते बनाएकोमा उनको उद्धार गरी जलेश्वर अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि जनकपुरधाम लग्ने क्रममा महोत्तरी गाउँपालिकाको सोनुषडास्थित धान खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । भदौ २३ गते नै सुरक्षाकर्मीको गोलीबाट चार जना आन्दोलनकारीको मृत्यु भए लगत्तै प्रशासनको तर्फबाट कफ्र्यु लगाइएकोमा भदौँ २५ गते बिहान दुई घन्टाको लागि कफ्यु खोलिएपछि सो घटना भएको थियो । यी दुई घटना सेलाउन नपाउँदै पहिलो दिन सुरक्षाकर्मीको गोलीबाट मारिएका रोहन चौधरीका हजुरबुबा गणेश चौधरी र एक महिला आन्दोलनकारीलाई समेत सुरक्षाकर्मीबाट गोली हानिएको थियो ।
यस मुद्दाको सम्बन्धमा महन्थ ठाकुरले सरकारबाट फिर्ता आउने सम्भावना नरहेको बताउँदा ठाकुर पक्षकै नेताहरू उनको विरुद्धमा रहेको देखिएको छ । एकातिर ठाकुरले आन्दोलनको छाँटकाँट नरहेको बताइरहँदा लोसपाका केन्द्रीय उपाध्यक्ष रानी शर्मा तिवारीले उनले जन्मकैद सुनाइएका सबै सात जना मधेसी नेता मधेसको हिरो भएको बताइन् । उनले अदालतको फैसला नसच्याइए मधेसमा ठुलो आन्दोलन हुने र त्यसको क्षति सरकारले नै बेहोर्नुपर्ने अभिव्यक्ति दिइन् । त्यसैगरी केन्द्रीय महासचिव तथा पूर्व सांसद परमेश्वर साहले अदालतको अन्यायपूर्ण फैसलाको मधेसमा विरोध हुनेमा दुई मत नभएको बताए ।
उनले आन्दोलनको समय भएको मृत्युलाई अदालतले हत्याभन्दा सोही आन्दोलनमा सुरक्षाकर्मीबाट मारिएका आन्दोलनकारीको हत्याको न्यायसमेत हुनुपर्ने बताए । केही दिनदेखि महन्थ ठाकुरदेखि रिसाएका राजेन्द्र महतो पक्षधर लोसपाका केन्द्रीय महासचिव अनिल कुमार महासेठले राजनीतिक आन्दोलनमा यस किसिमका फैसला आउनु अन्याय रहेको बताए । राज्यको नश्लीय व्यवहार कायम रहेको अभिव्यक्ति दिँदै उनले पार्टीका गार्जियन पनि मुद्दाको सम्बन्धमा केही खासै चासो नलिएको बताए । उनले भने, ‘गार्जियन भएर अगाडि नआउनु दुःखद् रहेको छ, पार्टीका नेताको राजनीतिक भविष्य समाप्त पार्ने खेल भइरहँदा यस सम्बन्धमा बैठकसमेत बसेको छैन ।’ सरकारबाट तत्कालै फिर्ता भएर यस विषयमा गम्भीर बैठक हुनुपर्ने धारणा राखे ।
पाँच पार्टीबाट एकजुट भएर बनेका राष्ट्रिय जनता पार्टी उपेन्द्र यादवको समाजवादी पार्टीसँग एकीकृत भई जनता समाजवादी पार्टी बनाएका थिए । तर पुनः लोसपा बन्दा राजपाका मुख्य नेताहरू मध्ये राजकिशोर यादव र महेन्द्र राय यादव जसपा नै रोजे यसरी लोसपाका दुई मजबुत पिलर ढलेपछि कमजोर बन्दै गएका पार्टीमा महन्थ ठाकुर हावी भएपछि आन्तरिक कलह सुरु भएको छ । मधेसका लागि महत्वपूर्ण दलको रूपमा रहेको लोसपामाथि मधेसी जनताको विश्वास अहिले पनि कायम रहेको अवस्थामा पार्टीमा भएको किचिलो समाप्त गरी मजबुत भएर आउनुपर्ने पार्टीका कार्यकर्ताहरूको भनाइ छ ।
जनकपुर
प्रतिक्रिया