एकीकृत समाजवादीले भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा साेमबार बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम संकलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, जनप्रतिनिधि एवं राजनीतिक नियुक्ति भएका व्यक्तिबाट १५ दिन बराबरको पारिश्रमिक पार्टीको राहत उपचार कोषमा जम्मा गर्नुपर्ने छ ।

भूकम्म प्रभावित क्षेत्रको राहत र उद्धार कार्य व्यवस्थापन, आवश्यक सहयोग तथा अनुगमन गर्नका लागि पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहने गरी एक कार्यदल गठन गरेको छ ।

कार्यदलमा सांसद अमरबहादुर थापा, नन्दा चपाँई र धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्कालगायत रुकुमपश्चिम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षसहितको टोली रहने प्रवक्ता खतिवडाले जानकारी दिए ।

पार्टी महाधिवेशन आगामी माघमा गर्ने टुंगोमा पुगेको प्रवक्ता खतिवडाले बताए । उनले यसको तयारीबारे छलफल नभए पनि अधिवेशन काठमाडौँमा गर्ने निर्णय भएको बताए ।

पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको १५ जनाको टोली मंगलबार चीन भ्रमणमा जाने जनाउँदै प्रवक्ता खतिवडाले उक्त भ्रमणले दुई देशको कम्युनिष्ट पार्टीबीच घनिष्ठ सम्बन्ध विकास गर्ने विश्वास व्यक्त गरेयो ।

आजको बैठकमा मेचीदेखि महाकाली हुँदै सुर्खेतसम्म १५ दिने ‘समाजवादी जागरण यात्रा’बारे समीक्षा भएको छ । रोजगारी, सुशासन र समृद्धिका लागि राजनीतिक दलकोतर्फबाट पहिलो पटक एक हजार दुई सय किलोमिटर लामो यात्रा सफलतापूर्वक सम्पन्न गरेको बैठकले निष्कर्ष निकालेको छ ।

असोज १४ देखि २८ सम्म चलेको अभियानमा १२सय किलो मिटरको यात्रा तय गरी ठूला साना ५५ बढि सभा सम्पन्न गरेको छ । नेपालको संविधानले नेपाललाई समाजवाद उन्मुख ब्यबस्था भनेपनि समाजवादको जागरण गर्ने नेकपा (एकीकृत समाजवादी) मुलुककै पहिलो पार्टी बनेको बैठकले निष्कर्ष निकालेको छ ।

बैठकले अभियानको समीक्षा गर्दै अभियानकै क्रममा अन्य पार्टी परित्याग गरी १० हजार बढि कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको , ३ लाज जनता सँग प्रत्यक्ष भेटघाट गरी स्थानीय समस्याहरूको विषयमा छलफल गरेको र पार्टीको विचार र दृष्टिकोण जनतको बीचमा पुर्याएको र पार्टी पक्तिलाई उत्साही बनाएको बैठकको निष्कर्ष छ ।

बैठकले अभियान सफल बनाउन सहयोग गर्ने नेताकार्यर्ता, स्वयंसेवक, जनसांस्कृतिक महासंघका कलाकर्मी, सञ्चारगृह, सञ्चारकर्मीहरु तथा आमजनसमुदाय लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको गरेको छ ।

बैठकले चिनिँया कम्यनिष्ट पार्टीको निमन्त्रणामा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मंगलबार देखि हुन लागेको १५ सदस्यीय टोलीको भ्रमणको सफलताको कामना गरेको छ । कार्तिक २१ देखि हुन लागेको भ्रमण दुई पार्टी बीचको सम्बन्ध सुधार गर्न फलदायी हुने बैठकले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया