प्रहरी समायोजनमा केन्द्रले आनाकानी गरे आन्दोलन हुने : मुख्यमन्त्री यादव

बारा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा प्रहरी समायोजनका लागि प्रधानमन्त्रीसँग पटकपटक अनुरोध गरेको र यसपालि पनि प्रहरी समायोजनमा केन्द्र सरकारले अनाकानी गरेमा काठमाडौंको माइतीघर मण्डलाबाट आन्दोलन हुने चेतावनी दिएका छन् ।

बारागढी गाउँपालिकाको प्रशासकीय भवनको समुद्घाटन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेश थलापर्नुमा केन्द्र सरकार नै दोषी रहेको बताए । मधेस प्रदेश मात्र होइन संघीय संरचनामा देश गए तापनि अहिले पनि केन्द्र सरकारले मुलुकभरिको साँचो केन्द्रमा राखी देशभरीका नेपाली जनतालाई संघीयताको नाममा ललीपप देखाउने काम मात्र गरेको उनको आरोप रहेको थियोे । साथै आफू मुख्यमन्त्री भएको १० महिनाको कार्यकालमा प्रधानमन्त्रीसँग पटकपटक भेट गरी संघीयता कार्यान्वयनका लागि पहल गर्दा पनि सघीय सरकार कानमा तेल हालेर बसेको उनको आरोप रहेको थियो । मुख्यमन्त्री यादवले शनिबार प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको बताउँदै भेट्पछि पनि सरकार जिम्मेवार नदेखिएमा मुलुकभरि शान्तिपूर्ण आन्दोलन गर्ने उनले चेतावनी दिए ।

कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं. १ का निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले यस पालिकामा गुणस्तरीय शिक्षाको लागि अगाडि बढेर काम गर्न गाउँपालिका अध्यक्षलाई आग्रह गरे । विकास निर्माणको काममा सबै जना हातेमालो गरी काम गर्न र विकासको फड्को मार्नसमेत उनले आग्रह गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साह, मधेस प्रदेशका पूर्व अर्थ राज्यमन्त्री उषा यादव, देवताल गाउँपालिकाका अध्यक्ष उदय यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव लगायतकाले गाउँपालिकाको प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बारागढी गाउँपालिकाका अध्यक्ष अशोकप्रसाद जैसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत सुनील केसरी र कार्यक्रम सञ्चालन जसपाका युवा नेता दयाशंकर रायले गरेका थिए । उक्त भवन ५ करोड ७६ लाख ३२ हजार ५४ रुपैयाँमा महावीर, भूपेन्द्र र दिवा कन्ट्रक्सनले सयुक्त रूपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया