कास्की । पर्वत जिल्ला निवासी समीर नेपाली मंगलबार दिउँसो मलिन आँखा पार्र्दै पोखरा पृथ्वीचोकस्थित पुरानो बसपार्कमा खटिएका ट्राफिक प्रदीप कुँवरसामु पुगे । उनले मलिन स्वरमा भने, ‘सर मेलै बोकेको झोला चढेर आएको बसभित्रै छुटेछ, तनहुँको कोत्रेमा बस पुगिसक्यो होला कसरी ल्याउन सकिन्छ ? ।’
कुश्मा–काठमाडौं यात्रुबाहक बसमा यात्रा गरेर पोखरा आएका नेपालीले ट्राफिकसँग भन्दै थिए, ‘बसबाट झर्ने क्रममा साथमा ल्याएको झोला बसभित्र छुट्यो, झरेको केही मिनेटमै सम्झना भयो मेरो झोला बसभित्र नै छुटेछ, तर त्यो समयमा बसले केही किलोमिटर पार गरिसकेको थियो । बसको पहिचान गरी छुटेको झोलाको सूचना उक्त बसका चालकको कानसम्म पुग्दा बस पोखराबाट २० किलोमिटर अगाडि बढ्दै पृथ्वीराजमार्गअन्तर्गत तनहुँको केत्रेमा पुगिसकेको थियो ।
ट्राफिक प्रहरी कुँवरले नेपालीको झोला सुरक्षित राखिदिन चालकलाई आग्रह गर्दै उनलाई अर्को बसमा चढाएर केत्रेतर्फ पठाए । चाडपर्वलाई लक्ष्य गर्दै कास्की प्रहरीले पोखराको पुरानो बसपार्क, लेखनाथको तालचोक, पोखराको छेरेपाटन र पोखरा–२ स्थित बागलुङ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएर लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुका समस्या समाधान गर्न सुरु गरेको हो । चाडपर्वका बेला घर आउने र जाने यात्रुका समस्या समाधान गर्न यही असोज २७ देखि मंसिर ३ सम्म सञ्चालनमा ल्याइएको यात्रु सहायता कक्षमा तीन दिनभित्र बसका यात्रुले नौ वटा समस्या लिएर आएको जानकारी कास्की जिल्ला ट्राफिक कार्यालयका सूचना अधिकारी शिव पाठकले दिए ।
‘चाडपर्वका बेला पोखराका तीन नाकामा चार यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको र ती सबै कक्षमा दुई–दुई जनाका दरले प्रहरी खटाएका छौँ’, उनले भने, ‘कक्ष सञ्चालन गरेको तीन दिनभित्र यात्रुका नौ वटा गुनासामध्ये बढी बसभित्र सामान छुटेका छन् ।’
दसैँ जति नजिकिँदै गर्छ त्यति नै यात्रुका गुनासा बढ्दै जाने बताउँदै सूचना अधिकारी पाठकले गतवर्ष पनि चाडपर्वका समयमा यात्रु सहायता कक्षमा तीन सय गुनासा आएको जानकारी दिए । दसैँमा घर फर्कदा यात्रुले धेरै मात्रामा सामान बोक्ने भएकाले धेरै उजुरी बसभित्र सामान छुट्ने, तोकिएकोभन्दा बढी भाडा लिएको, गन्तव्य थाहा नहुँदा यात्रुलाई बीच बाटोमा झारेर अलपत्र पार्ने गरेको, बसका कर्मचारीले यात्रुप्रतिको गर्ने व्यवहार नरम नभएको, सिटसंख्याभन्दा बढी यात्रु राखेर यात्रा असहज बनाएको, चालकले बस लापरबाही रूपमा हाँकेको जस्ता समस्या बढी आउने गरेको उनको भनाइ थियो ।
बसमा चढ्ने यात्रुले आफू चढेको बस नम्बर राख्नुपर्ने वा टिकट काटेर मात्र यात्रा गरिदिएमा ट्राफिक प्रहरीलाई सामान छुटे पनि बस पहिचान गर्न छिटो र सजिलो हुने भएकाले त्यसतर्फ ध्यान दिनसमेत यात्रुलाई प्रहरीले आग्रह गरेको छ । मादकपदार्थ सेवन गरी सवारीसाधन नचलाउन चालकहरूलाई पटकपटक तालिम दिनका साथै आग्रहसमेत गर्दै आएका छौँ, यदि कुनै चालकले यात्राको समयमा मादक पदार्थ सेवन गरेको भेटिएमा ट्राफिकलाई खबर गर्नसमेत आग्रह गरिएको छ । यात्रुलाई कुनै समस्या परेमा ट्राफिकको टोल फ्रि नं १०३ मा खबर गर्नसमेत आग्रह गरिएको छ ।
प्रतिक्रिया