इलाम । माङसबेङ गाउँपालिका इलामको माङसेबुङमा जारी १६ औं संस्करणको आत्मानन्द कपको फाइनल प्रवेश गरेको छ । मंगलबार प्रस्तावित आत्मानन्द रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सिरीजंगा स्पोर्टिङ क्लब मोरङ विरुद्ध २–१ गोलको नजिता निकाल्दै माङसेबुङ उपाधि नजिक पुगेको हो ।
माङसेबुङको जितमा गौरव धिमाल र सक्सेस राईले एक÷एक गोलको योगदान गरे । सिरिजंगाका लागि पारस कार्कीले सान्तवना गोल फर्काए । खेलको ३२ औं मिनेटमा माङसेबुङका गौरव धिमालले गोल गर्दै सुरुवाती अग्रता दिलाए । माङसेबुङले पाएकफ फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै धिमालले जाली चुमाए । पहिलो हाफमा अग्रता लिएको माङसेबुङले दोस्रो हाफको सुरुवतामा नै अग्रता दोब्बर बनायो । दोस्रो हाफको चौथो मिनेटमा माङसेबुङका सक्सेस राईले गोल गरी टिमलाई अग्रता दिलाए ।
सिरीजंगाले ३९ औं मिनेटमा एकमात्र सान्तावना गोल फर्कायो । सिरीजंगाका पारस कार्कीले गोल गर्दै अग्रता घटाएका थिए । यो हारसँगै डिफेन्डिङ च्याम्पियन छथर तेह्रथुमलाई हराएको सिरीजंगा समेत प्रतियोगिताबाट बाहिरियो । खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङका गोलकिपर आयुस लिम्बू घोषित हुँदै नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
बुधबार दोस्रो सेमिफाइनलमा तिजोक युवाक्लब पाँचथरले विदेशी टिम मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारतको सामना गर्नेछ । गोल्डकपको विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचले समेत नगद पुरस्कार पाउनेछन् । गोल्डकपको फाइनल आइतबार हुनेछ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता थियो ।
इलाम
प्रतिक्रिया