सन्दीपविरुद्धको मुद्दामा दुवै पक्षसँग बहस नोट पेस गर्न आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दामा अदालतले दुवै पक्षसँग लिखित बहस नोट पेस गर्न आदेश दिएको छ ।

बिहीबारको काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो ।

इजलासको लिखित आदेश आउन बाँकी रहेकाले कति समयभित्रमा बहस नोट बुझाउनुपर्ने भन्ने स्पष्ट भइनसकेको सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले बताए । दुवै पक्षले बहस नोट बुझाइसकेपछि अब अर्को पेसीमा मात्रै फैसलाको लागि बहस सुरु हुने सम्भावना छ ।

सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । उनले आफू नाबालिग रहेको दाबी गरे पनि उनको उमेरमा विवाद छ ।

जिल्ला अदालत काठमाडौंले प्रारम्भिक सुनुवाइका क्रममा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर उक्त आदेश उच्च अदालत पाटनले बदर गर्दै सन्दीपलाई २० लाख नगद धरौटीमा छाड्न आदेश दिएसँगै तीन महिना जेल बसेर सन्दीप छुटेका थिए ।

प्रतिक्रिया