रिगललाई पुनः तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः तत्काल पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार आदेश गरेको हो । साथै इजलासले रिगललाई पुनः पक्राउ गरी कारागार चलान गर्न पनि आदेश दिएको छ ।

सर्वोच्चका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‍को सिफारिसमा गरेको कैद मिनाहलाई कानुन विपरित भएको ठहर गर्दै बदर गरिदिएको हो ।

रिगलले २०७२ असार २८ गते नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत् तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए ।

घटनामा संलग्न छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रितम थापालाई ३र३ वर्ष कैद सजाय भएको थियो ।

खुँडाले मान्छे काट्नेजस्तो जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाह गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै रिगलकी पत्नी भारतीले कसुरदारलाई पुनः कैद गरिपाऊँ भनी रिट दायर गरेकी थिइन् ।

त्यसमाथि सर्वोच्चका न्यायाधीश मनोज शर्माको इजलासले असोज १९ मा प्रारम्भिक सुनुवाइ गर्दै असोज २५ देखि पूर्ण इजलास गठन गरी निरन्तर सुनुवाइ गरेर मुद्दाको शीघ्र टुंगो लगाउनू भनी आदेश गरेको थियो ।

त्यसअनुसार असोज २५ गते प्रधान न्यायाधीश श्रेष्ठसहितको इजलासमा मुद्दाको पेसी चढेर त्यसमाथि प्रारम्भिक बहस पनि भएको थियो । सरकारले कारागार नियमावली २०२० को दफा २९ को १ र १ (क) बमोजिम रिगललाई कैद मुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया