इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले विद्यावारिधी अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । माङसेबुङले आफ्नो पालिकाबासी नागरिकलाई नेपालको कुनै विश्वविद्यालयमा विद्यावारिधी अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो । गाउँपालिकाले एक सूचना प्रकाशन गरी छात्रवृत्तिका लागि आवेदनसमेत माग गरेको छ ।
माङसेबुङ गाउँपालिकाको छात्रवृत्तिसम्बन्धी ऐन २०८० बमोजिम विद्यावारिधी अध्ययन छात्रवृत्ति दिन लागेको हो । माङसेबुङ गाउँपालिका क्षेत्रभित्रका सम्बन्धित सोधकर्ताहरूलाई निवेदन पेस गर्न आह्वान गरेको हो ।
ऐनको परिच्छेद ४ दफा ७ मा विद्यावारिधी अध्ययन छात्रवृत्तिसम्बन्धी व्यवस्थामा नेपालका कुनै पनि विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेका सोधकर्ताहरूलाई विद्यावारिधी अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था उल्लेख गरेको छ ।
माङसेबुङले चालु आवमा विद्यावारिधी अध्ययनका लागि छात्रवृत्तिमा पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी कृषि उपज उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन रकम दिने भएको छ ।
माङसेबुङ गाउँपालिकाको कृषि उत्पादन प्रोत्साहनसम्बन्धी कार्यविधि २०७९ (पहिलो संशोधन २०८०) बमोजिम विभिन्न ६ प्रकारका कृषि उपजमा अनुदान प्रोत्साहन रकम बाँड्ने भएको हो ।
गतवर्षदेखि माङसेबुङले सुरु गरेको यो कार्यक्रमअन्तर्गत दूध, दाल, केरा, स्कुस, माल बाँस र कफी उत्पादन गर्ने कृषकलाई अनुदान प्रोत्साहनको सोझै अनुदान दिने भएको हो ।
गाउँपालिकाले बनाएको निश्चित मापदण्डका आधारमा कृषकले मूल्य अनुदान पाउनेछन् । गाउँपालिकाले दूध उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत दैनिक १५ लिटर वा सो भन्दा बढी दूध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ ।
त्यस्तै दाल उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत १ सय ५० केजी वा सो दाल उत्पादन गर्ने कृषकलाई प्रतिकेजी २० रुपैयाँ दिने भएको छ ।
त्यसैगरी केराखेती उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत ७० झ्याङ वा सो भन्दा बढी केरा रोप्ने कृषकलाई प्रतिझ्याङ सय रुपैयाँ दिने भएको छ ।
स्कुस उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत ३० झ्याङ वा सो भन्दा बढी स्कुस रोप्ने कृषकलाई प्रतिझ्याङ पाँच सय रुपैयाँ दिने भएको छ ।
माल बाँस उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत ३५ झ्याङ वा सो भन्दा बढी माल बाँस रोप्ने कृषकलाई प्रतिझ्याङ सय रुपैयाँ दिने भएको छ ।
कफी उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत ५० केजी वा सो भन्दा बढी बढी उत्पादन गर्ने कृषकलाई प्रतिकेजी २० रुपैयाँ दिने भएको छ ।
माङसेबुङको माथिल्लो क्षेत्रमा दूध उत्पादन र स्कुस उत्पादन बढी हुने गर्दछ । तल्लो क्षेत्रमा भने दूधसँगै दाल, केरा, बाँस उत्पादन हुने गर्दछ । मध्यम क्षेत्रमा कफी उत्पादन हुने गर्दछ ।
माङसेबुङले कृषि प्रोत्साहन कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ । पछिल्लो पुस्ताको युवाहरू वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता हटाउँदै व्यावसायिक कृषि उपज उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ माङसेबुङ गाउँपालिकाले गतवर्षदेखि सो कार्यक्रम सुरु गरेको थियो ।
इलाम
प्रतिक्रिया