इलाम । ६८औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय इलामले उत्कृष्ट प्रहरी र विद्यार्थीलाई पुरस्कृत गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा १३ जना प्रहरी र ३ जना विद्यार्थीलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरूमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक बिष्णुबहादुर खड्का, प्रहरी वरिष्ठ नायव निरीक्षक भोजकुमार रंजितकार, प्रहरी नायव निरीक्षक तारा कटुवाल र चन्द्र लिम्बू, प्रहरी सहायक निरीक्षक मन्जु चौधरी र जोशन तामाङ रहेका छन् ।
त्यसैगरी प्रहरी वरिष्ट हवल्दार विजय राई, प्रहरी हवल्दार पुष्प भट्टराई, रिद्धि खनाल, गोपाल राई, प्रहरी सहायक हवल्दार सन्जय माबोहाङ लिम्बू, राजेश श्रेष्ठ र प्रहरी जवान यमुना पोखरेल पुरस्कृत भएका छन् । त्यस्तै प्रहरी दिवसकै अवसरमा ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयक निबन्ध प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका तीन विद्यार्थीलाई सम्मानपत्रसिहत पुरस्कृत गरेको छ ।
निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरेका नन्द माध्यमिक विद्यालयकी मनिषा पाख्रिन, द्वितीय स्थान हासिल गरेकी जोति सदन बोर्डिङ स्कुलकी कृपा चाम्लिङ राई र तृतीय स्थान हासिल गरेकी आदर्श माध्यमिक विद्यालयकी प्रज्ञा न्यौपानेलाई पुरस्कृत गरेको हो । प्रतियोगितामा इलामका विभिन्न विद्यालयहरूबाट १२ जना विद्यार्थीहरूको सहभागिता थियो ।
त्यस्तै अमर प्रहरी कर्मचारीहरूको परिवारलाई पनि सम्मान गरिएको छ । उनीहरूलाई निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइराला र जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाले सम्मान गरेका थिए ।
कार्यक्रममा कर्तब्य पालनाको शिलशिलामा वीरगति प्राप्त अमर प्रहरी कर्मचारीहरूको सम्मानमा शोक सलामी दिई वीरगति प्राप्त अमर प्रहरी स्मारकमा रेथ अर्पण तथा माल्यार्पणसमेत गरिएको थियो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाका प्रमुखहरू, पूर्वप्रहरीहरू, अमर प्रहरी परिवारजन, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।२०१२ असोज ३१ गते प्रहरी ऐन, २०१२ ले प्रहरी संगठनलाई वैधानिकता प्रदान गरेको दिनलाई प्रहरीले प्रहरी दिवसको रूपमा मनाउने गरेको छ ।
इलाम
प्रतिक्रिया