बारा । गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको मंगलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
यसअघि एन प्याब्सनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सर्राफमा श्रद्धाञ्जली अर्पण गरेका थिए । मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन् । उनलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो संख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका– ६ स्थित उनको निवासमा पुगेको थिए ।
कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह, नेकपा (माओवादी केन्द्र) का युवा नेता मुकेश साह, नेपाली कांग्रेसका युवा नेता लुकेश सिंहलगायत विभिन्न राजनितिक दलका नेता, नागरिक अगुवा, निजी तथा सामुदायिक बिद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए । उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत विभिन्न संघ–संगठनहरुले घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् ।
यस्तै बारा उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको बिरोधमा बजार बन्द गर्न आह्वान गरेको छ। संघका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मंगलबार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा ब्यापारीहरुसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ ।
एन प्याब्सनले पनि सोमबार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घन्टाभित्र बास्तविक अपराधी समात्न नसके चरणवद्ध आन्दोलन गर्ने जनाएको छ ।
कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले तीन वटा गोली प्रहार हत्या गरेकाले जिल्लाबासीमा त्रासको वतावरण छाएको छ ।
कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाईकलमा आएका चार जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुश काफ्लेले जानकारी दिए । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ ।
गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि विरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए ।
प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरीसमक्ष बयान दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए ।
घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । सो घटनामा अन्य थप दुई जनाको पनि संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । अहिले दश जनालाई नियन्त्रणमा लिएर घटनाबारे सुक्षमरुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया