काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गर्न लागेको नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करणमा स्टार्टअप कम्पनीमा लगानीका लागि ११ वटा कम्पनीसँग लगानी गर्ने समझदारी गरेका छन् । आगामी डिसेम्बर २३ मा स्टार्टअफ फेस्ट आयोजना गरिदैं छ । मञ्चले सन् २०२२ मा स्टार्टअप फेस्टको पहिलो संस्करण सम्पन्न गरेको थियो । मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टमा सहभागिताका लागि आवेदन पनि खुला गरेको छ । स्टार्टअप कम्पनीमा लगानीका लागि सहमभ भएका कम्पनीहरुमा एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्वीटी, टीम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआइबीएल एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग मञ्चले लगानीका लागि समझदारी गरेको हो । यी कम्पनीसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रुपैयाँ रहेको जनाइएको छ ।
सोही कार्यक्रममा परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, टिम भेन्चर्ससँगको अगुवाइमा स्थापना गरिएको ग्रोथ एक्स एभरेष्टको पहिलो ब्याचका स्टार्टअप कम्पनीलाई दिक्षित पनि गरिएको छ । ग्रोथएक्स एभरेष्टको पहिलो ब्याजका रुपमा छानिएका ८ वटा स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम प्रदान गरिएको थियो ।
बिहे नेपाल, डक्टर्स अन कल, फोकसवान, कारखाना, भेदा, डेलिस डेरिज्, सेभेन मल्टी टे«डिङ र वाइजयाक स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम दिइएको थियो । तालिम प्राप्त गरेकामध्ये ६ वटा स्टार्टअप कम्पनीले ११ वटा लगानी कम्पनीसमक्ष आफ्नो नविन सोंचका बारेमा प्रस्तुतीकरण गरेका थिए । ११ वटा कम्पनीले ती स्टार्टअपमा गर्ने लगानीको विषयमा छिट्टौ घोषणा गर्ने जनाएका छन् । सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव डा. तोय नारायण ज्ञवाली, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव जीवलाल भुसाल सहभागी भई स्टार्टअपलाई हौसला प्रदान गरेको पनि परिसंघले जनाएको छ ।
स्टार्टअप फेस्ट २०२३ घोषणा गर्न आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको स्टार्टअप इकोसिस्टम राम्रो सुरुवात भएको बताए । स्टार्टअपहरूले आर्थिक र सामाजिक रूपान्तरणको महत्वपूर्ण शक्ति बन्ने सम्भावना राखेको भन्दै परिसंघ, युवा उद्यमी मञ्च स्टार्टअपहरुका चुनौतीको सामना गर्न पूर्ण रुपमा सघाउन तयार रहेको उनले बताए ।
मञ्चका अध्यक्ष अनुराग गोयलले पहिलो संस्करणको अपार सफलतासँगै दोस्रो संस्करण घोषणा गरिएको बताए । युवाहरुबाट युवाहरु तथा देशमा स्टार्टअपहरुलाई प्रोत्साहन गर्न आफूहरुले जनाएको प्रतिबद्धता अनुरुप फेस्ट आयोजना गर्न लागेको उनको भनाइ छ ।
प्रतिक्रिया