भूकम्प अपडेट : मृत्यु भएका १५७ जनामध्ये ७८ बालकालिका, पुरुषभन्दा महिला धेरै

भेरीगंगा । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा संख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५७ जनामध्ये ७८ बालबालिका रहेका छन् ।

जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका १०५ जनामध्ये बालक २७ र बालिका २३ जना रहेको प्रहरी नायव उपरीक्षक रोकाले बताए ।

रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकोमा २८ बालबालिकाले रहेको जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए । उनले भने, ‘रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन्, दुई जना १० महिनाका बालबालिकाले समेत ज्यान गुमाएका छन् ।’

मृत्यु हुनेमा महिला धेरै

भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका १०५ जनामध्ये ५०, ३३ जना महिला र १८ जना पुरुषको मृत्यु भएको जाजरकोटका प्रनाउ रोकाले जानकारी दिए ।

रुकुम पश्चिममा १६ महिला र आठ जना पुरुषको मृत्यु भएको छ । बेला–बेलामा हुने यस्ता विपदमा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँगै अपांगता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।

प्रतिक्रिया