हस्तकला सामान्य औजारको प्रयोग गरी हातले कलात्मक तवरले बनाइएको दैनिक प्रयोगमा आउने तथा सजावटको लागि प्रयोग गरिने वस्तु हस्तकला हो । मानव सभ्यतासँगै उनीहरुको आवश्यकतानुरुप हस्तकलाको विकास भएको हो । समयक्रमसँगै मानवमा भएको सिर्जनशीलता हस्तकलाका सामानमा देखिन थाल्यो । विस्तारै विस्तारै भौगोलिक बनोट, धर्म, संस्कृति, रीतिरिवाज, रहनसहन, लवाइखवाई अनुसार फरक देखिँदै आयो ।
हस्तकलाको औपचारिक सुरुवात १९औं शताब्दीमा युरोपबाट सुरु भएको मानिन्छ । औधोगिकिकरण सुरु हुनुभन्दा पहिले विलियम मोरिस र जोन रस्किनले हस्तकलामा सिर्जनात्मकताको प्रयोग गरेका थिए । त्यसकै प्रतिफल स्वरुप हाल विश्वमा आर्ट एण्ड क्राफ्टको अध्ययन हुँदै आएको छ । औपचारिक अध्ययन त आफ्नो ठाउँमा छँदैछ, त्यसको साथसाथै पुख्र्यौलीदेखि गरिँदै आएको हस्तकलाको पुस्तान्तरण हुनु आवश्यक देखिन्छ ।
हाम्रो जस्ता अविकसित देशमा कामदारमा आधारित उत्पादन हुनुले धेरैभन्दा धेरै मात्रामा उत्पादन गर्न सकिरहेको अवस्था छैन भने उत्पादित सामानमा पनि एकरुपता र गुणस्तरीयता पाउन सकिँदैन । यति हुँदाहुँदै पनि नेपाली हस्तकलाको माग विदेशी बजारमा तिब्ररुपमा बढेको पाउन सकिन्छ । हाम्रा हस्तकलाका सामान मानिसले हातले मात्रै बनाउनु, कच्चापदार्थको सहज पहुँच नहुनु, राजनैतिक खिचातानी, उत्पादित सामानहरु बजारसम्म ल्याउन कठिन, आत्मबल र प्रोत्साहनको कमीले गर्दा जुन तवरमा यसको विकास हुनुपर्ने हो सोहीअनुसार हुन सकिरहेको छैन ।
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हस्तकला सिर्जना भएता पनि ती कलाको मुख्यकेन्द्रसम्म आइपुग्न सकेका छैनन् । ललितकलाको केन्द्र मानिने काठमाडौं उपत्यकामा कलाको विकासको निम्ति जे जति योजना, नीति, कार्यक्रम बनाइए पनि देशका विभिन्न भागमा अझै पनि हस्तकलाले गति लिन सकेको देखिँदैन् ।
नेपाल हस्तकला महासंघका अनुसार नेपालबाट निर्यात हुने मुख्य हस्तकलाका सामग्रीहरु धातुका मूर्ति, पश्मिनाका सामान, पौभा, थाङ्का, सुनचाँदीका गरगहना, ढुंगा र काठका कला, झोला, फिलगिरीका सामान, हातले बनाएका नेपाली कागज, सजावटका विभिन्न सामान, सेरामिक्सका सामान, छालाजन्य सामान, धार्मिक सामान, ढाकाका सामान, डल, चित्र, उपहारका विभिन्न सामान, प्राकृतिक टाँक आदि सामानहरु विदेशी बजारमा जाने गरेको छ । यी हस्तकलाका सामान विश्वका करिब ८५ वटा देशमा निर्यात हुने गरेको छ । जसमध्ये विशेष गरी बेलायत, भारत, क्यानडा, जर्मनी, जापान, इटाली, फ्रान्स, अस्ट्रेलिया, नेदरल्याण्ड लगायतका देश रहेका छन् ।
माथि उल्लेखित सामानहरु अधिक काठमाडौं उपत्यकामा सिर्जना गरिएका हुन् । यदि कलाको लहर फैलाउँदै गाउँ–गाउँसम्म पु¥याउने हो भने हस्तकलाका सामान कति बन्थे होला ? कति जनाले यसैलाई रोजीरोटी बनाउँथे होला ? हाम्रो परम्परागत हस्तकलाको पनि जर्गेना हुने थियो । एकछाक खान र एकसरो लुगा लगाउनको लागि ज्यानको बाजी राखेर ४०–४५ डिग्रीको गर्मीमा सेकिनु पर्ने थिएन ।
हाम्रो अर्थतन्त्र रेमिट्यान्सले चलेको छ तर दीर्घकालीन रुपमा सोच्ने हो भने यो रेमिट्यान्स वर्षाको भेल हो, जतिबेला पनि रोकिन सक्छ । त्यसैले हस्तकलाको विकासमार्फत दीर्घकालीन आयस्रोतको खोजीमा लाग्नुपर्दछ ।
हस्तकला विकासको लागि हस्तकला नीति बनाउनु पर्ने, यसको वर्गीकरण गर्नुपर्ने, हस्तकलाका आयातित सामानमा भन्सार शुल्क बढाउनु पर्ने, विदेशी हस्तकलाका उद्योगलाई निरुत्साहित गर्नुपर्ने, आफ्नै देशमा उत्पादित (हस्तकलाका सामग्रीहरु, लत्ताकपडा, लोक्ता पेपरबाट बनाउन सकिने सामानहरु आदि) को प्रयोग गर्नुपर्ने, राजधानीभन्दा बाहिर पनि हस्तकला सीप विकासका कार्यक्रमहरु आयोजना गर्नुपर्ने, हस्तकलाकर्मीको सम्मान गर्नुपर्ने लगायतका काम गर्नुपर्दछ ।
पछिल्ला दशकमा चीनबाट हुने आयातले नेपाली अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । यसको असर नेपाली हस्तकलामा पनि परेको छ । चीनबाट आयात हुने सामानहरु नेपाली सामानभन्दा निकै कम पर्ने भएकाले नेपालीबजारमा नेपाली सामानभन्दा चिनियाँ सामानको माग बढी भएको छ । उनीहरुले सामान मेसिनले तयार गर्ने र बजारको आवश्यकतालाई सहजै बुझ्न सक्ने भएकाले नेपालीबजारमा चीनको दवदवा छ ।
यसैलाई मध्येनजर गरी आयातित समानमा भन्सार वृद्धि र स्वदेशी उत्पादकलाई अनुदान दिएर नेपाली हस्तकलालाई माथि उठाउनु पर्दछ । कम लागतमा गुणस्तरीय सामान उत्पादन गरी बिक्री वितरण गर्न सक्ने हो भने विदेशी सामानको आयात रोकिने अवस्था आउँछ । यस्तै, सरकारी कार्यालय तथा राज्यका निकायमा नेपाली उत्पादनको प्रयोग गर्न सक्ने हो भने पनि हस्तकलाको सदुपयोग हुन गई हस्तकलाकर्मीमा उत्साह बढ्ने थियो । यसले रोजगार बढ्ने, आम्दानी बढ्ने त हुन्छ नै मौलिकता संरक्षण र अर्थतन्त्रमा समेत विशिष्ट योगदान पुग्न जान्छ ।
नेपालबाट वर्षेनी २ अर्बभन्दा बढीको फेल्टका सामानहरु विदेशीबजारमा निर्यात हुँदै आएको व्यवसायी बताउँछन् । नेपाल फेल्ट उत्पादक तथा निर्यातक संघका अनुसार काठमाडौं उपत्यका र पोखरामा मात्रै सीमित यी फेल्टका सामान देशका विभिन्न जिल्लाबाट उत्पादन गर्न सक्ने हो भने यसकै निर्यातबाट पनि राम्रो आम्दानी गर्न सकिने सकिन्छ । फेल्टबाट विभिन्न सामान (गलैँचा, चकटी, फूल, डल, सजावटका सामान आदि) बनाउन सकिने भएकाले यसलाई बृहत् रुपमा प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी नेपालमा क्रिस्टल हस्तकलाको सम्भावना अत्यधिक भएता पनि त्यसको उचित प्रयोग गर्न नसक्दा नेपाली कच्चा क्रिस्टल विदेशमा सस्तो मुल्यमा बिक्री हुने र विदेशी राष्ट्रले तिनै क्रिस्टललाई फाइनल गुडस् बनाएर हामीलाई नै महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।
यदि नेपालमा नै यसको तालिम दिने र यसैसम्बन्धी उद्योग विकास गर्न सक्ने हो भने क्रिस्टलका सामानमा आत्मनिर्भर बन्नुका साथै वर्षेनी नेपाली रुपैयाँ बाहिर जानबाट जोगिन्छ । कलाकार तथा प्राज्ञ धर्मराज शाक्यले हस्तकला क्षेत्रको विकासका लागि ठोस नीति बनाइ अगाडि बढ्नुपर्ने धारणा राख्छन् । उनले नेपाली हस्तकलालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएर यसको वर्चस्व बढाई नेपालले आम्दानी गर्नुपर्छ भन्ने विचार व्यक्त गर्दछन् ।
पुस्तान्तरण नहुने सानो उदाहरण लिउँः एउटा बुबा वा आमाले आफ्नो जीवनभर हस्तकला सिर्जना गरेरै जीवन चलाएको हुन्छ तर उसलाई कसैले चिन्दैन, कसैले बुझ्दैन भन्ने कुरा उसको सन्तानलाई थाहा हुँदाहुँदै हस्तकला विधा अँगाल्दैन । त्यसैले हाम्रो हस्तकला पुस्तान्तरणको लागि पनि हस्तकलाकार र हस्तकलाको सम्मान हुनुपर्छ । अन्त्यमा, हस्तकला नीति बनाई त्यसको सही कार्यान्वयन गर्न सकेको खण्डमा हस्तकलासँगै देशको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक विकास सम्भव हुनेछ ।
प्रतिक्रिया